+
+
Shares

एरिरी पर्वतको शोकपूर्ण संयोग : हराएका दुई यात्रुको शव एउटै भँगालोमा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ७ गते १४:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वेल्सको एरिरी राष्ट्रिय निकुञ्जमा १२ वर्षपछि दुई हराएका ट्रेकरको शव फेला परे।
  • सन् २०१२ मा हराएका डाक्टर शेन कोलाको र २०२४ मा हराएका डेभिड ब्रुकफिल्डको शव भेटिएको हो।
  • मौसम बिग्रँदा उनीहरू लडेको अनुमान गरी खोजी टोलीले शवहरू भेट्टाएको र घटनाले पहाडको जोखिम र सौन्दर्यलाई उजागर गरेको छ।

७ असार, काठमाडौं । वेल्सको एरिरी राष्ट्रिय निकुञ्जमा पदयात्रा गर्दै हराएका दुई व्यक्तिको शव १२ वर्षको अन्तरालपछि एउटै गहिरो भँगालोमा फेला परेको घटनाले पहाडको रहस्य र जोखिमपूर्ण सौन्दर्यलाई एकपटक फेरि उजागर गरेको छ।

३३ वर्षीय डाक्टर शेन कोलाको सन् २०१२ मा हराएका थिए । १२ वर्षसम्म कुनै पत्तो नलागेपछि २०२४ मे महिनामा एक महत्वपूर्ण सुराकीको आधारमा उनी डेभिड ब्रुकफिल्ड नामका अर्का हराएका ट्रेकरको शव नजिकै फेला परे।

६५ वर्षीय ब्रुकफिल्ड स्केल्मर्सडेल, ल्यान्काशायरका बासिन्दा थिए र २०२४ जनवरी ९ मा एक्लै यात्रा गरिरहेका बेला हराएका थिए।

ब्रुकफिल्डले अन्तिम पटक कर्नेड ल्लूएलिन शिखरबाट पत्नीलाई सन्देश पठाएका थिए। त्यसपछि सम्पर्कविहीन भएका उनले राम्रो मौसममा १५ किमिको यात्रा गर्ने योजना बनाएका थिए। तर मौसम बिग्रँदै गएपछि उनी पेन यर ओले वेनबाट तल झर्दै गर्दा एउटा भँगालोमा लडेका थिए भन्ने अनुमान गरिएको छ।

हिउँ पर्ने कठोर जाडो मौसममा धेरैपटक खोजी गर्दा पनि उनको पत्तो लागेन। चार महिना पछि, नियमित तालिमका क्रममा हेलिकप्टरबाट खोजी गरिरहेका तट सुरक्षा टोलीले नीलो रंगको चिज देखेपछि ब्रुकफिल्डको शव भेट्टाए।

त्यही समय, उद्धारका क्रममा स्वयंसेवकहरूले एउटा पुरानो ज्याकेट फेला पारे, जसको भित्री खल्तीमा एउटा गाडीको साँचो थियो। उक्त ज्याकेट शेन कोलाको हराएको दिन लगाएको ज्याकेटसँग मेल खाने देखियो।

उक्त साँचो फिएट सेसेन्टो कारको भएको पुष्टि भएपछि, पुरानो घटना स्मरण गर्दै उद्धार टोलीले कोलाकोको शव पनि केही मिटर तल फेला पारे।

प्रहरी सर्जन्ट पल टेरीका अनुसार, यो घटनाले स्वयंसेवकहरूको समर्पण र सम्झनशक्ति दुवैको सम्मान जनाउँछ। कोलाकोको खोजीमा संलग्न धेरै स्वयंसेवकहरू १२ वर्षपछि फेरि उद्धारमा सहभागी थिए। तीमध्ये एकजना वञ्चम्यान तत्कालीन आरएएफ स्क्वाड्रनबाट कोलाको खोजीमा थिए।

टेरीले बताएअनुसार, ‘शिखरबाट तल झर्दा देखिने सजिलो बाटो वास्तवमा खतरनाक भँगालो भएको हुनसक्छ, जसले उनीहरूलाई ज्यान गुमाउने स्थितिमा पुर्‍यायो।’

उनले एरिरीका पर्वतहरू सुन्दर भएपनि मौसम तीव्र गतिमा बदलिन सक्ने भएकाले यात्रुहरूलाई पूर्ण तयारीका साथ मात्र यात्रामा निस्किन आग्रह गरेका छन्।

-बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?