
News Summary
Generated by OK AI. Editorially reviewed.- सेयर बजार यो साता १.०१ प्रतिशत (२७ अंक) घट्यो र बजार मूल्य २६५५ बाट २६२८ अंकमा झरेको छ।
- बजारमा अधिकांश दिन सामान्य उतारचढाव रह्यो र कारोबार रकम उल्लेख्य थियो, विशेष गरी सोमबार र बिहीबार उच्च थियो।
- हाइड्रोपावर कम्पनीहरूले नाफा बुक गरेपछि आकर्षण कायम रहे पनि बैंकिङ र वित्तीय क्षेत्र सुस्ताएका छन्।
६ असार, काठमाडौं । गत साता ०.५६ प्रतिशत बढेको सेयर बजार यो साता १.०१ प्रतिशत (२७ अंक) घटेको छ । गत साता २६५५ अंकमा रहेको बजार यो साता २६२८ अंकमा झरेको छ ।
यो साता पाँचै दिन कारोबार भयो । अधिकांश दिन नेप्से सामान्य अंकको उतारचढावमै रह्यो । पहिलो दिन आइतबार ०.४७ अंक बढेकोमा सोमबार २.८० बढ्यो । त्यसपछिका लगातार बजार घट्यो । मंगलबार ३.९०, बुधबार १.०७ र बिहीबार २४.७६ अंक घट्यो ।
यो साता कारोबार रकम उल्लेख्य देखिएको छ । आइतबार ११ अर्ब ४४ करोडको कारोबार भएकोमा सोमबार १३ अर्ब १८ करोडको कारोबार भयो । सोमबारको कारोबार रकम गत फागुन १९ यताकै उच्च हो । मंगलबार ७ अर्ब ६५ करोडमा झरेको कारोबार बुधबार ९ अर्ब ८ करोड र बिहीबार ११ अर्ब २३ करोडको भयो ।
हाइड्रोपावरमा नाफा बुक
गत साता सबैभन्दा धेरै ५.५३ प्रतिशत बढेको हाइड्रोपावरमा यो साता नाफा बुक भएको छ । जसले गर्दा यो समूह ०.४१ प्रतिशत घट्यो । तर यो साता मूल्य धेरै बढेका १० कम्पनीमा सबै हाइड्रोपावर कम्पनी नै रहे । समग्र सेक्टर घटे पनि केही कम्पनीमा आकर्षण कायमै रह्यो ।
नाफा बुक सकिएपछि फेरि यसमै लगानीकर्ताको आकर्षण बढ्ने अनुमान छ । यो सेक्टरका कम्पनीको वित्तीय स्थिति अरुको तुलनामा मजबुत हुँदै गएको छ ।
बैंकको न्यून ब्याजदरले आयोजनाको लागत घट्दै गएपछि वित्तीय विवरण मजबुत बनिरहेको छ । बर्खाका कारण विद्युत् उत्पादन बढ्ने र चौथो त्रैमासिक रिपोर्ट अझ मजबुत आउने अनुमानले गर्दा यो सेक्टर सबैको आकर्षणमा परेको छ ।
बैंक, फाइनान्स, बीमा क्षेत्र भने केही सातादेखि सुस्ताएका छन् । शक्तिशाली सेक्टर बैंकिङ नै सुस्ताएपछि समग्र नेप्से परिसूचकले गति लिन सकेको छैन । लगातार तेस्रो साता यो सेक्टर घटेको छ । यसअघिका दुई साता यो ०.८० र ३.९४ प्रतिशत घटेको थियो ।
धेरै कारोबार भएका कम्पनी
रकमका आधारमा यो साता धेरै कारोबार भएको कम्पनी सानिमा माइ हाइड्रोपावर हो । जसको ३ अर्ब ७३ करोडको कारोबार भयो । त्यसपछि क्रमशः ङादी ग्रुप, बुटवल पावर, राधि विद्युत्, सिंगटी हाइड्रो इनर्जी, युनिभर्सल पावर, चिलिमे हाइड्रोपावर, सिनर्जी पावर, सोल्टी होटल तथा युनियन हाइड्रोपावर क्रमशः अगाडि रहे ।
कारोबार संख्याका आधारमा भने पिपुल्स पावर, पियोर इनर्जी, ङादी ग्रुप, सिंगटी हाइड्रो इनर्जी, सानिमा माइ हाइड्रोपावर, बुटवल पावर, युनियन हाइड्रोपावर, अरुण काबेली पावर, सिनर्जी पावर र युनिभर्सल पावर क्रमशः अगाडि रहे ।
आईपीओ/हकप्रद खुलेका छन् ?
