+
+
Shares
विचार :

नेपालको पूँजीबजारलाई दोस्रो स्टक एक्स्चेन्ज कति आवश्यक ?

नेपालको पूँजीबजारले अब परम्परागत ढाँचाबाट माथि उठेर आधुनिक र गतिशील स्वरूपमा विकास हुनुपर्छ, जसका लागि दोस्रो स्टक एक्स्चेन्ज स्थापना एउटा महत्त्वपूर्ण कदम हो ।

राजन कुमार झा राजन कुमार झा
२०८२ असार ५ गते ८:४५

नेपालको पूँजीबजार लामो समयदेखि नेपाल सरकारको स्वामित्वमा रहेको र नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमन गर्ने नेप्से (नेपाल स्टक एक्स्चेन्ज) को एकमात्र व्यवस्थापनमा सञ्चालनमा छ । नेप्सेले विगतमा बजारलाई आधारभूत संरचना दिए पनि देशको आर्थिक विकासको तीव्र गति र पूँजीबजारको बढ्दो दायरासँगै यसका क्षमता र सीमितता अब स्पष्ट देखिन थालेका छन् । विश्वव्यापी वित्तीय बजारमा भइरहेका परिवर्तन र नेपालको आर्थिक उदारीकरण लक्ष्य हेर्दा एउटै स्टक एक्स्चेन्ज भविष्यका चुनौती र अवसरलाई पूर्णरूपमा सम्बोधन गर्न सक्दैन भन्ने यथार्थ अझ प्रष्ट भएको छ । नेपाली पूँजीबजारले अब गुणात्मक फड्को मार्ने बेला आएको छ, जसका लागि संरचनागत सुधार र आधुनिकीकरण अपरिहार्य देखिन्छ । हाल नेपालमा दोस्रो स्टक एक्स्चेन्ज स्थापना गर्ने विषयले ठूलो चर्चा पाएको छ । यो लेखमार्फत नेपाली पूँजीबजारको भविष्यबारे गहिरो विश्लेषण गर्दै यसका ऐतिहासिक पक्ष, हालका चुनौती, भविष्यका अवसर, प्रतिस्पर्धाको महत्त्व र अन्तर्राष्ट्रिय अभ्यास समेट्दै देशको आर्थिक विकासमा पूँजीबजारको भूमिकाबारे महत्त्वपूर्ण जानकारी दिने प्रयास गरिएको छ ।

अर्को स्टक एक्स्चेन्जको आवश्यकता : ऐतिहासिक पृष्ठभूमि र नीतिगत आधार

नेपालमा दोस्रो स्टक एक्स्चेन्जको बहस आजको होइन, यो दशकौंदेखि चलिरहेको विषय हो । विभिन्न सरकार र नियमनकारी निकायले यसको आवश्यकतालाई पटक–पटक स्वीकारेका छन् । दोस्रो स्टक एक्स्चेन्जको आवश्यकता पूँजीबजारको स्वाभाविक विकासक्रम र गहन अध्ययनहरूको प्रतिफल हो, आकस्मिक निर्णय होइन । लालमणि जोशी (२०६५) र भीष्म ढुंगाना संयोजकत्वका समितिले बजार प्रतिस्पर्धा र एकाधिकार अन्त्यका लागि विगतमा नै दोस्रो एक्स्चेन्ज अपरिहार्य औंल्याएका थिए । हालै सार्वजनिक चिन्तामणि शिवाकोटीको प्रतिवेदनले पूँजीबजारको वर्तमान अवस्था, सीमित प्राविधिक पूर्वाधार र भविष्यको कारोबार चाप विश्लेषण गर्दै अर्को एक्स्चेन्जको आवश्यकतालाई थप बल पुर्‍याएको छ । यो प्राविधिक वा आर्थिक आवश्यकतामा मात्र सीमित छैन । देशको सर्वोच्च नीति निर्माण निकाय र न्यायपालिकाबाट समेत यसले अनुमोदन पाएको देखिन्छ। संसद्को अर्थ समितिले सरकारलाई अर्को स्टक एक्स्चेन्ज स्थापना गर्न सिफारिस गरेको छ । त्यस्तै नयाँ एक्स्चेन्ज रोक्न परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि यस सरकारी पहलले वैधानिकता पनि पाएको छ।

वर्तमान पूँजीबजारको सीमितता र बढ्दो कारोबार चाप

पछिल्लो दशकमा लगानीकर्ता संख्या र पूँजीकरणमा उल्लेख्य वृद्धि भए पनि नेपालको पूँजीबजारको पूर्वाधार र प्रविधिमा अपेक्षित सुधार देखिन सकेन, जसको परिणाम स्वरूप बजारको दिगो विकासमा चुनौती थपिँदै गएका छन् । हाल नेप्सेमा सूचीकृत करिब २ सय ५० कम्पनीमध्ये अधिकांश बैंकिङ, बीमा र जलविद्युत क्षेत्रका छन्, जसले बजारमा क्षेत्रगत सन्तुलन अभाव प्रष्ट्याउँछ । एउटै स्टक एक्स्चेन्जले विद्यमान कम्पनीहरूको कारोबार भार थेग्नुपर्दा, भविष्यमा सयौँ आईपीओको लाइनमा रहेका कम्पनी र निर्माणाधीन करिब ७ सय जलविद्युत् कम्पनीको विशाल चाप धान्न नसक्ने प्रबल सम्भावना छ । यो अवस्थाले पूँजीबजारमा जोखिम बढाउनुका साथै लगानीकर्ताको विश्वासमा गम्भीर असर पार्न सक्छ, किनकि एउटै प्रणालीमा यति धेरै चापले कम्पनी सूचीकरण प्रक्रियामा ढिलाइ र समग्र व्यवस्थापनमै जटिलता थप्ने छ ।

त्यसैले नयाँ कम्पनीलाई बजारमा आकर्षित गर्न, क्षेत्रगत सन्तुलन मिलाउन र साना तथा मझौला कम्पनीलाई समेत पूँजीबजारमा सहज प्रवेश गराउन अर्को स्टक एक्स्चेन्जको आवश्यकता औँल्याइएको हो । नेप्सेको सर्भर ह्याङ हुने र क्र्यास हुने बारम्बारका समस्याले लगानीकर्तालाई आजित पारिसकेको छ, जुन ‘एकल–बिन्दु विफलता को ज्वलन्त उदाहरण हो । एक्कासि, कारोबार बढ्दा नेप्सेको कमजोर सर्भर र पुरानो प्रविधिले भार धान्न नसकेर प्रणाली नै ठप्प भएको धेरै दृष्टान्त हामीले विगतमा देखेका छौं । त्यस्तै नेप्सेको कमजोर पूर्वाधारका कारण केही ठूला खेलाडीले बजार कमजोरीको फाइदा उठाउँदै अर्बौं कमाइरहेको आरोप लाग्ने गरेको छ, जसले साना लगानीकर्तालाई जोखिममा पारेको छ । यो विषय पत्रपत्रिका तथा संसद्मा समेत बेलाबेला उठ्ने गरेको देखिन्छ । यद्यपि, अझ आधुनिक र परिष्कृत दोस्रो एक्स्चेन्जले बजारमा पारदर्शिता र निष्पक्षता बढाएर यस्ता अनियमितता धेरै हदसम्म नियन्त्रणमा लिन सक्छ । यी सबै प्रणालीगत कमजोरीले अब नेपाललाई बलियो, आधुनिक र वैकल्पिक कारोबार प्रणालीको खाँचो भएको स्पष्ट देखाउँछन् ।

