+

केम्पो खेलाडी, प्रशिक्षक र रेफ्री तालिम सम्पन्न

२०८२ असार  ९ गते १५:५५ २०८२ असार ९ गते १५:५५
केम्पो खेलाडी, प्रशिक्षक र रेफ्री तालिम सम्पन्न

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेशले दुई दिने केम्पो खेलकुद तालिम सम्पन्न गरी खेलाडी, प्रशिक्षक र रेफ्रीहरूको कौशल विकास गर्यो।
  • मन्त्री मीनकृष्ण महर्जनले विश्वस्तरीय केम्पोको प्रगति र नेपालको उदयको प्रशंसा गरे र २०२६ को टर्की विश्व च्याम्पियनसिपमा नेपाली टोलीलाई सहभागी गराउने बताए।
  • नेपालले पोर्चुगलमा सम्पन्न विश्व च्याम्पियनसिपमा पाँच स्वर्ण र दुई रजत पदक जितेको थियो र अन्जना शाहीलाई सम्मान गरिएको थियो।

९ असार, काठमाडौं । मार्सल आर्ट्सको विधा केम्पोको खेल कौशल विकास गर्ने उद्देश्यले खेलाडी, प्रशिक्षक तथा रेफ्री तालिम सम्पन्न भएको छ ।

बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय, नेपाल केम्पो खुकुरी फेडेरेसन (एकेकेएफ) र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा दुई दिने केम्पो खेलाडी प्रशिक्षक तथा रेफ्री तालिम सम्पन्न भएको हो ।

ललितपुरको हात्तीवनमा एक सय ५० भन्दा बढी खेलाडी, प्रशिक्षक र रेफ्रीहरूले उक्त प्रशिक्षणमा सहभागी भएका थिए । ‘मार्सल आर्ट्स मास्टरी, केम्पो लेगेसी’ भन्ने नारा अनुरूप खेलाडीहरूको प्राविधिक क्षमता, प्रशिक्षकहरूको शिक्षण विधि र रेफ्रीहरूको निर्णय कौशल विकास गर्ने लक्ष्य साथ प्रशिक्षण कार्यक्रम राखिएको हो ।

उक्त तालिममा प्रशिक्षकहरू अन्जना शाही, ईन्द्र चित्रकार र राम क्षेत्रीलगायतले प्रशिक्षण दिएका थिए । सो अवसरमा बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले विश्वस्तरीय केम्पोको प्रगति र नेपालमा यसको उदयको प्रशंसा गर्दै प्रदेशले खेलकुद क्षेत्रमा गरेका उल्लेखनीय उपलब्धिहरू बारे व्याख्या गरे ।

उनले टर्कीमा हुने विश्व केम्पो च्याम्पियनसिप २०२६ का लागि नेपाली टोलीलाई सक्दो गर्ने बताए । उनले केम्पो खेल अहिले सुरुआत चरणमा रहे पनि यसले विश्वमा नेपालको गौरव बढाइ रहेको बताए । त्यसैले यस खेल विकासमा प्रदेशले प्राथमिकतामा राख्ने मन्त्री महर्जनले बताए ।

बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव दीपक लामाले नेपाली केम्पोलाई निरन्तर सहयोग गरिने प्रतिबद्धता जनाए ।

केही महिनाअगाडि पोर्चुगलमा सम्पन्न विश्व च्याम्पियनसिपमा नेपालले पाँच स्वर्ण र दुई रजत पदक प्राप्त गरेका थिए । सोही विश्व केम्पो च्याम्पियनसिपका विजेता अन्जना शाहीलाई सो कार्यक्रमका अवसरमा सम्मान गरिएको थियो ।

उक्त च्याम्पियनसिपमा अन्जना शाहीले विभिन्न विधामा एक रजत र दुई कांस्य पदक जितेकी थिइन् । विपेश थापाले चार पदक जितेका थिए ।

मार्सल आर्ट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय