+
+
Shares
हिप्पी युग :

पश्चिमा देशका बिन्दास तन्नेरी : जो गाँजा, ध्यान र आनन्द खोज्दै काठमाडौं आउँथे

सापेक्ष सापेक्ष
२०८२ असार ९ गते २०:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिप्पीहरू १९६० देखि १९७० को दशकसम्म अमेरिकामा जन्मिएको सांस्कृतिक आन्दोलनका व्यक्तिहरू हुन्।
  • उनीहरूले परम्परागत मूल्यहरू अस्वीकार गरी शान्ति, प्रेम र स्वतन्त्रता जस्ता आदर्शहरू अँगाले।
  • आज हिप्पी आन्दोलन शिथिल भए पनि यसको प्रभाव संगीत, फेसन, र सामाजिक विचारधारामा बाँचेको छ।

खुला मन, उन्मुक्त आत्मा र परम्परागत बन्धनहरूबाट मुक्ति-यी शब्द हिप्पीहरूलाई जनाउने पर्यायवाची हुन् । संसारको एउटा भूगोलबाट उदाएको हिप्पी सांस्कृतिक लहर बन्दै विश्वभर फैलियो । एउटा विद्रोह बन्यो । जीवनशैली बन्यो । पहिचान बन्यो । जसले तत्कालीन समाजका जगहरूलाई मज्जैले हल्लाइदियो ।

नेपालमा समेत आइपुगेको उक्त लहर बेला-बेला चर्चामा आउँछ । अन्य ठाउँमा जस्तै उक्त लहरले हाम्रो सांस्कृतिक, साङ्गतिक, साहित्यिक क्षेत्रमा प्रभाव पारेको छ ।

को हुन् हिप्पी ?

सन् १९६० को दशकको मध्यदेखि १९७० को दशकको सुरुसम्म चलेको सांस्कृतिक आन्दोलनसँग सम्बन्धित व्यक्तिहरू हिप्पी हुन् । उक्त आन्दोलन मूलतः अमेरिकामा युवाहरूको विद्रोहको रूपमा सुरु भई विश्वका विभिन्न देशमा फैलिएको थियो । हिप्पीहरू परम्परागत मूल्यमान्यताहरू अस्वीकार गर्छन् । उनीहरू शान्ति, प्रेम र सामुदायिक जीवनजस्ता वैकल्पिक जीवनशैली अँगाल्ने कुराले संसारभर चिनिन्छन् । अझ भन्दा प्रायः फूलबुट्टे पहिरन, लामो कपाल र साइकेडेलिक लागूपदार्थले उनीहरूलाई चिनाउँछ ।

विश्वभर तहल्का मच्चाउने हिप्पी आन्दोलन तत्कालीन राजनीतिक-सामाजिक व्यवस्था, बढ्दो उपभोक्तावाद र आर्थिक असमानताविरुद्धको युवा पुस्ताको विद्रोहको परिणाम थियो ।

घुमन्ते जीवनले उनीहरू समाजबाट भाग्ने देखियो होला । तर उनीहरू आदर्शवान पनि थिए । हिप्पीहरूको मुख्य आदर्शमा शान्ति, प्रेम, व्यक्तिगत स्वतन्त्रता, प्रकृतिसँगको गहिरो सम्बन्ध जस्ता विषय थिए । ‘मेक लभ नट वार’ (युद्ध होइन, प्रेम गर) जस्ता नाराहरूलाई विश्वव्यापी बनाउन उनीहरूकै भूमिका छ ।

हिप्पी आन्दोलनको जन्म

सन् १९६५ मा अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्कोको हाइट एशबरी जिल्लामा हिप्पी आन्दोलनको औपचारिक जन्म भएको थियो । सो समयमा त्यस क्षेत्रमा कोठा भाडा सस्तो थियो ।

अनि बोहेमियन जीवनशैली (परम्परागत तरिकाको विरोध गर्दै स्वतन्त्र, सिर्जनशील र कलात्मक तरिकाले बाँच्ने जीवन पद्धति) को प्रभाव विस्तारै बढिरहेको थियो । जसले गर्दा विभिन्न ठाउँका युवाहरू हाइट एशबरीमा जम्मा हुन थालिसकेका थिए ।

