News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा एन्टी डोपिङको विषयमा चर्चा र सचेतना कम रहेको छ । सम्मेलनमा नेपालको ऐतिहासिक सहभागिता र सुधारको आवश्यकता औंल्याइयो ।
- नेपालले एन्टी डोपिङ सम्बन्धी कानुन र नीति बनाउन आवश्यक रहेको र जागरूकता अभाव रहेको बताइन्छ ।
- विश्वस्तरमा स्वच्छ खेलकुदको लागि नेपालले कानुनी र प्राविधिक सुधार गर्नुपर्ने आवश्यकता छ ।
१२ असार, काठमाडौं । विश्व खेलकुदमा एन्टी डोपिङको चर्चा धेरै भएपनि नेपालमा भने एन्टी डोपिङ बारे खासै धेरै चर्चा सुनिँदैन । नेपाली खेलाडी पनि डोपिङ परिक्षणमा असफल भइसकेका उदाहरण सार्वजनिक भइसकेपनि नेपालका सम्बनिधत निकायहरुले एन्टी डोपिङलाई अझै पनि गम्भिर (सिरियस) रुपमा लिन सकेका छैनन् ।
विश्व खेलकुदमा अहिले ‘क्लिन स्पोर्ट्स’ भन्ने टर्म चर्चित रहेपनि नेपालमा भने एन्टी डोपिङको विषयमा न कुनै बहस भएको न त धेरै खेलकर्मीहरुलाई नै यसबारे जानकारी छ ।
पछिल्लो समय एन्टी डोपिङको विषयमा धेरथोर चर्चा सुनि थालेको छ । तर यसमा विषय विज्ञता हासिल गरेका व्यक्तिहरु निकै थोरै छन् ।
के हो एन्टी डोपिङ ? भन्ने बुझ्नुअघि सुरुमा डोपिङ के हो बुझ्नु जरुरी छ ।
सामान्य भाषामा भन्दा डोपिङ भनेको खेलाडीहरुले प्रदर्शन राम्रो बनाउनका लागि प्रतिबन्धित औषधी र विधीको प्रयोग गर्नु हो । कुनै पनि खेलका खेलाडीले जानेर वा नजानेर त्यस्ता औषधीको प्रयोग गर्छन् । एन्टी डोपिङ भनेको यसको ठिक उल्टो हो ।
एन्टी डोपिङ भनेको खेलकुदमा प्रतिवन्धित औषधि वा पदार्थको प्रयोगलाई रोक्ने प्रक्रिया भन्ने बुझिन्छ । यसको मुख्य उद्देश्य स्वच्छ, निष्पक्ष र स्वास्थ्यमैत्री प्रतिस्पर्धा सुनिश्चित गर्नु हो ।
खेलाडीहरुले शारीरिक क्षमता बढाएर आफ्नो प्रदर्शनलाई राम्रो वा असामान्य किसिमले उत्कृष्ट बनाउनका लागि (प्रतिबन्धित) औषधी प्रयोग गर्न थालेपछि अन्तर्राष्ट्रिय स्तरमै एन्टी डोपिङको अवधारणा सुरु गरिएको हो ।
खेलकुदलाई स्वच्छ राख्ने उदेश्य स्वरुपमा आइओसीको सक्रिएतामा सन् १९९९ मा वर्ल्ड एन्टी डोपिङ एजेन्सी (वाडा)को स्थापना भयो ।
वाडाको क्षेत्रिय रुपमा रिजनल एन्टी डोपिङ अर्गनाइजेसन (राडो) र सम्बन्धित राष्ट्रहरुमा नेसनल एन्टी डोपिङ अर्जनाइजेसन (नाडो)ले काम गरिरहेका हुन्छन् ।
वाडाले युनेस्कोद्वारा जारी खेलकुदमा डोपिङ विरुद्धको अन्तर्राष्ट्रिय अभिसन्धीको मान्यतामा रहेर आफ्नो कामहरु गर्दै आएको छ ।
नेपालको संसदले सन् २०१० मा युनेस्कोको खेलकुदमा प्रतिवन्धित औषधीको प्रयोग विरुद्ध कन्भेनस (युनेस्को इन्टरनेशनल कन्भेन्सन एगेन्स्ट डोपिङ इन स्पोर्ट्स) पारित गरेपछि नेपाल यसको पक्ष राष्ट्र बनेको हो ।
