
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच २८ जेठमा टेलिफोन वार्ता भयो।
- असार अन्तिम वा साउन पहिलो साता ओलीको भारत भ्रमण हुने सम्भावना छ, तर अझै निश्चित छैन।
- नेपालले भारतसँग केही चासोहरू राखेकाले भ्रमण र भेटवार्तामा प्रगति हुन अझै बाँकी रहेको स्रोतले बताए।
१३ असार, काठमाडौं । पहलगाम आक्रमणपछि भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको टेलिफोन वार्ता भएको थियो । तर उनीहरूको बीचमा त्यसपछि पनि दोस्रोपल्ट फोनवार्ता भयो, जसबारे दुवै पक्षले सूचना चुहाएनन् ।
उच्च सरकारी स्रोतका अनुसार २८ जेठमा ओली-मोदी फोनवार्ता हुँदा परराष्ट्र मन्त्रालय स्तरमा भएका तयारीमा कति प्रगति भयो भन्नेबारे मोटामोटी छलफल भयो । यो तयारी भन्नुको अर्थ हो प्रधानमन्त्री ओलीको बहुप्रतिक्षित भारत भ्रमण, जो उनको चौथो कार्यकालमा अहिलेसम्म सम्भव बन्न सकिरहेको छैन ।
पोहोर २८ असारमा सत्तारोहण गरेका ओली प्रधानमन्त्री बनेको एक वर्ष पुग्नै लाग्यो । यसबीचमा मोदीसँग उनको न्युयोर्क र बैंककमा गरी दुईपल्ट भेट भयो । यी दुवै भेट शिष्टाचारको तहभन्दा माथि उक्लिन सकेनन् । अनि अजेन्डा राख्नका लागि उनीहरूले दिल्ली वा काठमाडौंलाई मुकाम बनाउन सकेका छैनन् ।
त्यसयता काठमाडौंमा ठूलै संशय निरन्तर छ- के दिल्ली संस्थापन प्रधानमन्त्री ओलीलाई बोलाउन तयार नै नभएको हो ?
यसको जवाफ दिए प्रधानमन्त्री निकट एक उच्च अधिकारीले । उनले भने, ‘भारतीय पक्ष प्रधानमन्त्रीज्यूलाई स्वागत गर्न तयार छ । यसका लागि केही विषयहरूमा कुरा अघि बढिसकेको पनि हो । तर नेपालले केही चासोहरू राखेका छ, जसबारे उताबाट प्रष्ट कुरा नआउँदासम्म अहिले भ्रमण भइहाल्छ संकेत देखिँदैन ।’
प्रधानमन्त्री ओली राष्ट्रसंघीय कार्यक्रमका सिलसिलामा शनिबार स्पेन जाँदैछन् । उनी त्यहाँबाट फर्कनेबित्तिकै भारत जाने, असार अन्तिम वा साउन पहिलो सातामा उक्त भ्रमण हुने भनिएको छ । तर नेपाली पक्ष अझै पनि भ्रमण हुनेमा ढुक्क छैन ।
‘उहाँहरू (भारतीय पक्ष) गुडविल भ्रमणका रूपमा विकास गर्न खोजिराख्नुभएको छ, हामी पोहोर प्रधानमन्त्रीज्यू सत्तामा आएकै बखत भ्रमण भएको भए त्यो सम्भव हुने, एक वर्ष ढिला भइसकेपछि किन गुडविलमा सीमित राख्ने भनेर सोलिड प्रोजेक्टहरूमा कुरा हुनुपर्ने भनिरहेका छौं,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘अहिले सामान्य हिसाबले मात्रै भ्रमण भयो भने जनतामा खास सन्देश जाँदैन । परियोजनाहरूमै छलफल हुनुपर्छ ।’
ओलीलाई एक वर्षसम्म भारतले नबोलाए पनि उनले यसबीचमा समकक्षी मोदीलाई काठमाडौं आउन दुईपल्ट निम्ता दिएका छन् । पहिलो निम्ता, पोहोर असोजमा राष्ट्रसंघ महासभा क्रममा न्युयोर्कमा । दोस्रो निम्ता, गत २२ चैतमा बैंकक बिमस्टेक छैटौं शिखर सम्मेलन क्रममा भएको साइडलाइन भेटमा, जसबेला सगरमाथा संवादका लागि विशिष्ट अतिथिका रूपमा मोदी निम्ता गरिएका थिए ।
यसबीचमा जेठ पहिलो साता सगरमाथा संवाद भइसक्यो । भारतले त्यसलाई ठिकठिकै महत्व दिँदै आफ्ना लो प्रोफाइलका वातावरण मन्त्री भुपेन्द्र यादव मात्रै पठायो ।
मोदीले काठमाडौं आउन नसकिने कारण दिनलाई भारतको आन्तरिक परिस्थिति तयार थियो । तर उनले ओलीसँग पनि कुरा गरेनन् । दुई नेताहरूबीच बैंककमा भएको एक्लाएक्लै भेटवार्ताले पनि सौहार्द्रता फिर्ता गर्न नसकेको टिप्पणी भएको थियो ।
प्रधानमन्त्रीका पूर्वपरराष्ट्र मामिला सल्लाहकार तथा एमाले नेता राजन भट्टराई अहिले ठूला परियोजनाहरूमा कुरा गर्न पर्याप्त तयारी र त्यसको वातावरण बनिनसकेको भन्दै उपयुक्त समयमा भ्रमण हुने बताउँछन् ।
‘भारतसँग बाहिर चर्चा गरिएजस्तो चिसोपन नरहेको प्रमाण यसअघि निरन्तर रहेका दुईपक्षीय एक्सचेन्ज भिजिटहरूले दिइरहेका छन्, प्रधानमन्त्रीकै तहमा कुरा गर्नका लागि बिजनेस लाइक भिजिटको तयारी पुगिसकेको छैन,’ उनी भन्छन्, ‘भ्रमण भएन भन्दैमा सौहार्द्रता बिग्रियो भन्न मिल्दैन । तर अहिले नै भ्रमण भइहाल्ने परिस्थिति विभिन्न कारणले छैन ।’
प्रधानमन्त्री कार्यालयमा रहेका अधिकारीहरूका विश्लेषणमा भारत यतिबेला पाकिस्तान तनाव लगायत आफ्नै समस्याहरूमा रहेका कारण पनि ओलीको दिल्ली भ्रमण तत्कालै नहुन सक्छ ।
भुटानबाहेक लगभग सबै छिमेकीसँग सम्बन्ध सुधार्नुपर्ने दिल्लीको आन्तरिक बाध्यताका कारण पनि नेपाल उनीहरूको छनोटमा रहेको, तर यसलाई फलदायी भ्रमण नबनाउने हो भने हतार गरेर दिल्लीको टिकट लिनुको अर्थ नहुने नेपाली अधिकारीहरू बताउँछन् ।
प्रतिक्रिया 4