+
+
Shares

चीनले दियो नेपालमा बाढीको सूचना, सिन्धुपाल्चोक र काभ्रेमा अलर्ट

विश्व मौसम विज्ञान केन्द्र बेइजिङबाट मंगलबार जारी सूचनामा नेपालको नाम उल्लेख त छैन तर आगामी ५ दिनसम्म दक्षिण पश्चिम मनसुन सक्रिय हुने उल्लेख छ ।

विनोद घिमिरे विनोद घिमिरे
२०८२ असार ४ गते २२:३५
भोटेकोशी नदीको छेवैमा पर्ने सिन्धुपाल्चोकको खाडिचौर बजार (फाइल तस्वीर)

४ असार, काठमाडौं । चिनियाँ अधिकारीहरूले नेपालसँग जोडिएको सीमा क्षेत्रमा ‘अत्यधिक वर्षा’को सम्भावना रहेको जानकारी दिँदै सतर्कता अपनाउन नेपाली अधिकारीहरूलाई भनेका छन् ।

सो सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र काभ्रेले सतर्कता अपनाएका छन् ।

सिन्धुपाल्चोक प्रशासनले विज्ञप्ति जारी गरेर असार ७ गतेसम्म सतर्कता अपनाउन जिल्लावासीलाई अनुरोध गरेको छ । सिन्धुपाल्चोक प्रशासनले जारी गरेको सूचनामा तिब्बत क्षेत्रमा ‘अत्यधिक वर्षा’ हुन सक्ने सम्भावना रहेकाले भोटेकोशी र सुनकोशी नदी आसपासका ६ वटा पालिकाका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ ।

‘भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी/सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकाले नदी आसपास क्षेत्रमा बसोबास गर्नुहुने महानुभावहरूमा सतर्कता अपनाउन अनुरोध छ’ सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले आज जारी गरेको सूचनामा लेखिएको छ ।

यसैगरी काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले पनि सूचना जारी गरी भुम्लु, तेमाल र रोशी गाउँपालिकाका तटीय क्षेत्रका बस्ती जोखिममा पर्न सक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।

कसरी प्राप्त भयो यो सूचना ?

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले चिनियाँ सुरक्षाकर्मीहरूबाट पाएको जानकारीको आधारमा आफूहरूले पनि सूचना जारी गरेको बताए ।

‘तातोपानी बोर्डर क्षेत्रमा खटिएका चिनियाँ सुरक्षाकर्मीले दिएको जानकारीको आधारमा हामीले यो सूचना जारी गरेका हौं,’ प्रमुख जिल्ला अधिकारी थापाले अनलाइनखबरसँग भने, ‘सीमा क्षेत्रमा एकअर्कालाई सूचना आदान प्रदान गर्ने भन्ने हुन्छ । सोही अनुसार चिनियाँ पक्षबाट अत्यधिक पानी पर्दैछ है भनेर हाम्रो सशस्त्र प्रहरीलाई र सशस्त्र प्रहरीले जिल्ला प्रशासन कार्यालयलाई सूचना दिएको थियो ।’

जिल्ला प्रशासन कार्यालय काभ्रे र सिन्धुपाल्चोकले छुट्टाछुट्टै जारी गरेको सूचना

चीनको सीमा क्षेत्रमा पर्ने वर्षा वा हिमताल विष्फोटले नेपालमा पनि क्षति हुन सक्ने भएकाले विशेषगरी नदी किनार क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

यसैगरी काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले पनि सम्भावित जोखिमलाई ध्यानमा राखी पूर्वसतर्कता अपनाइएको बताए । ‘पालिकाहरूलाई खबर गरेका छौं र प्रहरीलाई अलर्टमा राखेका छौं,’ श्रेष्ठले अनलाइनखबरसँग भने ।

चीनको मौसम कार्यालय के भन्छ ?

विश्व मौसम विज्ञान केन्द्र बेइजिङबाट मंगलबार जारी सूचनामा नेपालको नाम उल्लेख त छैन तर आगामी ५ दिनसम्म दक्षिण पश्चिम मनसुन सक्रिय हुने उल्लेख छ । सूचनासँगै सार्वजनिक गरिएको नक्सामा भने नेपालमा पनि वर्षाको सम्भावना रहेको भनेर गाढा निलो रंगले संकेत गरिएको छ ।

सूचनामा भारतको पश्चिमी तथा उत्तरपूर्वी भागहरू, श्रीलंकाको दक्षिणपश्चिमी भाग, बंगलादेशको उत्तर भाग, म्यानमारको पश्चिमी र दक्षिणी भाग तथा थाइल्याण्डको दक्षिणपश्चिमी भागमा भारीदेखि अति भारी वर्षा हुने उल्लेख छ ।

भारतका गोवा, केरला र आसाम राज्यहरू तथा म्यानमारको राखाइन राज्य, आयेयरवाडी क्षेत्र, कायिन राज्य र मोन राज्यहरूमा छोटो अवधिमा मेघगर्जनसहित अत्यधिक वर्षा हुने र तेज हावा चल्ने सम्भावना रहेको उल्लेख छ ।

भारतको गोवा र आसपासका क्षेत्रमा ३०० मिलिमिटरसम्म र अन्य भागमा ५० देखि १८० मिलिमिटरसम्म वर्षा हुनसक्ने सम्भावना रहेको उल्लेख छ । साथै यो वर्षाका कारण बाढीजस्ता दोस्रो प्रकोप उत्पन्न हुने भएकाले चनाखो रहन भनिएको छ ।

नेपालका मौसमविद् के भन्छन् ?

मौसम पूर्वानुमानमा नेपालमा हेरिने मोडेलहरूले पनि नेपाल चीन सीमा क्षेत्रमा वर्षा हुने सम्भावना देखाउँछ । तर जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा लेखिएजस्तो ‘अत्यधिक वर्षा’भनेको कति हो भन्ने स्पष्ट भने छैन ।

यद्यपि नेपालका मौसमविद्हरूले छिमेकी मुलुकहरुबाट आउने सूचना, जानकारीमा चासो राख्दै मौसमी प्रणालीहरूलाई नजिकबाट नियालिरहेका छन् ।

मनसुनको बेला भएकाले वर्षासँगै आउने बाढी पहिरोले क्षति पुर्‍याउन सक्ने भएकाले सतर्कता अपनाउन नै राम्रो हुने वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताइन् ।

‘चीनमा परेको पानीले नेपालका नदीमा पानीको बहाव बढ्न सक्ने सम्भावना हुनसक्छ तर नेपालमै परेको पानीले एक–दुई दिनमै अचाक्ली असर गर्ला जस्तो लाग्दैन,’ वरिष्ठ मौसमविद कँडेलले भनिन्, तर सतर्कता अपनाउनु त राम्रो कुरा हो ।’

मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको मौसमी बुलेटिनमा बागमती प्रदेशसहित कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको उल्लेख छ ।

यसको प्रभावले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्नका लागि आवश्यक तयारी गर्न पनि महाशाखाले अनुरोध गरेको छ ।

लेखक
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?