सन् १९६६ को मध्यसम्ममा त्यस इलाकामा बुटिक, हेड शप (लागू पदार्थ र यस सम्बन्धी सामग्री बेच्ने पसलहरू) र रंगीन क्याफेहरूले भरिभराउ भइसकेको थियो । जुन पछि हिप्पीहरूको आधार इलाका नै बन्यो ।

त्यहाँ जम्मा भएकाहरू विशेषत सन् १९४० र ५० को दशकका ‘बीट जेनेरेसन’ बाट प्रभावित थिए । तिनमा ज्याक केरोआक र एलेन गिन्सबर्ग जस्ता लेखकहरू प्रमुख थिए । बीट जेनेरेसन पनि एक प्रकारको साहित्यिक, सांस्कृतिक र दार्शनिक आन्दोलन थियो ।

यसले पनि परम्परागत अमेरिकी जीवनशैलीको विरोध गर्दै स्वतन्त्रता, आध्यात्मिक खोज जस्ता विषयलाई प्राथमिकता दिएको थियो । यसैगरी बीट जेनेरेसनका लेखनहरूले हिप्पीहरूको यौन र प्रेमसम्बन्धी विचारहरूलाई गहिरो गरी प्रभावित गर्‍यो । जसले उनीहरूलाई यौनमा खुला हुन र अपराधबोध वा इर्ष्याबिना प्रयोग गर्न प्रेरित गर्‍यो ।

हिप्पीहरू मुख्यतया मध्यम-वर्गीय गोरा युवायुवती थिए । उनीहरू जीवनको ‘सामान्य’ मापदण्ड अनुसार चल्न इन्कार गर्थे । यसरी नै हिप्पी आन्दोलन पहिलेका सांस्कृतिक अभिव्यक्तिहरूको विरोध गर्दै विकास भएको थियो ।

तर हिप्पी आन्दोलन उदाउनुमा प्रमुख पृष्ठभूमि ६० को दशकको सामाजिक र राजनीतिक उथलपुथल नै थियो । हिप्पीहरू भियतनाम युद्धमा अमेरिकी संलग्नताको विरोधमा थिए । यद्यपि उनीहरू प्रत्यक्ष रूपमा राजनीतिमा संलग्न थिएनन् ।

उनीहरूको त्यस्तो शैलीमा विस्तारै स्वतन्त्र युवाहरू बढिरहँदा सन् १९६७ को ‘समर अफ लभ’ आयोजना भयो । यो एउटा ठूलो जमघट थियो । जसमा हजारौं युवायुवतीहरू प्रेम, शान्ति, स्वतन्त्रता र सांस्कृतिक विद्रोहको भावना लिएर जम्मा भएका थिए । सो भेला ऐतिहासिक बन्न गयो, किनकि त्यसैले हिप्पी जीवनशैलीलाई अमेरिकाभर फैलाउन सहयोग गरेको थियो ।

त्यसमाथि उक्त कार्यक्रमलाई राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि राम्रै स्थान दिएका थिए । जसको प्रभाव धेरै देखियो । त्यसपछि युवाहरूले विद्यालय छाड्ने, गाँजा सेवन गर्ने, खुला प्रेम गर्ने, रंगीन कपडा लगाउने र लामो कपाल पाल्ने प्रवृत्ति ह्वात्तै बढ्यो ।

हिप्पी जीवनशैली

एक त उनीहरू परम्परागत सामाजिक मापदण्डविरुद्ध थिए । अर्को, उनीहरू आफैंले नयाँ संस्कार विकास गरिरहेका थिए । यसकारण हिप्पी जीवनशैलीलाई हामीले पहिरन, सामूहिक जीवन, खुला यौन, लागुऔषध आदिका आधारमा हेर्नुपर्ने हुन्छ ।

हिप्पीहरूले लामो तर नमिलाइएको कपाल पाल्थे । पुरुषहरूले दाह्री राख्थे । महिलाहरूले सकेसम्म कम वा कुनै मेकअप लगाउँदैनथे । धेरैले ब्रा लगाउँदैनथे । उनीहरूले स्यान्डल, मोकासिन लगाउँथे । कोही त खाली खुट्टा नै हिँड्थे ।

उनीहरूले बेल बटम पाइन्ट, भेस्ट, टाई-डाई(बहुरंगी सर्ट), डासिकी( खुल्ला रंगीन कुर्ता) ‍जस्ता अनौठा शैलीका रंगीन कपडाहरू लगाउथे । उनीहरूले कपडाहरूमा कर्पोरेट संस्कृतिलाई चुनौती दिएर फ्ली मार्केट अथवा सेकेन्ड-ह्यान्ड पसलहरूबाट कपडाहरू खरिद गर्ने गर्थे ।

