News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघले आईसीसीको पूर्ण सदस्यता प्राप्त गर्न र टेस्ट क्रिकेट खेल्ने लक्ष्य राखेको छ।
- संगठनले घरेलु प्रतियोगिता र विकास कार्यक्रममार्फत टेस्ट स्टेटस प्राप्त गर्न प्रयास गरिरहेको छ।
- नेपालले सिंगापुरमा हुने आईसीसीको वार्षिक साधारणसभामा आफ्नो योजनाहरू राख्ने तयारी गरेको छ।
४ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भविष्यमा टेस्ट क्रिकेट खेल्ने लक्ष्यसहितको योजनालाई सार्वजनिक गर्दै आइसीसीको पूर्ण सदस्यता प्राप्त गर्नका लागि ‘एभरेष्ट चढ्ने’ संकल्प व्यक्त गरेको छ। संघले एक दिन लर्ड्स मैदानमा इङ्ल्यान्डसँग टेस्ट खेल्न पाउने सपना बोकेको बताएको छ।
हाल नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को एसोसिएट सदस्य रहेको छ र टेस्ट क्रिकेट हालसम्म मात्र १२ वटा पूर्ण सदस्य राष्ट्रले खेल्न पाउने विशेषाधिकार प्राप्त फर्म्याट हो। सन् २०१७ मा आयरल्याण्ड र अफगानिस्तानलाई पूर्ण सदस्यता दिइएपछि कसैलाई पनि टेस्ट मान्यता दिइएको छैन।
क्यानका सचिव तथा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले बीबीसी स्पोर्टसँग कुरा गर्दै नेपालमा लामो फर्म्याटको अन्तर्राष्ट्रिय क्रिकेटप्रति गहिरो रुचि रहेको बताएका छन्।
‘जो कोहीले नेपाललाई चिन्छ, ऊ एभरेष्ट चढ्न जान्दछ। टेस्ट क्रिकेट हाम्रो सपना हो, तर त्यसमा पुग्न समय लाग्छ’ खड्काले भने, ‘तर यो सपना हाम्रो आँगनमै भएकाले हामी चाहन्छौं कि हरेक बाधा पार गर्दै एक दिन टेस्ट खेल्न योग्य बन्न सकौं। त्यो दिन टेस्ट स्टाटस प्राप्त गर्ने र पूर्ण सदस्य राष्ट्र बन्ने दिन हुनेछ।’
करिब ३ करोड जनसंख्या रहेको नेपाल अनि राजधानी काठमाडौंमा हुने खेलहरूमा देखिने विशाल र भावुक समर्थकहरूको उपस्थितिले क्रिकेटप्रतिको क्रेज प्रस्ट हुन्छ।
नेपाल सन् १९८८ मा आईसीसीमा प्रवेश गरेको हो भने १९९९ मा एसोसिएट सदस्यता प्राप्त गरेको हो। तर पूर्ण सदस्य बन्नका लागि आईसीसीद्वारा निर्धारण गरिएका विभिन्न मापदण्डहरू—शासन प्रणाली, खेल प्रदर्शन, सहभागिता, घरेलु ढाँचा, पूर्वाधार र विकास कार्यक्रम—पूरा गर्नुपर्ने हुन्छ।
यस सन्दर्भमा क्यानले गत वर्ष नेपाली प्रिमियर लिग (एनपीएल) नामक फ्रेन्चाइज टी–२० लिग सुरु गरेको थियो। साथै टेस्ट तयारीस्वरूप बहु-दिने घरेलु रेड बल प्रतियोगिता समेत सुरु गरिएको छ।
महिलाहरूका लागि पनि क्यानले केन्द्रीय सम्झौता दिँदै क्रिकेटमा लगानी बढाएको छ भने सरकारले केही रंगशाला निर्माण तथा स्तरोन्नतिका लागि बजेटसमेत प्रदान गरेको छ।
नेपालले जुलाई १७ देखि २० सम्म सिंगापुरमा हुने आईसीसीको वार्षिक साधारणसभामा अनौपचारिक रूपमा आफ्नो कुराहरू राख्ने तयारी पनि गरिरहेको छ।
‘कार्डियाक किड्स’ जो अन्तिम क्षणसम्म लड्छन्
नेपालले गत वर्ष टी–२० विश्वकपको खेलमा दक्षिण अफ्रिकाविरुद्ध लगभग जित नजिक पुगेको थियो, जसपछि अफ्रिकाले फाइनलसम्मको यात्रा तय गरेको थियो।
नयाँ प्रशिक्षक स्टुवार्ट लको नेतृत्वमा रहेको नेपाली टोलीले अहिले २०२६ को टी–२० विश्वकप र २०२७ को ५० ओभर विश्वकपको लागि छनोट अभियान चलाइरहेको छ। हाल नेपाल स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० शृंखलामा स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ।
यही टोलीले हालै डन्डीमा सम्पन्न क्रिकेट विश्वकप लिग २ का नाटकीय खेलहरूमा देखाएको प्रदर्शनले ‘कार्डियाक किड्स’ को नामलाई थप पुष्टि गर्यो। अन्तिम बलसम्मको लडाइँ र अप्रत्याशित जितहरू नेपाली क्रिकेटको चिनारी बन्दै गएका छन्।
स्कटल्याण्डविरुद्ध अन्तिम बलमा आएको जित र त्यसपछि नेपाली समर्थकहरूले गरेको मैदान प्रवेश—उत्साह र गर्वको प्रतीक थियो।
कप्तान रोहित पौडेलले बीबीसीसँग भने, ‘मलाई लाग्छ, पछिल्ला १० वर्षमा हामीले खेल्दै आएको शैली नै यस्तो छ। लगभग हरेक खेल अन्तिम ओभरसम्म जान्छ। त्यसैले ‘कार्डियाक किड्स’ भनिएको हो। हामी जहिले पनि अन्तिम क्षणसम्म लड्ने गर्छौं, चाहे सम्भावना अलिक कम नै किन नहोस्।’
रोहितले थपे, ‘हामीले सन् २०१६ मा लर्ड्समा एमसीसीविरुद्ध खेल खेलेका थियौं र त्यो खेल जितेका थियौं। यदि एक दिन त्यही मैदानमा इङ्ल्यान्डसँग टेस्ट खेल्न पाइयो भने, त्यो हाम्रो लागि मात्र होइन, सिंगो देशका लागि गौरवको क्षण हुनेछ।’
-बीबीसीबाट भावानुवाद
प्रतिक्रिया 4