+
+
Shares

६१ किलो सुन तस्करी प्रकरण : अमला रोकाको मुद्दा हेर्दाहेर्दैमा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १७:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ८ असार काठमाडौंमा ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकाको मुद्दा थुनछेक बहसपछि राखिएको छ।
  • उनलाई धरौटी वा तारेखमा रिहा गर्न वा पुर्पक्षका लागि कारागार पठाउने निर्णय भोलि हुनेछ।
  • रोकाले बेल्जियम नागरिक दाबा छिरिङकी श्रीमती हुन् र सुन तस्करीमा संलग्नता रहेको आरोप छ।

८ असार, काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकाको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । योसँगै रोका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा फर्केकी छिन् । रोकाको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलासमा परेको थियो ।

सम्भवत भोलि सोमबार थुनछेक बहस सकिने बताइएको छ । बहस सकिएको अवस्थामा रोकालाई धरौटी तथा तारेखमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार पठाउनेमध्ये एक आदेश आउने छ ।

सीआईबीले गत शुक्रबार रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो । उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको थियो । उनी सुनकाण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङका श्रीमतीसमेत हुन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ ।

राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजस्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो । १९ दिनपछि थप अनुसन्धानका लागि भन्दै विभागले सीआईबीलाई फाइल बुझाएको थियो ।

अमला रोल्पाकी माओवादी नेतृ समेत हुन् । रोकासँग विवाह गरेपछि सुन तस्करीमा संलग्न दावा छिरिङले माओवादी नेताहरुसँग सम्बन्ध बनाएका थिए ।

रोकासहित तीन चिनियाँ नागरिकसँग हेलिकप्टरमा गोसाईंकुण्ड घुम्न गएको पाइएको पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनसमेत विवादमा मुछिएका थिए । उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन समितिले उनको समेत बयान लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?