
News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाबाट दुई पटक चोरी प्रयास भएको रेडपाण्डाको मृत्यु भएको छ ।
- प्रहरीले एकजना भारतीय नागरिक र एक नेपाली नागरिकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
- ‘यस्तो घटना होला भन्ने कसैले चिताएकै थिएन,’ चिडियाखानाका प्रमुख सत्यनारायण शाहले भने, ‘गिरोहले चिडियाखानामै यस्तो घटना गराउन भन्ने कसरी सोचिन्छ ?’
४ असार, काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाबाट दुई पटक चोरी गर्ने प्रयास भएको दुर्लभ वन्यजन्तु रेडपाण्डाको मृत्यु भएको छ ।
शनिबार चिडियाखानाभित्रै रेडपाण्डाको मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरका एक अधिकृतले बताए । ‘चिडियाखानाभित्र रहेको अस्पतालमै मृत्यु भएको छ, पोष्टमार्टमको रिपोर्ट आइसकेको छैन भन्ने सुनेका छौं’, ती अधिकृतले भने, ‘हाम्रो अनुसन्धान पनि चलिरहेको छ ।’
चिडियाखानाका प्रमुख सत्यनारायण शाहले चोरी प्रयासयता विरामी रहेको रेडपाण्डाको उपचारका क्रममा मृत्यु भएको बताए । ‘चोरीको प्रयास भएपछि एकदमै त्रसित थियो, पछिल्लो पटक किड्नी सम्बन्धी समस्या पनि देखिएको डाक्टरहरुले बताएका थिए’, उनले अनलाइनखबरसँग भने, ‘करिब एक हप्ताजति खाना नियमित थिएन ।’
राष्ट्रिय प्रकृति संरक्षण कोषले पनि चिडियाखानाबाट रेडपाण्डा चोरीको प्रयासबारे आन्तरिक छानबिन गरिरहेको थियो । स्रोतका अनुसार, कर्मचारीको लापरबाहीका कारण दोस्रो पटक समेत चोरी प्रयास भएको प्रारम्भिक बुझाइसहित छानबिन समिति गठन भएको थियो ।
कोषका प्रशासन विभाग प्रमुख हरिविक्रम सिंहको नेतृत्वमा रहेको तीन सदस्यीय समितिले चिडियाखानाका कर्मचारीहरुबारे छानबिन गरिरहेका बेला रेडपाण्डाको मृत्यु भएको हो । समितिमा कोषका प्रवक्ता अम्बिकाप्रसाद खतिवडा र प्रशासनकै सिद्धराज तिम्सिना सदस्य छन् ।
समितिले प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी गरिरहेका बेला रेडपाण्डाको मृत्युको खबर थाहा भएको कोषका अधिकारीहरु बताउँछन् ।
चिडियाखानाका प्रमुख शाह भने चिडियाखानाबाट संरक्षित वन्यजन्तु चोरी होला भन्ने सोच्दै नसोचिएको जिकिर गर्छन् । ‘यस्तो घटना होला भन्ने कसैले चिताएकै थिएन,’ उनले थपे, ‘गिरोहले चिडियाखानामै यस्तो घटना गराउन भन्ने कसरी सोचिन्छ ?’
आफू एक कार्यक्रमको सिलसिलामा चीनमा रहेका बेला चोरी प्रयास भएको शाह बताउँछन् ।
उद्धार गरेर ल्याइएको थियो रेडपाण्डा
यो रेडपाण्डालाई राष्ट्रिय प्रकृति संरक्षण कोषले २०७२ सालमा रोल्पाबाट उद्धार गरेर ल्याएको थियो ।
अधिकारीहरुका अनुसार, स्थानीयले अवैध रुपमा घरमा पालेको भन्ने सूचना पाएपछि जिल्ला वन कार्यालय, रोल्पाले नियन्त्रणमा लिएको थियो । कोषसम्म यसको खबर पुगेपछि ललितपुरस्थित चिडियाखानामा ल्याइएको थियो ।
ललितपुर प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामकृष्ण अधिकारीका अनुसार, चिडियाखानामा राखिएको यो रेडपाण्डा ३० वैशाखमा चोरी गर्ने प्रयास भएको थियो ।
राति १०:०६ बजेतिर चोरी प्रयास भएको खबर नजिकै रहेको जिल्ला प्रहरी परिसर, ललितपुरमा पुगेपछि अनुसन्धान अधिकारीहरु चिडियाखाना गएका थिए । ‘सूचना आएलगत्तै राति नै सिन अफ क्राइम (सोको) अफिसरसहितको टोली घटनास्थलमा पुगेको थियो’, अधिकारी भन्छन्, ‘त्यसपछि प्राविधिक र मानवीय दुवै पक्षको विश्लेषण गरेर अनुसन्धान अघि बढाइएको थियो ।’