हेड स्कार्फ, हेडब्यान्ड, जोन लेनन शैलीका गोलाकार चश्मा, हिप्पीहरूबीचमा चर्चित थियो । यस्तो चयनको कारण मूलधाराका मापदण्डहरूको जानाजानी अस्वीकार र विरोध थियो ।

हिप्पीहरू प्रायः आफ्नै समुदाय सिर्जना गर्थे । उनीहरू जमिनमा निर्भर भएर बाँच्न, सामूहिक प्रयासको श्रम र फलहरू बाँड्नमा जोड दिन्थे । क्यालिफोर्नियाको बर्कलेमा पिपल्स पार्कको निर्माण र टेनेसीको द फार्म यसकै ‍उदाहरण हो ।

उनीहरूले ‘फ्री लभ’ (खुला प्रेम)को अवधारणालाई अँगालेका थिए । यसले परम्परागत विवाह र यौनको धारणालाई चुनौती दिन्थ्यो । ‘यदि राम्रो लाग्छ त गर!’ (इट इट फिल्स गुड, डु इट) जस्ता नारा हिप्पीको मुखमै झुन्डिएका हुन्थे ।

तर उनीहरू गाँजा र एलएसडी जस्ता लागूपदार्थको प्रयोग पनि गर्थे । ती लागूपदार्थको सेवन गर्दा चेतना विस्तार हुने उनीहरूमा विश्वास थियो । यद्यपि हिप्पीहरू प्रायः शाकाहारी र पर्यावरणमैत्री थिए । प्रशोधन नगरिएका खानेकुरा खान, प्रकृतिसँग गहिरो सम्बन्ध राख्न र दिगो जीवनशैलीको वकालतमा उनीहरू अघि नै थिए ।

 

संगीत र यात्रा

हिप्पीको इतिहासमा संगीत छुट्नु अन्याय जस्तै हुन्छ । किनकि आफ्नो आदर्शलाई आकार दिन र यसको प्रभाव फैलाउन उनीहरूका लागि संगीत विशेष छ । उनीहरूको प्रभावमा फोक र ब्लूजबाट साइकेडेलिक रक विधा विकास भएको थियो । ग्रेटफुल डेड, जेफर्सन एयरप्लेन, बिग ब्रदर एन्ड द होल्डिङ कम्पनी जस्ता ब्यान्डहरू साइकेडेलिक रकका महत्त्वपूर्ण योगदानताकर्ता थिए ।

प्राय: सार्वजनिक भेलाहरूमा हिप्पीहरू संगीतको विशेष प्रयोग गर्थे । कहिले विरोध प्रदर्शन गर्न त कहिले जीवनको उत्सव मनाउन, संगीत उनीहरूका लागि बहाना भइरहन्थ्यो । ट्रिप्स फेस्टिभल, मोन्टरे पप फेस्टिभल, अल्टामन्ट फ्री कन्सर्ट, आइल अफ वाइट फेस्टिभल केही प्रख्यात हिप्पीकालीन संगीत महोत्सवहरू हुन् ।

हिप्पीसँग हामीले अर्को छुटाउनै नहुने विषय हो, यात्रा । त्यसमा पनि हिप्पी ट्रेल । १९५० को अन्त्यदेखि १९७० को दशकसम्म पश्चिमी मुलुकका हिप्पीहरूले पूर्वतिर यात्रा गर्ने गरेको एक प्रसिद्ध यात्रापथ नै हिप्पी ट्रेल हो ।

उक्त यात्रा आध्यात्मिक खोज, पूर्वीय दर्शन, स्वतन्त्रता, नशा, संगीत, साधनाका लागि गरिएको बताइन्छ । यसमा उनीहरू युरोपबाट इस्तानबुल हुँदै मध्य टर्की, इरान, अफगानिस्तान, पाकिस्तान हुँदै भारतसम्म बस र रेलमा यात्रा गर्थे ।

त्यसपछि कतिपय हिप्पीहरू काठमाडौंतिर पनि लाग्थे । सो समयमा हिप्पीहरूका लागि काठमाडौं एक आकर्षक केन्द्र बनेको थियो । कारण गाँजा र चरेसको विक्री वैध हुनु थियो ।