यतिबेला वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि हिम स्टार ऊर्जा कम्पनीको आईपीओ खुलिरहेको छ । कम्पनीले कुल जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत सेयर सर्वसाधारण समूहका लागि निष्कासन गर्न लागेको हो ।
जसमध्ये १ लाख ८६ हजार ५ सय कित्ता आयोजना प्रभावितका लागि, ९३ हजार २५० कित्ता वैदेशिक रोजगारमा रहेकालाई छुट्याइएको छ । यसपछि दोस्रो चरणमा मात्रै सर्वसाधारणलाई आईपीओ खुल्नेछ ।
छ्याङ्दी हाइड्रोपावर र राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको हकप्रद सेयरमा आवेदन खुलिरहेको छ । छ्याङ्दी हाइड्रोपावरले शत प्रतिशत हकप्रद सेयर निष्कासन खुला गरेको हो । जेठ १ गतेसम्म कायम सेयरधनीले असार १२ गतेसम्म यसमा आवेदन दिन सक्नेछन् ।
त्यस्तै राप्ति हाइड्रोले पनि शत प्रतिशत हकप्रद सेयर निष्कासन गरिरहेको छ । जेठ ५ गतेसम्म कायम सेयर धनीले असार २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
ओरालो लागे विश्वका ठूला बजार
अमेरिकाको डाओ जोन्स इन्डेक्स यो साता १.३२ प्रतिशत घट्यो । त्यस्तै ठूला कम्पनीको एस एण्ड पी ५०० सूचक यो साता ०.४८ प्रतिशत घटेको छ ।
छोटो अवधिमा अमेरिकी बजार घटे पनि विगत एक वर्षलाई हेर्दा बढेका छन् । विगत एक वर्षमा डाओ जोन्स ७.७६ तथा एसएण्ड पी ९.२८ प्रतिशत बढेका छन् ।
जापानको निक्की सूचक भने यो साता १.१६ प्रतिशत बढेको छ । एक महिनामा यो सूचक २.५८ प्रतिशत बढेको छ । विगत एक वर्षमा यो सूचक ०.३८ प्रतिशत घटेको छ ।
चीनको सांघाइ कम्पोजिट इन्डेक्स पनि यो साता ०.०९ प्रतिशत घट्यो । विगत एक वर्षमा यो सूचक सबैभन्दा ११.९७ प्रतिशत बढेको छ ।
भारतको बीएसई सेन्सेक्स यो साता १.११ प्रतिशत बढेको छ । समग्रमा यो सूचक एक वर्षमा ५.९३ प्रतिशत बढेको छ ।
कस्तो रहला आगामी साताको बजार ?
विगतका पाँच सातालाई फर्केर हेर्दा पहिलो साता २.९४, दोस्रो साता ०.१८ प्रतिशत बढेको बजारले त्यसयता शक्ति गुमाइरहेको देखिन्छ । तेस्रो साता १.९६ प्रतिशत घटेको बजार चौथो साता जम्मा ०.५६ प्रतिशत बढ्यो भने पाँचौ साता १.०१ प्रतिशत घट्यो ।
अर्कोतर्फ बजारमा असार मसान्तको चाप पर्न सक्ने अनुमानले यतिबेला लगानीकर्ता पर्खाइमा छन् । ‘किन्ने लगानीकर्ताले पनि असार मसान्तको चाप पर्ने अनुमानले अहिले पर्खिरहेको अवस्था छ’ लगानीकर्ता सुवासचन्द्र ढुंगानाले भने । तसर्थ आगामी साताको बजारमा उतारचढाव न्यून रहने अनुमान छ ।
यद्यपि न्यून ब्याजदर, उच्च सेयर धितो कर्जा प्रवाह, संस्थागत लगानीकर्ताको बढेको लगानी लगायत पक्षले बजार बढ्ने आधार नै बलिया छन् । यीबाहेक राजनीतिक घटनाक्रम, नयाँ नीतिगत व्यवस्था, कम्पनीको आन्तरिक वित्तीय स्थिति जस्ता पक्षले प्रभाव पार्ने भएकाले लगानीकर्ता चनाखो हुन जरुरुत छ ।
प्रतिक्रिया 4