एनआरएनको लगानी र पूँजीबजारको बृहत विस्तार अवसर

नेपालको पूँजीबजारलाई अन्तर्राष्ट्रियकरण गर्ने दिशामा २०८२/८३ को बजेटले एनआरएनलाई दोस्रो बजारमा लगानीको अनुमति दिएर महत्त्वपूर्ण पाइला चालेको छ । यसबाट बजारमा नयाँ पूँजी, जोस र व्यावसायिक सोच भित्रिने आश छ । लाखौं एनआरएनलाई सिधै पूँजीबजारमा जोड्दा देशमा पूँजीको नयाँ स्रोत खुल्छ, जसले तरलता बढाउँछ र कम्पनीलाई पूँजी जुटाउन सहज हुन्छ । यो निर्णयले नेपालको अर्थतन्त्रलाई विश्वव्यापी बजारसँग जोड्न मद्दत गर्छ ।

नयाँ कम्पनीलाई बजारमा आकर्षित गर्न, क्षेत्रगत सन्तुलन मिलाउन र साना तथा मझौला कम्पनीलाई समेत पूँजीबजारमा सहज प्रवेश गराउन अर्को स्टक एक्स्चेन्जको आवश्यकता औँल्याइएको हो । नेप्सेको सर्भर ह्याङ हुने र क्र्यास हुने बारम्बारका समस्याले लगानीकर्तालाई आजित पारिसकेको छ, जुन ‘एकल–बिन्दु विफलता को ज्वलन्त उदाहरण हो ।

तर, एनआरएनलाई आकर्षित गर्न भरपर्दो, सुरक्षित र सजिलो कारोबार प्रणाली हुनैपर्छ । एनआरएन भित्रिँदा कारोबारको मात्रा र लगानीकर्ता संख्या ह्वात्तै बढ्ने अनुमान छ । थोरैथोरै रकमबाटै पनि अर्बौंको नयाँ लगानी तुरुन्तै भित्रिन सक्छ, जुन निरन्तर बढ्दै जाने छ । यसले अहिलेको कारोबार भोल्युमलाई कयौँ गुणा बढाउन सक्छ । अहिलेकै प्रणाली सामान्य अवस्थामा पनि बारम्बार क्र्यासु हुने गरेकोले कि त नेप्सेले छोटो समयमै आफ्नो पूर्वाधार र क्षमता ह्वात्तै बढाउनुपर्छ (जसको सम्भावना निकै कम छ), होइन भने अर्को स्टक एक्स्चेन्ज स्थापना गर्नु अनिवार्य भएको छ । नयाँ एक्स्चेन्जले बलियो, स्थिर र अत्याधुनिक प्रविधि दिएर यो विशाल कारोबार सजिलै सम्हाल्न सक्छ र एनआरएनलाई नेपालको विकासमा अझ बढी जोड्न पनि मद्दत गर्न सक्छ ।

प्रतिस्पर्धा, दक्षता र सेवा गुणस्तरमा क्रान्ति

पूँजीबजारमा एकाधिकार स्वस्थ प्रतिस्पर्धात्मक वातावरणका लागि सामान्यतया अनुकूल मानिँदैन, किनकि सरकारी स्वामित्वका कम्पनीहरू एकाधिकारमा सफल भएका उदाहरण कमै पाइन्छन् । एकाधिकारले नयाँपन र सेवाको गुणस्तरमा कमी ल्याउन सक्ने सम्भावना रहन्छ, जसको प्रत्यक्ष असर लगानीकर्तामाथि पर्न सक्छ । नेपाल टेलिकमको एकाधिकार तोडिएपछि निजी सेवा प्रदायक एनसेल आगमनले प्रतिस्पर्धा बढायो र टेलिकमलाई समेत सेवा सुधार्न बाध्य बनायो भन्ने उदाहरणले प्रतिस्पर्धाले सरकारी संस्थालाई चुस्त बनाउन र समग्र बजारको विकासमा मद्दत गर्न सक्ने देखाउँछ । यही सिद्धान्त पूँजीबजारमा पनि लागु हुन सक्छ, प्रतिस्पर्धाले नेप्सेलाई थप चुस्त र प्रभावकारी बनाउन मद्दत गर्न सक्छ । दोस्रो स्टक एक्स्चेन्ज भित्रिएपछि नेप्से पनि अत्याधुनिक प्रविधि, चुस्त सेवा र थप पारदर्शी बन्न बाध्य हुनेछ । यसले समग्र पूाजीबजारको दक्षता र गुणस्तरमा सुधार ल्याउने छ, जसको प्रत्यक्ष लाभ लगानीकर्ता र कम्पनीहरूले प्राप्त गर्नेछन् । ब्रोकर सेवाको गुणस्तरमा वृद्धि, कारोबार शुल्कमा प्रतिस्पर्धा, छिटो र भरपर्दो कारोबार प्रणाली तथा नयाँ उत्पादनको विकास यसका केही प्रत्यक्ष फाइदा हुन् । प्रतिस्पर्धाले गर्दा एक्स्चेन्जहरूले लगानीकर्तालाई आकर्षित गर्न नवीनतम प्रविधि अपनाउनुपर्ने हुन्छ, जसले बजारलाई अझ सुरक्षित र कुशल बनाउँछ ।

