+

विश्वका दुई र्‍याफ्टिङ संस्था एक बनाउने सहमति

२०८२ असार  ५ गते ११:४२ २०८२ असार ५ गते ११:४२
विश्वका दुई र्‍याफ्टिङ संस्था एक बनाउने सहमति

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय र्‍याफ्टिङ महासंघ (आईआरएफ) र विश्व र्‍याफ्टिङ महासंघ (डब्लुआरएफ) लाई एउटै संस्था बनाउने निर्णय भएको छ।
  • यस सहमति अनुसार, दुवै महासंघले स्पोर्ट्सएकर्डसँग सदस्यता आवेदन दिएका छन् र यसलाई ऐतिहासिक भनिएको छ।
  • नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले यस कदमलाई महत्वपूर्ण र समावेशी भविष्य निर्माण गर्ने बताउनुभयो।

५ असार, काठमाडौं । विश्वमा अस्तिस्वमा रहँदै आएको दुई र्‍याफ्टिङ संस्थालाई एक बनाउने सहमति भएको छ । अन्तर्राष्ट्रिय र्‍याफ्टिङको इतिहासमा यसलाई एक महत्वपूर्ण उपलब्धि मानिएको छ ।

अन्तर्राष्ट्रिय र्‍याफ्टिङ महासंघ (आईआरएफ) र विश्व र्‍याफ्टिङ महासंघ (डब्लुआरएफ) लाई एउटै संस्था बनाउने तयारी भएको हो । दुवै र्‍याफ्टिङ महासंघले यो निर्णयलाई स्वागत गरेका छन् ।

अन्तर्राष्ट्रिय र्‍याफ्टिङ महासंघ (आईआरएफ) का अध्यक्ष जोसेफ विलिस जोन्स र विश्व र्‍याफ्टिङ महासंघ (डब्लुआरएफ) का अध्यक्ष डानिलो बार्माजले एलाएन्स अफ इन्डेपेन्डेन्ट रिकजनाइज्ड मेम्बर अफ स्पोर्ट्स (एआईएमएस)मा सदस्यता आवेदन दिनका लागि स्पोर्ट्सएकर्डसँग लेटर अफ इन्टेन्टमा हस्ताक्षर गरेका थिए । सन् २०२५ जुन ५ मा टर्कीएको यस्तानबुलमा भएको यस समझदारीलाई ऐतिहासिक भनिएको छ ।

एआईएमएस अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आयओसी) द्वारा मान्यता प्राप्त एक छाता संस्था हो । जसले ओलम्पिक मुमभेन्टमा सदस्य महासंघहरूलाई आइओसीको मान्यताको दिशामा सहकार्य गर्न साझा अवसर प्रदान गर्नेछ ।

स्पोर्टएकर्ड, एक विश्वव्यापी खेल कार्यक्रम व्यवस्थापन संस्था हो जसले एआइएमएससँगको सहकार्यमा सदस्यता आवेदन प्रक्रियाको व्यवस्थापन गर्छ ।

दुई संस्थाबीचको यो हस्ताक्षरले र्‍याफ्टिङ खेलको लागि एक साझा अन्तर्राष्ट्रिय नियामक निकाय बनाउने बाटोमा एक महत्वपूर्ण आधिकारिक कदम चालेको छ ।

यसले विश्वभरका र्‍याफ्टिङ खेलाडीहरू, गाइडहरू र सरोकारवालाहरूको प्रतिनिधित्व गर्दै आएका दुई प्रमुख संस्थाहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्य लिएको छ ।

अध्यक्ष जोन्स र अध्यक्ष बार्माजको पहिलो भेट गत वर्ष स्विट्जरल्यान्डको लुसानेस्थित स्पोर्टएकर्डको कार्यालयमा भएको थियो । त्यसबेला उनीहरूले एकताको प्रक्रिया सुरु गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

त्यसपछि, दुवै महासंघका कार्यदलहरूले मिलेर समावेशी, प्रभावकारी र विश्वव्यापी र्‍याफ्टिङ समुदायको विविध यथार्थ प्रतिनिधित्व गर्ने साझा ढाँचा निर्माण गर्ने कार्यमा नजिकबाट सहकार्य गर्दै आएका छन् ।

दुवै अध्यक्ष इस्तानबुलमा फेरि भेट गरेर यस सम्झौताको आधारभूत सिद्धान्तहरूलाई संयुक्त रूपमा मान्यता दिएका छन् । यी सिद्धान्तहरू थप परिमार्जन गरी दुवै महासंघको प्रारम्भिक मतदानमा प्रस्तुत गरिनेछ । त्यहाँ स्वीकृत भएपछि, यो प्रस्तावित योजना सम्पूर्णलाई र्‍याफ्टिङ आन्दोलन अभियानमा रहेका खेलाडी, राष्ट्रिय महासंघ, गाइड तथा अन्य सरोकारवालाहरू समक्ष सुझाव र परिमार्जनका लागि प्रस्तुत गरिनेछ ।

दुवै अध्यक्षहरूले यस सहमतिको परिणामप्रति सन्तुष्टि व्यक्त गरेका छन् । साथै यसले नयाँ र एकिकृत संस्था निर्माणमा सन्तुलित रुपमा सहयोग पुर्‍याउने विश्वास समेत लिइएको छ ।

दुवै महासंघका प्राविधिक टोलीहरूले यो लक्ष्य साकार पार्न आवश्यक संरचना र प्रक्रिया निर्माणका लागि सहकार्य जारी राख्नेछन् । अझ धेरै काम बाँकी भएपनि यस हस्ताक्षरले एक स्पष्ट र साझा प्रतिबद्धता जनाएको छ ।

र्‍याफ्टिङ खेललाई एउटै अन्तर्राष्ट्रिय छातामुनि एकीकृत गर्न र यस खेलमा संलग्न सबैका लागि अझ बलियो र समावेशी भविष्य निर्माण गर्न पनि यसले सहयोग पुग्ने विश्वास छ ।

नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले दुई संस्था एक हुने सहमति महत्वपूर्ण भएको बताए । साथै यस कदमले विश्वभरका र्‍याफ्टिङमा संलग्न खेलाडी, गाइड प्रशिक्षक देखि सबैका लागि राम्रो हुने बताए ।

अन्तर्राष्ट्रिय र्‍याफ्टिङ महासंघ र्‍याफ्टिङ संस्था विश्व र्‍याफ्टिङ महासंघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय