+
+
Shares
विश्व संगीत दिवस :

आज बजिरहेको संगीतको लुत्फ़ उठाऔं

उज्ज्वल सागर उज्ज्वल सागर
२०८२ असार ७ गते १३:२६

मानव जगतले केही पनि बोल्नुपूर्व, औजार चलाउनुपूर्व, सभ्यताको प्रारम्भमै कुनै एक साँझ आफ्नो धड्कनको चालसँगै गति मिलाएर केहि गुनगुनायो र यसरी चाल पायो संगीतको अस्तित्व । त्यो साँझ कुन मितिमा पर्छ ठ्याक्कै भन्न कसरी सकिएला र ? तर घनघोर वनमा मानवताको अभ्युदय हुँदै गर्दा, त्यो कुसुमाकरको कुनै पनि प्रहर हुनसक्छ ।

सुर र लय प्राचीन सभ्यताको आरम्भमै भेटिएको हुनुपर्छ, तब त सिर्जनाको यो क्रम झन् परिष्कृत र परिमार्जित हुँदै अद्यापी जारी छ । विश्व संगीत दिवसको यो पावन दिनमा हुन त संगीत गाउनुपर्ने हो, संगीत सुन्नुपर्ने हो या भनौं गीत लेख्नुपर्ने हो, तर पख्नुस् न ! केही (कुछ) बात मारिहालौं अनि अन्त्यमा एउटा गीत गाएर छुट्टिउँला । किनभने, ‘भेट्टिनु छुट्टिनु त के हो र संसारको रित हो।’

संगीत शब्दलाई भञ्जन गर्दा दुईवटा शब्द भेटिन्छ, एउटा गीत र अर्को सङ्गत । त्यही भएर हुनुपर्छ, शास्त्रकारहरूले सिंगो संगीतभित्र तीनवटा तत्व अटाएका छन्, गायन, वादन एवं नृत्य । यी तीनवटै विधामा एकअर्काको सङ्गतको ज्यादै महत्व छ। गायनका लागि वाद्य र नृत्य, वाद्यका लागि गायन र नृत्य अनि नृत्यका लागि गायन र वाद्यवादन कति अन्योन्याश्रित छन्, भनिरहनु परोइन ।

संगीत बजोस् अनि प्राणी आनन्दित नहोस्, शायदै यस्तो हुन्छ। मलाई लाग्छ संगीत झंकार हो, झंकारका बीच बीचमा खालीपन छ । र यीनै झंकृत शून्यताको आरोह अवरोह संगीत हुनुपर्छ ।

संगीत सुनेर विविध जीवजन्तु एवं चरा चर्मानुहरू आनन्दित भएको, झुमेको, तथा रूख बिरुवालाई संगीत सुनाउँदा त्यसको वृद्धि विकासमा कस्तो सकारात्मक प्रभाव परेको भन्ने खालका अनेक वैज्ञानिक अनुसन्धानहरूबारे यहाँहरू विदितै हुनुहुन्छ। त्यस्तै, कुन खालको संगीत सुन्दा कुन खाले रोगलाई निको पार्न सकिन्छ, कुन प्रकारका रागहरू सुन्दा कुन खाले दीर्घ रोगको असर कम गर्न सकिन्छ भन्ने खाले चिकित्सकीय अनुसन्धानबारे पनि पक्कै पढ्नुभएको छ ।

भनिन्छ, रोग छ त राग पनि छ । संगीत र साहित्य । एउटा सुन्दर संगीत रचना हुन त्यसमा उन्नत साहित्यको अत्यन्तै ठूलो भूमिका हुन्छ। अतः साहित्य लेख्ने र संगीत बनाउने दुवै इमान्दार हुनु जरुरी छ ।

साहित्यमा लय हुन्छ, शब्द हुन्छ, भाव हुन्छ, रस हुन्छ, अलङ्कार हुन्छ, प्रतीक हुन्छ, बिम्ब हुन्छ । त्यस्तै, संगीतमा सुर हुन्छ, लय हुन्छ, स्वर हुन्छ, भाव हुन्छ, रस हुन्छ, अलङ्कार हुन्छ । साहित्य, कलाकारको गलामा र मनमा, अनि संगीत, साहित्यकारको कलममा र मनमा हुन जरुरी छ। सङ्गीत र अध्यात्म । अध्यात्मको शाब्दिक अर्थ हुन्छ आफूतिर फर्किनु या आफूभित्र डुब्नु । संगीत सुन्दा होस् या गाउँदा मान्छे आफूभित्र डुबिरहेको हुन्छ, झुमिरहेको हुन्छ, हराइरहेको हुन्छ ।

संगीतको हरेक सुर र लय अध्यात्मले भरिएको छ । मलाई लाग्छ कुनै संगीत सिर्जना हुनुमा श्रष्टाको भूमिका त हुन्छ, तर श्रष्टाको मात्र भूमिका हुँदैन। कुनै दिन जत्ति कोसिस गर्दा पनि सिर्जना गर्न असमर्थ भइन्छ त कुनै दिन यसै अनायास अकारण नसोचेको चिज फुरेर आउँछ । मलाई लाग्छ, यही अकारण Randomness ले गर्दा संगीत र अध्यात्म परिपूरक छन् । किन यस्तो लाग्छ ? सायद यही अकारण Randomness का कारण हुनसक्छ ।

अन्त्यमा, समय क्रमसँगै संगीतमा नयाँ-नयाँ गायन विधाहरू थपिँदै जाँदै छन्। जसलाई श्रोताहरूले पनि सहर्श रुचाएको देखिन्छ। ‘श्रोता’ हामीले सदैव तृष्णा बोकेर नयाँ धुनको खोजीमा लालायीत भैरहँदा, ‘सर्जक’ हामीले सिर्जनालाई इमान्दार भएर न्याय दिन सक्नुपर्छ ।

नयाँ-नयाँ आयाम थपिंदै जानुले झन् झन् संगीतको उचाइ बढाएर लैजान्छ । संगीतको उचाइ कति हो ? त्यो गहिराइ नापिसकेपछि पक्कै बुझ्न सकिएला । अहिलेलाई, बजिरहेछ बाँसुरी, पिएर कृष्ण माधुरी सहस्र नाम निर्झरी, जपेर जिन्दगीभरी आज बाँसुरी बजिरहेको छ । तसर्थ बजिरहेको यस संगीतको लुत्फ़ उठाऔं, झुमौं र बिर्सिजाऔं केहि छिनलाई भए पनि ती सारा चिज जसलाई सम्झिनुले कुनै अर्थ राख्दैन ।

अब जाँदाजाँदै माथि भने बमोजिम हामी गोपाल योञ्जनज्यूको एक अन्तिम गीत गाउँदै आनन्दमा लीन हुन्छौं ।

गीत

चोरी ल्याएँ सागरबाट ।

आकाशको निलो गहिराइबाट ।

सुनी हेरें सबमा गीतको मुहान छ ।

यहाँ जिउँदोलाई सास फेर्न जहींतहीं हावा छ ।

मेरो गीत भन्ने अधिकार छैन ।

गीतको पो म हुँ ।

मेरो गीत हैन ।

आकाश जस्तो अमर गीत मेरा ।

म जस्तो दुई दिनको पाहुना हैन ।

मेरो गीत मेरै प्रतिबिम्ब हैन ।

जो टुटी जाने हैन ।

जो फुटिजाने हैन ।

आकाशजस्तो अमर गीत मेरा ।

म जस्तो दुई दिनको पाहुना हैन ।

मेरो गीत मेरै प्रतिबिम्ब हैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?