खुला बजार, निजी क्षेत्र र लगानीकर्ता

नेपाल खुला अर्थतन्त्र र ग्लोबलाइजेसनको युगमा भए पनि हाम्रो पूँजीबजारमा भने विकल्प सीमित छन् । धितोपत्र बोर्ड (सेबोन) ले अझै डेरिभेटिभ्स र कमोडिटी कारोबारलाई अनुमति नदिएको तथा नेप्सेसँग पनि यस्ता उपकरण उपलब्ध नभएकाले हामी विश्वव्यापी बजारको प्रतिस्पर्धामा पछाडि परेका छौं । यसले बजारको गहिराइ र तरलता सीमित बनाउँदै नेपाली लगानीकर्तालाई विश्वव्यापी अवसरबाट वञ्चित गरिरहेको छ । यस्तो अवस्थामा दोस्रो स्टक एक्स्चेन्ज स्थापनाले डेरिभेटिभ्स र कमोडिटी कारोबारका लागि नयाँ प्रणाली स्थापना गर्दै बजारमा नयाँ आयाम थप्न सक्छ । ग्लोबलाइजेसनको सिद्धान्त अनुरूप वित्तीय क्षेत्रमा प्रतिस्पर्धा आवश्यक रहेकाले दोस्रो एक्स्चेन्ज आगमनले नेप्सेलाई अत्याधुनिक प्रविधि, चुस्त सेवा र थप पारदर्शी बन्न बाध्य पार्दै समग्र बजारको दक्षता र गुणस्तरमा सुधार ल्याउन सक्ने छ । यस प्रतिस्पर्धाले ब्रोकर सेवाको गुणस्तरमा सुधार ल्याउनुका साथै कारोबार शुल्क घटाउने, छिटो र भरपर्दो प्रणाली विकास गर्ने तथा नयाँ उत्पादन भित्र्याउने सम्भावना रहन्छ, जसबाट बजार अझ सुरक्षित र कुशल बन्नुका साथै लगानीकर्तालाई जोखिम व्यवस्थापनका थप अवसर प्राप्त हुन सक्छन् ।

अन्तर्राष्ट्रिय अभ्यास : भारतीय सेयर बजारको सफलता

अन्तर्राष्ट्रिय अभ्यासले पनि धेरै स्टक एक्स्चेन्जको आवश्यकता पुष्टि गर्छ । विश्वका धेरै विकसित र विकासोन्मुख राष्ट्रमा एकभन्दा बढी स्टक एक्स्चेन्ज सफलतापूर्वक सञ्चालित छन् । यो प्रवृत्तिले एकाधिकारभन्दा प्रतिस्पर्धालाई नै बजार विकासका लागि उत्तम बाटोका रूपमा स्वीकारेको छ । भारतीय सेयर बजार यसको उत्कृष्ट उदाहरण हो । भारतमा सन् १८७५ मा स्थापित बम्बई स्टक एक्सचेन्ज (बीएसई) परम्परागत प्रणालीमा आधारित थियो । तर, सन् १९९२ मा नेसनल स्टक एक्स्चेन्ज (एनएसई) स्थापनाले भारतीय पूँजीबजारमा क्रान्तिकारी परिवर्तन ल्यायो । एनएसईले सुरुदेखि नै अत्याधुनिक प्रविधि र राष्ट्रव्यापी स्वचालित कारोबार प्रणाली भित्र्यायो, जसले गर्दा बीएसईलाई पनि आफ्नो प्रविधि सुधार्न र आधुनिक बन्न बाध्य बनायो ।

