
१३ असार, काठमाडौं । नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषदले युवाहरुको रोजगारमुलक सिप विकासका लागि विभिन्न ६ वटा क्षेत्रमा ३४० जना युवाका लागि सिपमुलक तालिम एकैसाथ सञ्चालन गरेको छ । परिषदले पहिलो पटक सातै प्रदेशका विभिन्न पालिकामा १६० देखि २२५ घण्टासम्मका सिपमुलक तालिम सञ्चालन गरेको हो ।
युवाहरुको सिप विकासका लागि यस वर्ष १८० घण्टे जुनियर ब्युटिसियन, १६७ घण्टे टेलर–गार्मेन्ट मेसिन अपरेटर, १६० घण्टे इलेक्ट्रिसियन, १६० घण्टे कुक, २२५ घण्टे मोबाइल रिपेयरिङ र १६० घण्टे बेकरी तालिम सञ्चालन गरेको परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।
यस्ता सिपमुलक तालिमले सरकारले घोषणा गरेको आन्तरिक रोजगारी प्रवर्द्धन दशकलाई टेवा पुग्ने र युवा पलायन रोकेर मुलुक भित्रै आत्मनिर्भर बनाउन पनि मद्दत मिल्ने परिषदका कार्यकारी उपाध्यक्ष बस्नेतको विश्वास छ ।
राष्ट्रिय युवा परिषदका अनुसार कैलालीको धनगढी, रोल्पाको लिवाङ, काठमाडौंको गोंगबु र भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा १८० घण्टे जुनियर ब्युटिसियन तालिम सञ्चालन गरिएको छ ।
यसैगरी काठमाडौंको टोखा, बर्दियाको बारबर्दिया नगरपालिका, सप्तरीको कल्याणपुर र ललितपुरको महालक्ष्मी नगरपालिकामा १६७ घण्टे टेलर–गार्मेन्ट मेसिन अपरेटर तालिम सञ्चालन गरिएको छ ।
यसैगरी कास्कीको पोखरा, काठमाडौंको गोंगबु र चाबहिल तथा रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा १६० घण्टे इलेक्ट्रिसियन तालिम सञ्चालन गरिएको छ। त्यस्तै ललितपुर जिल्लाको ललितपुर महानगरपालिका र मोरङ जिल्लाको विराटनगरमा १६० घण्टे कुक तालिम सञ्चालन गरिएको छ ।
काठमाडौंको कोटेश्वरमा २२५ घण्टे मोबाइल रिपेयरिङ तालिम तथा काठमाडौंकै तिनकुने र सुर्खेतको वीरेन्द्रनगरमा १६० घण्टे बेकरी तालिम सञ्चालन गरिएको परिषदका तालिम शाखा प्रमुख कर्ण कवरले जानकारी दिए ।
प्रतिक्रिया 4