त्यसको डेढ दशक भइसक्दा समेत एन्टी डोपिङ क्षेत्रमा नेपालमा उल्लेख्य काम भने हुन सकेको छैन ।
खेलकुदमा एन्टी डोपिङबारे सम्मेलनमा ऐतिहासिक उपस्थिति
युएईको दुबईमा भर्खरै भएको ‘खेलकुदमा एन्टी डोपिङ’बारे सम्मेलनमा नेपालले ऐतिहासिक उपस्थिति जनायो । २०औं एसिया-ओसियाना अन्तरसरकारी मन्त्रीस्तरीय सम्मेलनमा नेपालले इतिहासकै पहिलो पटक मन्त्रीस्तरीय तहमा उपस्थिति जनाएको थियो । उक्त सम्मेलनमा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले भाग लिए ।
मन्त्री तेजुलाल चौधरीसँगै नेसनल एन्टी डोपिङ एजेन्सी (नाडा) नेपालका संयोजक डा असिम भण्डारीले नेपालको प्रतिनिधित्व गर्दै उक्त सम्मेलनमा सहभागिता जनाएका थिए । विश्व खेलकुदमा डोपिङविरुद्धको साझा प्रतिबद्धतालाई मजबुत बनाउने उद्देश्यसहित दुबईमा उक्त सम्मेलन आयोजना गरिएको थियो ।
एसिया-ओसियाना अन्तरसरकारी मन्त्रीस्तरिय सम्मेलनमा नेपालको ऐतिहासिक सहभागिता भएको र यसमा धेरै सकारात्मक कुरा रहेको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले अनलाइनखबरसँग बताए । ‘सम्मेलनमा हामीले नेपालको एन्टी डोपिङको विषयमा आफ्नो विचार राख्न पायौँ । हाम्रो खेलाडीहरुको विषयमा कुरा राख्यौँ । सम्मेलन सकारात्मक रह्यो’ मन्त्री चौधरीले भने ।
यस्तै सम्मेलनमा नेपालको तर्फबाट एन्टी डोपिङको विषयमा कुरा राख्न पाएको र त्यसमा उहाँहरु सकारात्क रहेको मन्त्री चौधरीले जानकारी दिए । ‘हामीले एन्टी डोपिङ, शिक्षा र स्वास्थ्यको विषयमा कुरा राखेपछि उहाँले यो-यो काम गर्नु, यो कुरा सुधार गर्नु भन्नुभयो । त्यसपछि तपाईँहरुलाई हरेक सुविधा हामी दिन सक्छौं भनुभयो । त्यसमा उहाँहरु सकारात्मक हुनुहुन्छ’ उनले थपे ।
मन्त्री चौधरीले एन्टी डोपिङ सम्बन्धि ऐन कानुनहरु तयार हुन नसकेको त्यसमा काम गर्नुपर्ने बताए । ‘ऐन, नियमावलीहरु तयार हुन सकेको छैन । यो बनाएर व्यवस्थित रुपमा सञ्चालन गर्ने तयारी भएको छ’ उनले भने ।
यस्तै नाडा नेपालका संयोजक डा भण्डारीले पनि सम्मेलनमा नेपालको उपस्थिती ऐतिहासिक भएको र यसबाट नेपालले लिन सक्ने कुराहरु धेरै भएको बताए । ‘एसिया र ओसियाना क्षेत्रका धेरै व्यक्तिहरु सँग भेटघाट कुराकानी गर्ने अवसर पायौं । जुन नेपालका लागि सकारात्मक पक्ष हो’ उनले भने, ‘नेपालको एन्टी डोपिङमा गर्नुपर्ने कामहरु धेरै छन् । त्यसका लागि बजेट देखि लिएर आवश्यक जनशक्तिहरु चाहिन्छ’ उनले भने ।