पूँजीबजारमा एकाधिकार स्वस्थ प्रतिस्पर्धात्मक वातावरणका लागि सामान्यतया अनुकूल मानिँदैन, किनकि सरकारी स्वामित्वका कम्पनीहरू एकाधिकारमा सफल भएका उदाहरण कमै पाइन्छन् । एकाधिकारले नयाँपन र सेवाको गुणस्तरमा कमी ल्याउन सक्ने सम्भावना रहन्छ, जसको प्रत्यक्ष असर लगानीकर्तामाथि पर्न सक्छ ।

आज बीएसई र एनएसई दुवै विश्वकै ठूला र सफल स्टक एक्स्चेन्जमा गनिन्छन्, जहाँ प्रत्येक वर्ष खर्बौं अमेरिकी डलर बराबर कारोबार हुने गरेको छ । खासगरी एनएसई विश्वकै सबैभन्दा ठूलो डेरिभेटिभ्स एक्स्चेन्जमध्ये एक हो भने इक्विटी कारोबारमा पनि अग्रणी स्थानमा छ । यी दुई एक्स्चेन्जबीचको स्वस्थ प्रतिस्पर्धाले भारतीय पूँजीबजारमा तरलता बढाइ, लगानीकर्तालाई थप विकल्प दिई, नयाँ वित्तीय उत्पादन भित्र्याइ र समग्र बजार थप गतिशील तथा पारदर्शी बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । यसले भारतीय अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउँदै देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ठूलो हिस्सा ओगटेको छ । भारतीय बजारको यो सफलताले नेपालमा पनि दोस्रो स्टक एक्स्चेन्जले पूँजीबजार विकासमा कस्तो सकारात्मक प्रभाव पार्न सक्छ भन्ने स्पष्ट दृष्टान्त प्रस्तुत गर्छ । यदि दोस्रो स्टक एक्स्चेन्जले अत्याधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्ड अपनाए नेपालको पूँजीबजार अन्य देशका बजारसँग जोड्न (क्रस–लिस्टिङ/डुअल–लिस्टिङ) पनि सहज हुनेछ । यसले नेपाली कम्पनीलाई अन्तर्राष्ट्रिय पूँजीमा पहुँच पुर्‍याउनुका साथै विदेशी लगानीकर्तालाई नेपालमा आकर्षित गर्न सक्छ ।

राजनीतिक अस्थिरता र विकासको गति

नेपालमा अहिले कुनै पनि दलले स्पष्ट बहुमत पाउन कठिन छ, जसले गर्दा सधैं त्रिशंकु संसद् र सम्झौतामा आधारित सरकार बन्ने सम्भावना रहन्छ । विभिन्न राजनीतिक दलका आ–आफ्नै स्वार्थ र प्राथमिकताले गर्दा विद्यमान संस्थाहरूको सशक्तीकरण र विकास प्रक्रियामा ढिलाइ हुन सक्छ । यसरी नीतिगत निर्णयमा ढिलाइ र कार्यान्वयनमा सुस्तता आउँदा नागरिकले पाउनुपर्ने आर्थिक अवसरमा बाधा पुग्छ ।

पूँजीबजारमा आधुनिकता र दक्षता अभावले लगानीकर्तालाई घाटामात्र नभई नयाँ व्यापारिक अवसरबाट समेत वञ्चित गराउँछ । जबसम्म विद्यमान संस्थालाई पूर्णरूपमा सशक्त र सक्षम बनाउन राजनीतिक प्रतिबद्धता र निरन्तरता सुनिश्चित हुँदैन, तबसम्म नागरिकले यसको मूल्य चुकाउनुपर्ने अवस्था रहन्छ । नागरिकको पूँजीबजारमा सुरक्षित, पारदर्शी र दक्षतापूर्ण पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व हो । लामो समयसम्म एकाधिकार कायम राख्दा र राजनीतिक खिचातानीका कारण संस्थागत सुधारमा ढिलाइ हुँदा त्यसको प्रत्यक्ष मार समग्र अर्थतन्त्र र लाखौं लगानीकर्तामाथि पर्छ । त्यसैले, तत्कालै प्रतिस्पर्धी संयन्त्रको विकास गर्नु अपरिहार्य छ ।

भविष्यको दृष्टिकोण : पूँजीबजारको नयाँ युग

नेपालको पूँजीबजारले अब परम्परागत ढाँचाबाट माथि उठेर आधुनिक र गतिशील स्वरूपमा विकास हुनुपर्छ, जसका लागि दोस्रो स्टक एक्स्चेन्ज स्थापना एउटा महत्त्वपूर्ण कदम हो । नयाँ एक्स्चेन्जले उच्च–गतिको ट्रेड म्याचिङ इन्जिन, रियल–टाइम डाटा फिड, उन्नत जोखिम व्यवस्थापन प्रणाली र बलियो साइबर सुरक्षा प्रोटोकल जस्ता नवीनतम प्रविधि भित्र्याएर कारोबारलाई अझ छिटो, सुरक्षित र पारदर्शी बनाउन सक्ने हुनुपर्छ, जसले बजारलाई ‘स्मार्ट मार्केट’ को दिशामा लैजान सक्ने छ । यसमा कृत्रिम बुद्धिमत्ता र मेसिन लर्निङ प्रयोग गरी बजार प्रवृत्ति विश्लेषण गर्दै लगानीकर्तालाई अझ सशक्त निर्णय लिन मद्दत पुग्नुका साथै ब्लकचेन प्रविधिजस्ता उदीयमान प्रविधि प्रयोगले धितोपत्रको राफसाफ र फछ्र्योट प्रक्रिया थप कुशल र सुरक्षित बनाउन सक्ने छ । नयाँ एक्स्चेन्जले परम्परागत इक्विटी कारोबार अतिरिक्त बन्ड मार्केट, कर्पोरेट बन्ड र हरित बन्डजस्ता नयाँ वित्तीय उत्पादन प्रवर्द्धन गरी बजार गहिराइ बढाउनुका साथै कम्पनीलाई पूँजी परिचालनका लागि थप विकल्प प्रदान गर्न सक्ने हुनुपर्छ ।

पूँजीबजारबाट राजस्व वृद्धि : आगामी बजेटलाई टेवा

नेपालको पूँजीबजारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई टेवा दिन सक्छ । राजस्व संकलनमा कमी र विदेशी अनुदान घटेकाले सरकारले करिब ६ खर्ब रुपैयाँसम्म ऋण बढ्ने चिन्ता व्यक्त भइरहेको बेला पूँजीबजारको आकार विस्तारबाट राजस्व वृद्धि एक महत्त्वपूर्ण समाधान हुन सक्छ । यसको सम्भावना सेयर कारोबारमा उल्लेख्य वृद्धि र कमोडिटी एक्स्चेन्जको उदयमा निहित छ । चालु आव २०८१/८२ फागुन मसान्तसम्म मात्रै सेयर बजारबाट १२ अर्ब २० करोड रुपैयाँभन्दा बढी पूँजीगत लाभकर (सीजीटी) संकलन हुनुले यो तथ्यलाई पुष्टि गर्छ, जबकि कमोडिटी एक्स्चेन्ज स्थापना र सक्रिय सञ्चालनले वस्तु कारोबारबाट प्राप्त हुने शुल्क र करमार्फत राजस्वको नयाँ स्रोत खोल्नेछ, जुन क्षेत्र नेपालमा हालसम्म पूर्णरूपमा उपयोगमा आइसकेको छैन । प्रत्यक्ष करका अतिरिक्त एक जीवन्त पूँजीबजारले समग्र अर्थतन्त्रमा लगानीलाई प्रोत्साहित गर्दै पूँजी निर्माणमा सहयोग पुर्‍याउँदै र व्यवसाय विस्तार नेतृत्व गर्दै गुणात्मक प्रभाव पार्छ, जसले अन्ततः समग्र कर आधारलाई फराकिलो बनाउँछ । यद्यपि, पूँजीबजार अस्थिर हुने भएकाले सीजीटी र कमोडिटी कारोबारबाट हुने राजस्व बजार मनोवृत्ति, आर्थिक अवस्था र लगानीकर्ताको विश्वासका आधारमा घटबढ हुन सक्छ र कमोडिटी एक्स्चेन्जको सफलताका लागि बलियो नियामक संरचना र स्पष्ट करनीति अपरिहार्य छन् ।

