News Summary
Generated by OK AI. Editorially reviewed.- प्रकाश अधिकारीले एसिया पारा ब्याडमिन्टन च्याम्पियनसिपमा मिश्रित प्रदर्शन गरेका छन् ।
- उनेले सिंगल्समा भारतका कृष्नन कार्थिकलाई पराजित गरे भने अन्य दुई खेलमा पराजित भए ।
- प्रकाशले पहिलो पटक पारा ब्याडमिन्टनको एसियन च्याम्पियनसिपमा भाग लिएका थिए र अनुभव राम्रो भएको बताए ।
५ असार, काठमाडौं । थाइल्याण्डमा भइरहेको एसिया पारा ब्याडमिन्टन च्याम्पियनसिपमा नेपाली पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारीले मिश्रिति प्रदर्शन गरेका छन् ।
स्ट्यान्डिङ विधामा प्रतिस्पर्धा गरेका प्रकाशले सिंगल्समा ३ र डबल्समा ६ खेल खेले । आफ्नो मुख्य विधा सिंगल्स भएपनि उनले विदेशी खेलाडीसँग मिलेर मेन्स डबल्स र मिक्स डबल्समा पनि प्रतिस्पर्धा गरेका थिए ।
उनले सिंगल्समा एक खेल जित्दा दुई खेलमा पराजित भए । यस्तै डबल्सतर्फ मिक्स डबल्समा एक खेल जिते भने दुई खेलमा पराजित भए । मेन्स डबल्समा भने तीनै खेलमा पराजित भए ।
प्रकाशको सबै खेल सकिसकेको छ । उनको प्रदर्शन मिश्रित रहेपनि समूह चरण पार गर्न भने सकेनन् ।
थाइल्याण्डको एसपीएडिटी कन्भेन्सन सेन्टरमा भएको प्रतियोगिताको सिंगल्सतर्फ एसएल-४ विधामा प्रतिस्पर्धा गरेका प्रकाशले आफ्नो दोस्रो खेलमा भारतका कृष्नन कार्थिकलाई २१-९, २१-१० ले पराजित गरेका थिए ।
त्यसअघि सिंगल्सतर्फको पहिलो खेलमा प्रकाश थाई खेलाडी टिमारोङ सिरिपोङसँग २१-१२, २१-१९ ले पराजित भएका थिए । यस्तै आफ्नो तेस्रो खेलमा प्रकाश भारतकै सूर्यकान्त यादवसँग २१-१८, २१-८ ले पराजित भए ।
प्रकाशले एसियन पारा ब्याडमिन्टन च्याम्पियनसिपमा पहिलो पटक सहभागिता जनाएका हुन् । उनले पहिलो सहभागितामा राम्रो अनुभव भएको बताए ।
‘समग्रमा राम्रो अनुभव रह्यो । वरियतामा माथिका खेलाडीसँग खेल्दा अली कठिन भयो । उनीहरुसँग खेल्दा आफूलाई सम्हाल्न गाह्रो भयो ।’ प्रकाशले अनलाइनखबरसँग भने ।
उनले एसियन च्याम्पियनसिपअघि अर्को प्रतियोगिता पनि खेलेका थिए । त्यसमा क्वाटरफाइनलसम्म पुगेपनि पदक जित्न सकेनन् । एसियन च्याम्पियनसिपअघि प्रशिक्षणका क्रममा घाइते भएकोले मुख्य प्रतियोगितामा पूर्ण रुपमा फिट नभएपनि खेलेको उनले बताए ।
यसैगरी पुरुष डबल्सतर्फ प्रकाशले भारतमा दिलेश्वर राओ गेडालासँग मिलेर खेलेका थिए । पुरुष डबल्सको पहिलो खेलमा प्रकाश र दिलाश्वरको जोडी भारतका मोहम्मद अर्वाज अन्सारी र अभिजित साकुजाको जोडीसँग २१-१२, २१-१८ ले पराजित भएका थिए ।
पुरुष डबल्सको दोस्रो खेलमा प्रकाश र दिलेश्वर भारतका बिसोइ दिप रन्जन र सरकार मनोजको जोडीसँग २१-११, २१-११ ले पराजित भए भने तेस्रो खेलमा भारतकै कृष्णनन र रजाइह दिनेशको जोडीसँग १३-२१, २१-१२, १८-२१ ले पराजित भए ।
यसैगरी मिक्स डबल्सतर्फ प्रकाशले ताजिकिस्तानकी सबनम मेकानबोएभासँग मिलेर खेलेका थिए । मिक्स डबल्सको पहिलो खेलमा प्रकाश र सबनम मिलेर कम्बोडियाका डेबेइस्टर जिन यभ्स र फिलपिन्सकी पेड्रोसा काथलिन बाइडोको जोडीलाई २२-२०, ११-२१, २१-१३ ले पराजित गरेका थिए ।
प्रकाश र सबनमको जोडी दोस्रो खेलमा भारतका शिवकुमार नविन र पालाक कोहलीको जोडीसँग २१-५, २१-६ ले पराजित भए भने तेस्रो खेलमा प्रकाश र सबनमको जोडी भारतीय जोडी आजाद जतिन र कुमारी सन्जनाको जोडीसँग २१-७, २१-१२ ले पराजित भए ।
कर्णाली प्रदेश सुर्खेतका २२ वर्षीय प्रकाश नेपालका पहिलो पारा ब्याडमिन्टन खेलाडी हुन् । उनले सन् २०२३ मा चीनको हान्झाउमा भएको चौथो पारा एसियाली खेलकुदमा समेत प्रतिस्पर्धा गरेका थिए ।
त्यसअघि उनले युएई र बहराइनमा पनि पारा ब्याडमिन्टनमा प्रतिस्पर्धा गरिसकेका छन् ।
प्रकाशले सन् २०२१ मा पहिलो पटक युएईमा पारा ब्याडमिन्टन प्रतियोगिता खेलेका थिए ।
प्रतिक्रिया 4