डा. भण्डारीले एन्टी डोपिङमा नेपालको प्राविधिक प्रगति, एथ्लेट–केन्द्रित अभ्यास र क्षेत्रीय समन्वय प्रणालीबारे सशक्त प्रस्तुति दिएका थिए । उनको प्रस्तुतिमा देशका एन्टी डोपिङ एजेन्सीका प्रमुखहरूले समेत गहिरो चासो व्यक्त गरेका थिए ।
सम्मेलनमा मन्त्री चौधरीले वाडा अध्यक्ष विटोल्ड बान्का, उपाध्यक्ष याङ याङ र विभिन्न देशका खेलकुद मन्त्रीहरूसँग साइड छलफल समेत गरेका थिए । यी भेटघाटहरूमा नेपालको डोपिङविरुद्धको रणनीति, कानुनी सुधार तथा शिक्षामूलक अभियानहरूबारे जानकारी गराइएको थियो ।
सम्मेलनमा मन्त्री चौधरीले पहिले शिक्षा, त्यसपछि परीक्षण (एजुकेशन बिफोर डोपिङ) भन्ने वाडाको मूल नीतिप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका थिए ।
यस्तै नेपालले सुरु गरेको ई–लर्निङ प्लेटफर्म, शैक्षिक शिविरहरू, सामुदायिक क्याम्पहरू र अनलाइन मोड्युलहर मार्फत हजारौँ खेलाडी, प्रशिक्षक र अभिभावकहरूमा डोपिङसम्बन्धी चेतना फैलाउने कार्यको बारेमा पनि सम्मेलनमा जानकारी गराइएको थियो ।
सम्मेलनमा नेपालहसति एसिया-ओसियाना क्षेत्रमा ३२ राष्ट्रका प्रतिनिधिहरू र एन्टी-डोपिङ संस्थाहरूको सहभागिता थियो ।
सम्मेलनले १४ बुँदे दुबई घोषणापत्र समेत जारी गरेको छ । जसले खेलकुदमा डोपिङविरुद्धको अभियानमा राजनीति गर्न नहुने, स्वच्छ प्रतिस्पर्धा र नीतिगत पारदर्शिता कायम राख्नुपर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
यस्तै डोपिङ विरुद्धको सन्धिमा अफगानिस्तान (एसिया) र नियू (ओसियाना)लाई सामेल गराउन प्रोत्साहन गर्ने निर्णय समेत गरिएको छ ।
यस घोषणाले वाडाको २०२५–२९ रणनीतिक योजना, २०२७ को नयाँ विश्व डोपिङ आचारसंहिता तयारी, अन्तर्रष्ट्रिय मापदण्डहरुलाई समर्थन गर्दै तिनीहरुको कार्यान्वयन गर्न तयारीमा जोड दिएको छ ।
यस्तै राष्ट्रिय एन्टी-डोपिङ संस्था (नाडो) र क्षेत्रीय एन्टी डोपिङ संस्था (रेडो) को भूमिकालाई सशक्त बनाउने सहमति पनि गरिएको छ । साथै प्रत्येक देशले आफ्ना कानुनी संरचना अद्यावधिक गर्नुपर्ने उल्लेख गरियो ।
शिक्षामार्फत खेलाडी र सपोर्ट स्टाफहरुलाई प्रशिक्षण दिने, ‘पहिले शिक्षा दिनु, पछि नियन्त्रण’ भन्ने नीतिको प्रवर्द्धन गरियो ।
सन् २०२५ देखि २०२७ सम्म हुने अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमहरू जस्तै एसियन युथ गेम्स, एसियन गेम्स जस्ता अवसरहरुमा स्वच्छ खेल प्रवर्द्धनका लागि तयारी गर्न आह्वान।
यस्तै सम्मेलनले २०२६ को मे-जुनमा हुने २१औं सम्मेलनमा सहभागि हुन सबैलाई इनकरेज गर्दै सन् २०२७ मा २२औं बैठक माल्दिभ्सले आयोजना गर्ने इच्छा देखाएको त्यसको स्वागत समेत गरेको थियो ।
नेपालमा एन्टी डोपिङको अवस्था कस्तो ?
नेपाल वाडाको सदस्य राष्ट्र बनेको दशक भन्दा बढी भइसक्यो । तर नेपालमा अझै पनि एन्टी डोपिङ सम्बन्धि आवश्यक नीति, ऐन-कानुन, नियमावली प्रष्ट रुपमा बन्न सकेको छैन । यसमा बजेट पनि खासै छैन । दक्ष जनशक्ति थोरै छ ।
हाल नेपालमा नेसनल एन्टी डोपिङ एजेन्सी (नाडा) नेपाल छ । यसको संयोजकमा डा. असिम भण्डारी छन् । मन्त्रिपरिषदले २०८० माघमा उनलाई नियुक्त गरेको हो । च्यासलमा कार्यलय समेत स्थापना भएको छ । तर त्यसलाई सञ्चालन गर्ने आवश्यक कुराहरु छैन । जनशक्ति पूर्ण छैन । यस वर्ष बल्ल १ करोड बजेट विनियोजन भएको छ । यसले सकरात्मक संकेत देखाएपनि गर्नुपर्ने काम धेरै बाँकी रहेको डा. भण्डारी बताउँछन् ।
२०७७ सालमा जारी भएको खेलकुद विकास ऐन २०७७ मा नेपाल एन्टी डोपिङ एजेन्सी (नाडा) स्थापना गर्ने उल्लेख भएको थियो । त्यस अनुसार संस्थान स्थापना भइसकेको छ । त्यसअघि एन्टी डोपिङका लागि कार्यकारी समितिकै भरमा काम चलाइएको छ ।
यस्तै राष्ट्रिय खेलकुद विकास नियमावली २०७७ (प्रथम संशोधन २०८०) मा राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको संरचना र सचिवालय स्थापना गर्ने, एजेन्सीको काम कर्तव्य र अधिकारीसम्बन्धि विषय समावेश गरिएको छ ।
खेलकुद नीति २०८० मा खेल चिकित्सा विज्ञान अन्तर्गत अन्तर्राष्ट्रिय अभिसन्धि अनुसार खेलकुदमा प्रतिवन्धित औषधी बारे गोष्ठी छलफलमार्फत खेलाडीमा चेतना अभिवृद्दी गर्ने तथा एन्टिडोपिङ टेष्टलाई सहज बनाउने भनेर उल्लेख गरिएको छ ।
हालै संसदमा पेश भएको ऐन संशोधन गर्न बनेको विधेयकमा एन्टी डोपिङ एजेन्सीलाई अझ स्वशासित र स्वायत्त संस्थाको रुपमा एजेन्सीलाई अघि बढाउन खोजीएको छ । वाडाको सदस्य राष्ट्र भएकोले त्यसको मापदण्ड अनुसार कार्यान्वयन पक्षलाई समेट्नुपर्ने भएकोले ऐनमै एन्टी डोपिङको विषयमा बलियो रुपमा राख्न लागिएको मन्त्री चौधरीले जानकारी दिए । संशोधनमा वाडा कम्प्लायन्स युनिटका सुझावहरू समावेश गरिएको मन्त्रीले जानकारी दिए ।
अन्तर्राष्ट्रिय स्तरमा मल्टी स्पोर्टिङ इभेन्ट र वर्ल्ड च्याम्पियनसिप एसियन च्याम्पियनसिप जस्ता खेलहरुमा सहभागिता जनाउन थालेपछि नेपाली खेलाडीमा पनि फाट्ट फुट्ट एन्टी डोपिङ बारे जान्न उत्सुकता बढ्न थालेको छ । जुन सकारात्मक हो । केही खेल संघका पदाधिकारीहरु पनि यस विषयमा जान्न उत्सुक देखिएका छन् ।
सचेतना आवश्यक
अझै नेपाली खेल क्षेत्रमा एन्टी डोपिङको विषयमा धेरै चर्चा भएको पाइदैन । नाडाका संयोजक डा. असिम भण्डारीले नेपाली खेलकुद ठूलो जोखिममा रहेको बताए ।
नेपालमा अझै पनि खेलाडी, प्रशिक्षकहरुमा डोपिङको ज्ञान कम भएको भण्डारी बताउँछन् । ‘अझै पनि नेपाली खेलकुदमा धेरैलाई यो विषयमा थाहा छैन । धेरेले चासो दिएका छैनन्’ उनले भने ।
