+
+
Shares

एक करोड बढीका अवैध गहनासहित पोखरामा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ७ गते १३:४१

७ असार, पोखरा । भारतबाट सुनका गरहगना अवैध रुपमा ल्याएर नेपाली बजारमा बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पोखरा बजारका विभिन्न सुनचाँदी पसलमा गरगहना बिक्री गर्न पुग्दा नबिकेपछि बुटवलमा बेच्ने योजनासहित जाँदै गर्दा कास्की प्रहरीले पोखरा–२२ पुम्दीबाट २ जनालाई पक्राउ गरेको हो ।

भारतबाटै तयार पारिएका गहना अवैध रुपमा नेपाल भित्र्याउने र पोखरा, बुटवलजस्ता सहरमा बिक्री गर्ने गरेका ४९ वर्षीय न्यू प्रताप नगर जिटी रोड अमृतसर–१ पञ्जाबका कुलदीप सिंह र तिलोत्तमा नगरपालिका–१६ पूर्वबहियाका ४७ वर्षीय रामबहादुर विक पक्राउ परेको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

दुवै जना चुनचाँदीका गरहगना बनाउने कालिगड हुन् । पञ्जापका सिंहले भारतमै सुनचाँदीका गहना बनाउने काम गर्थे भने विकले नेपालमा । विकले सिंहको सहयोगीका रुपमा नेपाली बजारमा सुन ल्याएर बिक्री गर्न सघाउने गरेका थिए ।

उनीहरुको साथबाट ८२ तोला बढी सुनचाँदीका गरहगना फेला परेका छन् । भारतीय नागरिक सिंह ३ वर्ष पहिलेदेखि नै विकसँग फेसबुकमा साथी रहेको पाइएको छ ।

‘दुवै जना सुनको काम गर्ने भएकाले उनीहरुले गहना ल्याएर नेपाली बजारमा बिक्री गर्ने सल्लाह गरेको पाइएको छ । कुलदीप पछिल्लो समयमा भारतमा युपि, गोरखपुर, बिहार, उडिसा, दिल्ली हरियाणालगायतका स्थानमा सुनका गरगहना बेच्दै हिँड्ने गर्ने रहेछन्’, कास्की प्रहरी प्रमुख ओलियाले भने, ‘नेपालका बिकलाई सहयोगी बनाएर यहाँका सहरमा बिक्री गर्ने योजना बनाएको देखिन्छ ।’

कुलदीपले नेपाल ल्याउने भारतको गरगहना अमृतसरमा रहेको अमरजित साहुको सुन पसलबाट लिने गरेको खुलेको छ ।

सिंह र बिक ४ गते पोखरा आएर गरगहना बिक्री गर्न पसल–पसल पुगेको प्रहरीको भनाइ छ । विक सुन बिक्री भएपश्चात केही रकम लिने सर्तमा बुटवलदेखि पोखरा आइपुगेको पाइएको एसपी ओलियाले जानकारी दिए ।

पत्थरबाहेक असार ६ गतेको बजार भाउ अनुसार एक करोड ३० लाख बराबरको सुनचाँदीका गरगहना फेला परेको एसपी ओलियाको भनाइ छ ।

दुबै जनालाई गरगहनासहित आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग काठमाडौं वा राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने उनले बताए ।

गरगहना बिक्री गर्न आएका उनीहरुलाई पक्राउ गर्न पोखराका सुनचाँदी व्यवसायीले पनि सहयोगी भूमिका खेलेको एसपी ओलियाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?