+

क्यानको कार्यशैलीप्रति ८ बोर्ड सदस्यको असन्तुष्टि, अध्यक्ष भन्छन्- सुझावको रूपमा लिएका छौं

२०८२ असार  ११ गते १३:३९ २०८२ असार ११ गते १३:३९
क्यानको कार्यशैलीप्रति ८ बोर्ड सदस्यको असन्तुष्टि, अध्यक्ष भन्छन्- सुझावको रूपमा लिएका छौं

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघका आठ बोर्ड सदस्यले अध्यक्ष चतुरबहादुर चन्दलाई ध्यानाकर्षण पत्र बुझाए।
  • उनीहरूले निर्णय प्रक्रियामा पारदर्शिता र संस्थागत प्रक्रिया नअपनाएको आरोप लगाए।
  • पत्रमा भनिएको छ, 'क्यान कुनै एक वा दुई जनाको संस्था होइन' र निर्णयमा पारदर्शिता आवश्यक छ।

११ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशनसिंहसहित आठ बोर्ड सदस्यले क्यानको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै अध्यक्ष चतुरबहादुर चन्दलाई संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएका छन्।

ध्यानाकर्षण पत्रमा उनीहरूले हालको नेतृत्वद्वारा लिइएका निर्णयहरूमा पारदर्शिता र संस्थागत प्रक्रिया नअपनाइएको, एकल व्यक्ति केन्द्रित निर्णय प्रवृत्ति मौलाएको र सामूहिक निर्णय प्रक्रियाको बेवास्ता गरिएको आरोप लगाएका छन्।

उपाध्यक्ष सिंहसहित दुर्गाराज पाठक, प्रदीप मजगैंया, बिक्रम विष्ट, माधव कर्माचार्य, विरेन्द्र चन्द, अर्जुन पौडेल र जयन्ती भट्टले हस्ताक्षर गरेको पत्रमा नेपालको क्रिकेट विकासमा क्यानको प्रयासलाई सकारात्मक ठहर गरिए पनि ती प्रयासहरू व्यक्तिगत स्वार्थबाट प्रभावित भएको दाबी गरिएको छ।

यसबारेमा क्यानका अध्यक्ष चन्दले भने यी कुराहरूलाई सुझावका रूपमा लिएको बताए । ‘उहाँहरूले गुनासो अनि सुझावकै रूपमा पठाउनुभएको हो, अलिकति केही समस्या देखिएको होला, आगामी दिनमा हामी यस्ता कमजोरी सुधार्छौं’ उनले अनलाइनखबरसँग भने ।

पत्रमा नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजन गर्ने तयारी भइरहेपनि पहिलो संस्करणको आर्थिक विवरण अझै बोर्डले प्राप्त नगरेको र त्यो हिसाबकिताब क्यान बोर्डबाट अनुमोदनसमेत नभएको उल्लेख गरिएको छ।

अध्यक्ष चन्दका अनुसार यसबारेमा अघिल्लो बोर्ड मिटिङमा नै छलफल भएर चाँडो सार्वजनिक गर्ने सहमति भएको थियो ।

यस्तै, वेस्ट इन्डिज र नेपालको यूएईमा प्रस्तावित सिरिजसम्बन्धी जानकारी मिडियामार्फत मात्र थाहा पाइएको भन्दै बोर्डलाई बेवास्ता गरिएको गुनासो पनि पत्रमा गरिएको छ।

‘क्यान कुनै एक वा दुई जनाको संस्था होइन’ पत्रमा उल्लेख छ, ‘संस्था विधि, विधान र विनियमले निर्धारण गरेको प्रक्रिया अनुसार चल्नुपर्ने हो। तर हाल देखिएको एकल निर्णय प्रणालीले संस्था अपारदर्शी बन्दै गएको छ।’

यसबारेमा भने चन्दले उक्त विषयबारे वेस्ट इन्डिज बोर्डले नै अलि गोप्य राख्ने आग्रह गरेको बताए । ‘वेस्ट इन्डिज बोर्डले नै सार्वजनिक गर्नुअघि गोप्य राख्नु भनेको भएर उहाँहरूलाई पछि थाहा भयो’ उनले भने ।

पत्रमा बोर्ड सदस्यहरूसँग छलफल नगरी महत्त्वपूर्ण निर्णयहरू गरिनु विधि विधानको उल्लंघन भएको बताइएको छ। साथै, यस प्रकारको व्यवहार जारी रहेमा भविष्यमा उत्पन्न हुने जटिल परिस्थितिको जिम्मेवारी आफूहरूले नलिने चेतावनीसमेत दिइएको छ।

उक्त पत्रलाई असहयोग वा पूर्वाग्रही कदमको रूपमा नभई संस्थालाई मजबुत बनाउने र पारदर्शीता अभिवृद्धि गर्ने प्रयासको रूपमा हेर्न पनि आग्रह गरिएको छ।

पत्रमा एक-दुई व्यक्ति भनेर उल्लेख गरिएकोबारे बुझ्न खोज्दा बोर्ड सदस्यहरूसँग सम्पर्क हुन सकेको छैन । पत्रमा लगाइएको आरोप सचिव पारस खड्कातर्फ इंगित भएको कुरा बाहिर आइरहेका छन् तर यसलाई आधिकारिक रूपमा पुष्टि गर्ने आधार भने छैन ।

सचिव खड्का भने हाल देशबाहिर छन् । उनी व्यक्तिगत कामका लागि बाहिर रहेको अध्यक्ष चन्दले बताए ।

नेपाल क्रिकेट संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय