
९ असार, काठमाडौं । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा गएराति भारी वर्षा भएको छ । गएराति लुम्बिनीको कपिलवस्तु जिल्लास्थित भगवानपुरमा सबैभन्दा धेरै १०६.८ मिलिमिटर वर्षा भएको छ । यो गत ६ घण्टाको वर्षा मापन हो ।
यसैगरी गण्डकीको गोरखास्थित गोरखा एग्रोमेट केन्द्रमा १०३ र बागमतीको चितवनस्थित चर्चरे केन्द्रमा १०१.४ मिलिमिटर वर्षा मापन भएको छ । चर्चरेमा आज बिहान एक घण्टायताको वर्षा पनि ४४.८ मिलिमिटर मापन भएको छ ।
चितवनको गोबिन्द बस्ती, दाङ देउखुरीको रङसिङ र लालमटियामा केन्द्रमा पनि भारी वर्षा भएको छ ।
यसैगरी झापाको दमक, रौतहटको रजुवा, सप्तरीको रुपनीबजार, नवलपरासीको देउराली, सुर्खेत विमानस्थल र सुर्खेतकै रातानाङ्ला स्टेसनमा पनि भारी वर्षा भएको छ ।
गएराति काठमाडौंमा हावाहुरीसहित मध्यम खालको वर्षा भएको थियो । वर्षाका कारण नदीको जलसतह बढेको थियो ।
काठमाडौंमा गएराति १२ घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मापन भएको थियो । विमानस्थलमा ६२ मिलिमिटर र कपनमा ६१.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ । यसैगरी बूढानीलकण्ठमा ४८ र बबरमहलमा ३८.६ मिलमिटर वर्षा मापन भएको छ ।
वर्षाका कारण काठमाडौंका बागमती, विष्णुमती र धोबीखोलामा बाढी आएको थियो । जल तथा मौसम विज्ञान विभागले गएराति नै एसएमएस पठाएर ती नदी किनारमा यात्रा नगर्न भनेको थियो ।
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागको केही स्थानहरूमा तथा बाँकी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ ।
प्रतिक्रिया 4