खेलाडी मात्र होइन खेलकर्मी समेत यसमा सचेत हुनु जरुरी रहेको उनले बताए । ‘अहिले नेपालमा धेरै खेलसँग डक्टर छैन । फुटबल र क्रिकेटले राख्ने गरेको छ । त्यो खेलमा त अवस्था नाजुक छ भने झन् अरु खेलमा के होला’ उनले थपे । केही खेलका खेलाडीहरुले भने आफूलाई डोपिङबारे सोध्ने गरेको उनले बताए ।
युवा तथा खेलकुद मन्त्रालयले केही दिनअघि एन्टी डोपिङको विषयमा छलफल चलाएको थियो । त्यसमा मिसन २०२६ अन्तर्गत एसियन गेम्सको लागि विशेष तयारीमा रहेका खेलाडीहरु प्रशिक्षकहरु पदाधिकारी उपस्थित थिए ।
तर अधिकांश एन्टी डोपिङको बारेमा के औषधी प्रयोग गर्ने के प्रयोग नगर्ने भन्नेमा अन्योलमै थिएन । यो चिन्ताजनक स्थिति नेपाली खेलकुदमा रहेको डा. भण्डारी बताउँछन् । ‘डोपिङ बारे खेलाडी, खेलकर्मी सबैलाई सचेत गराउनुपर्छ । नभए नेपाली खेलकुद झन् ठूलो समस्यामा फस्न सक्छ’ उनले भने ।
विश्व खेलकुद क्लिन स्पोर्ट्स नीति बनाएर अघि बढ्दा नेपालमा भने डोपिङकै विषयमा बुझाउन सकिएको छैन । यसमा सम्बन्धित निकायहरु युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषदले नै आवश्यक पहल गर्न नसकेको जस्तो देखिन्छ ।
यस्तो अवस्थामा नेपाली खेलकुदमा खेलाडीहरु सुरक्षित छन् त भन्ने गम्भीर प्रश्न समेत खडा भएको छ । नेपाली खेलाडीहरुले कस्तो खालको औषधि प्रयोग गरिरहेका छन् ? कसको स्वीकृतिकमा औषधी प्रयोग गर्छन् ? त्यसको असर बारे कत्तिको जानकार छन् ? नेपाली खेलकुदलाई पनि क्लिन स्पोर्टमा रुपान्तरण गर्न के-के गर्नुपर्ला ? यी प्रश्नहरु नै मुख्य चुनौतीका रुपमा रहेका छन् ।
अन्तर्राष्ट्रिय स्तरमा डोपिङ गरेको ठहर भएमा ठूलो रकम जरिवना समेत हुन सक्छ । यदि कुनै खेलाडीमा डोपिङ परिक्षण पोजिटिभ देखिएमा त्यसको जिम्मा खेलाडी, खेल संघ, राखेप मन्त्रालय वा सरकारले कसले लिने? यसलाई लिएर सककार युवा तथा खेलकुद मन्त्रालय राखेप कति सजग छ त?
२०७९ सालमा गण्डकीमा भएको नवौँ राष्ट्रिय खेलकुदमा पहिलो पटक डोपिङ परिक्षण पनि राखिएको भनेर ठूलै चर्चा भएको थियो । त्यसमा करिब ४० जनालाई डोपिङ परिक्षणका लागि नमुना संकलन गरिएपनि त्यसको नतिजा सार्वजनिक गरिएको छैन । परिक्षणमा केही पोजेटिभ नतिजा पनि आएकोले सार्वजनिक नगरिएको हुन सक्ने सम्बन्धि निकायका व्यक्तिहरुले भन्दै बएका छन् । राष्ट्रिय खेलकुद परिषदले नवौँमा पहिलो पटक डोपिङ परिक्षण राखेको भनिएतापनि त्यसअघिका राष्ट्रिय खेलकुदहरुमा पनि डोपिङ परिक्षणका लागि नमुनाहरु संकलन गरिएको थियो ।
नतिजा जस्तो आएपनि सार्वजनिक गर्दा त्यसले आगामी दिनमा खेलाडी र सम्बन्धित व्यक्तिहरु सचेत हुन सक्थे । तर यस्तो घटना लुकाउने काम गर्दा झन् समस्या बढ्दै जाने विज्ञहरु बताउँछन् ।
प्रतिक्रिया 4