
टेस्ला, एक्स तथा स्पेस एक्स लगायतका कम्पनीका मालिक रहेका अर्बपति एलन मस्क र च्याट जिपिटी निर्माता कम्पनीबीच चलिरहेको कानुनी लडाइँमा हालै एउटा रोचक तथा विवादास्पद मोड आएको छ।
एलन मस्कका वकिलले मुद्दा चलिरहेको अदालतमा यस्तो दाबी गरेका छन् कि मस्कले कम्प्युटर नै प्रयोग गर्दैनन्।
समाचार साइट वियर्डले सार्वजनिक गरेको तथ्य अनुसार ओपन एआईको आरोपको जवाफमा मस्कको तर्फबाट बुझाइएको प्रतिउत्तरमा यस्तो दाबी गरिएको छ।
ओपन एआई कम्पनीले एलन मस्क र उनको एआई स्टार्टअप कम्पनी एक्स एआईले अनुसन्धानसम्बन्धी आवश्यक जानकारीहरु अदालतमा नदिएको आरोप लगाएको थियो।
मस्कका पोस्टहरूले खोले रहस्य
तथापि मस्कले कम्प्युटर नै नचलाउने भनी अदालतमा पेस गरिएको कागजातमा मस्कका तर्फबाट उनका वकिलले गरेको दाबीलाई मस्कका यसअघिका सामाजिक सञ्जाल पोष्टहरुले मिथ्या साबित गरिदिएका छन् ।
एलन मस्कले आफ्नो सोसल मिडिया प्लाटफर्म एक्समा यसअघि पटक-पटक आफ्नै ल्यापटपको बारेमा उल्लेख गरेका छन् । सन् २०२४ को डिसेम्बरमा मस्कले एउटा तस्वीर पोस्ट गरेका थिए जसमा उनी स्टारलिंकको उडान स्ट्रिमिङ क्षमताको परीक्षण गर्दै Diablo गेम खेलिरहेका देखिन्छन्। उक्त तस्वीरमा उनले चलाएको ल्यापटपको डोजक्वाइन सूचक ठूलो स्टीकर थियो, जुन एकजना जर्मन प्रसंसकले उनलाई दिएका थिए।
गत १ जुनमा मस्कले पुनः सोही पुरानो ल्यापटपप्रति प्रेम दर्शाउँदै एक्समा लेखेका थिएः अझै पनि आफ्नो पुरानो पिसी ल्यापटप प्रयोग गरिरहेको छु, जसमा @DOGE स्टिकर छ, जुन एकजना फ्यानले धेरै पहिला बनाएका थिए।
मस्कका फ्यानहरुका अनुसार उनले चलाउने उक्त ल्यापटप Gigabyte Aero मोडेलको हो । यो ल्यापटप गेमिङ पारखीहरुका माझमा लोकप्रिय छ। यसबाट प्रस्ट हुन्छ कि मस्कले निजी वा व्यवसायिक प्रयोजनका लागि कहिलेकाहीँ कम्प्युटर प्रयोग गर्छन्।
नयाँ ल्यापटप खरिद र माइक्रोसफ्टको आलोचना
सन् २०२४ को फेब्रुअरीमा मस्कले आफूले नयाँ ल्यापटप किनेको बारेमा एक्समा एउटा पोस्ट गरेका थिए । उनले त्यसबेला माइक्रोसफ्टको सेटअप प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै भनेका थिए-यो निकै झन्झटिलो छ । के अरूले पनि यस्तै समस्या भोगिरहेका हुन् त ?
भोलिपल्टै उनले माइक्रोसफ्ट कम्पनीका सिइओ सत्य नाडेला लाई ट्याग गर्दै पोस्ट गरे अनि ल्यापटपमा विन्डोज सेटअपको क्रममा माइक्रोसफ्ट अकाउन्ट बिना पनि प्रयोग गर्ने विकल्प पुनः उपलब्ध गराउन अनुरोध गरे।
शंकाको घेरामा मस्कका वकिलको दाबी
मस्कका यावत् अभिव्यक्ति तथा सामाजिक सञ्जालका सार्वजनिक पोस्टहरूको पृष्ठभूमिमा उनले कम्प्युटर प्रयोग गर्दैनन् भनी मस्कका वकिलले अदालतमा गरेको दाबी अहिले गम्भीर शंकाको घेरामा परेको छ ।
ओपन एआई कम्पनीले अदालतमा मस्कसँग केही दस्तावेज र फाइलहरूको माग गरेको समयमा मस्कका वकिलको त्यस्तो अभिव्यक्ति आउनुले झनै प्रश्न उठाएको छ। ओपन एआईले मस्कसँग माग गरेका दस्ताबेजहरु सम्भवतः कम्प्युटरमा तयार पारिएका ईमेल वा फाइलहरूसँग सम्बन्धित भएको हुनाले मस्कका वकिलले त्यस्तो जिकिर गरेको हुनसक्ने बताइएको छ ।
ओपन एआईको तर्फबाट माग गरिएको विषयमा दिएको जवाफमा मस्कका वकिलले भनेका थिएः हामीले एलन मस्कका फोन र ईमेलहरू जाँच गरेका छौं । तर, यसमा कम्प्युटरको जाँच गर्नु आवश्यक देखिएन, किनभने मस्कले कम्प्युटर नै प्रयोग गर्दैनन्।
मुद्दा के हो ?
स्मरण रहोस् ओपन एआई, त्यसका सीईओ साम अल्टम्यान र माइक्रोसफ्टविरुद्ध मुद्दा दर्ता गर्दै एलन मस्कले ओपन एआई आफ्नो गैर-नाफामुखी मूल मिशनबाट च्यूत भएर मुनाफा कमाउने कम्पनीमा रूपान्तरित भएको र माइक्रोसफ्ट जस्ता ठूला व्यापारिक स्वार्थहरु द्वारा प्रभावित भएको आरोप लगाएका छन् । त्यहीँ मुद्दाको सुनुवाइका सिलसिलामा ओपन एआई मस्कसँग सम्बन्धित विभिन्न दस्ताबेज तथा रेकर्डहरु माग गरेको थियो ।
प्रतिक्रिया 4