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, चिडियाखानाबाट क्लोज सर्किट (सीसी) टिभी फुटेज पछ्याउँदै जाँदा प्रहरी स्वयम्भुमा रहेको एक चराचुरुङ्गी पसलसम्म पुगेको थियो ।
स्वयम्भुबाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिक २६ वर्षीय मोहमद तफिक र धादिङका २१ वर्षीय कृष्ण गुरुङलाई पक्राउ गरेको थियो । त्यहाँ प्रहरीले रेडपाण्डाको भुत्लासहितको झोला र चिडियाखानामा चोरी गर्दा प्रयोग भएको जुत्ता समेत बरामद भएको थियो ।
अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार, रेडपाण्डाको ग्राहक भेटेपछि तफिकले चिडियाखानाबाट चोरी गर्ने योजना बनाएको भेटिएको छ । ‘घुम्ने बहानामा पटकपटक चिडियाखानामा पसेर रेकी गरेपछि चोरी प्रयास भएको रहेछ’, ती अधिकृतले भने, ‘तर, पहिलो पटक चोरी प्रयास हुँदा त्यो सूचना प्रहरीसम्म आउँदै आएन ।’
प्रहरीका अनुसार, दोस्रो पटक प्रयास गर्नुभन्दा चार/पाँच दिनअघि उनीहरु रेड पाण्डालाई झोलामा हालेर भाग्न खोजेका थिए । तर, उफ्रिएर रेडपाण्डा रुखमाथि चढेपछि उनीहरु फर्किएका थिए ।
प्रहरीका अनुसार, उनीहरुले रेडपाण्डा भएको ठाउँमा सीसी टीभी समेत काम नगर्ने भन्ने थाहा पाएर चोरी प्रयास गरेका थिए ।
‘दोस्रो पटक आउँदा भित्र प्रवेश गर्न सकिने र बाहिर जान सकिने स्थानबारे राम्रो अध्ययन गरेर उनीहरु आएका थिए’, ती अधिकृतले थपे, ‘त्यसक्रममा टिकट काटेर चिडियाखानामा पसेर उनीहरु भित्रै क्यान्टिनतर्फ लुकेर बसेका थिए ।’

राति सुरक्षागार्ड नभएका बेला उनीहरु चोरी गर्ने उद्देश्यले रेडपाण्डा राखिएको ठाउँतिर गएका थिए । यसपटक उनीहरुले झोलामा हालिसकेको अवस्थामा रेडपाण्डा कराएपछि हिल्लीखल्ली मच्चिएको थियो । आवाज सुनेपछि सुरक्षामा खटिएका कर्मचारीहरु समेत त्यहाँ पुगेका थिए ।
‘जतिबेला कर्मचारी पुगे त्यसबेला रेडपाण्डा उसलाई राखिएको कम्पाउण्डभित्र थिएन, बाहिर निगालो घारीमा भेटिएपछि अनुसन्धान गरिदिन भन्दै खबर आएको थियो’, एसएसपी अधिकारीले भने, ‘त्यसपछि हामीले अनुसन्धान थालेका थियौं ।’
ग्राहक फरार
प्रकृति संरक्षण कोषका अनुसार, नेपालको मध्यपहाडी र पूर्वी हिमाली क्षेत्रमा सीमित संख्यामा रेडपाण्डा पाइन्छ । हालसम्मको अध्ययन अनुसार, नेपालमा करिब ५ सय रेडपाण्डा रहेको भनिन्छ ।
लजालु स्वभावको रेडपाण्डा विशेष गरी घना जंगल र बाँसको झ्याङ्गमा पाइने गर्छ । जानकारहरुका अनुसार, बासस्थान विनाश र अवैध तस्करीका कारण विश्वमै रेडपाण्डा संकटको स्थितिमा छ । यसलाई वन्यजन्तु तस्करीमा संलग्नहरुले अवैध रुपमा किनबेच गरेर घरमा पाल्तु जनावरका रुपमा समेत राख्ने गर्छन् ।
प्रहरीका अनुसार, चिडियाखानाबाट चोरी गर्न लागिएको रेडपाण्डा समेत ५ लाख भारतीय रुपैयाँमा बिक्री गर्ने तयारी गरिएको भेटिएको छ । खरिद गर्न खोज्ने व्यक्तिको पहिचान भइसके पनि पक्राउ परेका छैनन् । ‘यसमा संलग्न अरुको खोजी भइरहेको छ’, एसएसपी अधिकारी भन्छन् ।
प्रकृति संरक्षण कोषका अधिकारीहरु भने प्रहरीबाट चोरीको विषयमा अनुसन्धान भइरहे पनि कर्मचारीको लापरबाहीको पक्षबाट समेत आन्तरिक जाँच भइरहेको बताउँछन् ।
प्रतिक्रिया 4