अन्तर्राष्ट्रिय अभ्यासले पनि धेरै स्टक एक्स्चेन्जको आवश्यकता पुष्टि गर्छ । विश्वका धेरै विकसित र विकासोन्मुख राष्ट्रमा एकभन्दा बढी स्टक एक्स्चेन्ज सफलतापूर्वक सञ्चालित छन् । यो प्रवृत्तिले एकाधिकारभन्दा प्रतिस्पर्धालाई नै बजार विकासका लागि उत्तम बाटोका रूपमा स्वीकारेको छ ।

निष्कर्ष : राष्ट्रिय समृद्धिको अनिवार्य कदम

नेपालमा दोस्रो स्टक एक्स्चेन्ज स्थापना केवल प्रतिस्पर्धाका लागिमात्र नभई राष्ट्रिय अर्थतन्त्र विकास, पूँजीबजारको आधुनिकीकरण, विस्तार र अन्तर्राष्ट्रियकरणका लागि अपरिहार्य छ । यो लगानीकर्ताको अधिकार, पूँजीबजारको स्थायित्व र समग्र राष्ट्रिय समृद्धिका लागि महत्त्वपूर्ण कदम हो । यसले पूँजीबजारबाट राष्ट्रको राजस्व बढाउनुका साथै डेरिभेटिभ्स र कमोडिटी बजारजस्ता नयाँ स्रोतबाट पनि आम्दानीको ढोका खोल्छ । बढ्दो कम्पनी सूचीकरणको चाप, एनआरएन लगानी भित्र्याउने अवसर, कमोडिटी र डेरिभेटिभ्स जस्ता नयाँ बजार खण्डको आवश्यकता, प्रतिस्पर्धाबाट आउने दक्षता र सेवाको गुणस्तर सुधार, प्रणालीगत जोखिम व्यवस्थापन, भूमण्डलीकरणको माग र निजी क्षेत्र प्रवर्द्धन अवधारणाले अर्को स्टक एक्स्चेन्जको आवश्यकतालाई बलियो तार्किक आधार दिन्छ । अन्तर्राष्ट्रिय अभ्यास, विशेषगरी भारतीय बजारको सफलताले, बहु–एक्स्चेन्ज प्रणालीले बजारलाई कसरी परिपक्व र गतिशील बनाउन सक्छ भन्ने स्पष्ट उदाहरण देखाउँछ । वर्तमान एकल प्रणालीमा देखिएका प्राविधिक अपर्याप्तता र बारम्बारका समस्याले लगानीकर्तामा पारेको आर्थिक नोक्सानी तथा विश्वासको संकट सम्बोधन गर्न र भविष्यमा देखिएको पूँजीबजार विस्तारको अपार सम्भावना मध्यनजर गर्दै दोस्रो स्टक एक्स्चेन्ज एक सम्भावित र आवश्यक विकल्प हुन सक्छ ।

लेखक
राजन कुमार झा

बेलायतबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका र १५ वर्षभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका झा आर्थिक तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?