विश्वव्यापी प्रभाव

हिप्पी आन्दोलन अमेरिकामा सुरु भएता पनि यसको प्रभाव विश्वभर फैलिएको छ । तिनमा युरोप, अष्ट्रेलिया, क्यानडा, न्यूजिल्याण्ड, जापान, मेक्सिको, ब्राजिल जस्ता देशहरू प्रमुख हुन् ।

विशेषत: उनीहरूले विश्वभर सांस्कृतिक, सांगीतिक, सामाजिक र राजनीतिक प्रभाव पार्न सफल भए । संगीत र फेसनको प्रभाव त हामीले माथि नै चर्चा गरेका छौं । राजनीतिक प्रभावको कुरा गर्दा उनीहरूले युद्धविरोधी आन्दोलनहरू (विशेष गरी भियतनाम युद्धविरुद्ध), महिला अधिकार, समलैङ्गिक अधिकार र पर्यावरण संरक्षणका विषयलाई प्राथमिकतामा ल्याएका हुन् । यी विषयहरू पछि सामाजिक, राजनीतिक बहसमा नै प्रवेश गरे ।

त्यस्तै उनीहरूले अध्यात्म र पूर्वी दर्शनलाई विश्वव्यापी रूपमा चर्चामा ल्याए । भारत, नेपाल, तिब्बत जस्ता देशहरूमा पुगेर उनीहरूले योग, ध्यान, बौद्ध र हिन्दु दर्शनमा गहिरो चासो देखाए । जसले पश्चिमी देशहरूमा पनि ध्यान, आयुर्वेद, योग जस्ता विचारप्रणालीको लोकप्रियता बढायो । त्यसको नतिजा त आज हामीसामु छँदैछ ।

तर अचम्म लाग्दो गरी उनीहरूको प्रभाव प्रविधि विकाससम्म पनि पुग्छ । किनकि स्टिभ जब्स जस्ता प्रविधिका हस्ती पनि हिप्पी संस्कृति र यसका मूल्यमान्यताबाट प्रभावित थिए।

हिप्पीको वर्तमान अवस्था

तर त्यस्तो गौरवमय इतिहास भएको हिप्पी आन्दोलन आज शिथिल छ । त्यो शिथिलता ७० को दशकको मध्यबाटै देखिन थालेको थियो । त्यसका अनेकन् कारण थिए । यद्यपि आन्दोलनको आत्मा बोकेका धेरै युवाहरू बिस्तारै वयस्क जीवनतर्फ लाग्नु, आन्दोलनभित्रै अराजकता र दिशाहीनता देखिनु मुख्य कारण थिए ।

जब आन्दोलनमा लाग्नेहरू नशाको अत्यधिक प्रयोगमा डुब्न थाले, त्यहाँबाट आध्यात्मिक खोजभन्दा बढी आत्मविनाशको रूप देखिन थालिसकेको थियो । जसलाई हेरेर कतिपय समाजले हिप्पीहरूलाई काम नगर्ने, अव्यवस्थित र छाडा जस्ता नकारात्मक नजरले हेर्न थालेका थिए । त्यसले उनीहरूको सामाजिक छवि र समर्थनलाई घटाइदिएको थियो ।

त्यस्तै ७० को दशकमा भएको अन्तर्राष्ट्रिय राजनीतिक परिवर्तन पनि प्रमुख कारण थियो । किनकि इरान, अफगानिस्तान सहित दक्षिण एसियाली मुलुकहरूले हिप्पी ट्रेलमा कडाइ गर्दै लगिरहेका थिए । त्यसमथि नेपाल सहित हिप्पीको स्वर्ग मानिने मुलुकमा गाँजामाथि प्रतिबन्ध लाग्दै गइरहेको थियो ।

अनि त क्रमश: हिप्पी आन्दोलन धरमरायो । र, अन्त्य हुने अवस्थामा पुग्यो । यद्यपि हिप्पी आन्दोलनको चेतना अझै पनि गीत/संगीत, फेसन, लेखन जस्तामाध्यममा बाँचेको छ । अनि मुख्य कुरो त, हिप्पीहरूको विरासतले हामीलाई सधैं प्रश्न गर्न, वैकल्पिक मार्ग खोज्न, शान्ति, प्रेम र समुदायको मूल्यलाई अँगाल्न प्रेरित गरिरहेको छ ।

लेखक
सापेक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?