 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग वाणिज्य महासंघ र ग्वाङ्दोङ प्रान्तीय युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टबीच भेटवार्ता भएको हो।
- भेटमा दुवै देशको आर्थिक, कूटनीतिक सम्बन्ध र व्यापार, लगानीका विषयमा छलफल भएको थियो।
- महासंघ अध्यक्ष ढकालले नेपाल र चीनबीच सहकार्य र द्विपक्षीय सम्झौताको आवश्यकतामा जोड दिए।
१३ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र चीनको ग्वाङ्दोङ प्रान्तीय युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टका मन्त्री वाङ शीबीच भेटवार्ता भएको छ ।
चीनको ग्वाङ्दोङ प्रान्तीय पार्टी समितिका स्थायी समिति सदस्य समेत रहेका शीसँग महासंघ सचिवालय टेकुमा शुक्रबार भेटवार्ता भएको हो । भेटका अवसरमा दुवे देशको आर्थिक तथा कूटनीतिक सम्बन्ध, व्यापार लगानी तथा सहकार्यका विविध विषयमा छलफल भएको थियो ।
महासंघ अध्यक्ष ढकालले नेपाल र चीनबीच लामो र विश्वासिलो सम्बन्ध रहेको चर्चा गर्दै प्रविधि र नवप्रर्वतनका क्षेत्रमा सहकार्यका लागि आग्रह गरे ।
पर्यटन, पूर्वाधार, ऊर्जाजस्ता क्षेत्रमा चीनको सहयोगले नेपालको विकासमा महत्त्वपूर्ण टेवा पुगेको उल्लेख गर्दै अध्यक्ष ढकालले व्यापार तथा लगानीका क्षेत्रमा नेपाल र ग्वाङ्दोङबीच सहकार्यको सम्भावना रहेको उनले बताए ।
‘ग्वाङ्दोङसँग व्यापार तथा लगानीको सम्भावना साथै विज्ञान र प्रविधि क्षेत्रमा भएको अनुभव र अहिले अन्तर्राष्ट्रिय तथा आन्तरिक साझेदारी निर्माणमा देखाइएको सक्रियताले नेपाल र ग्वाङ्दोङबीच नयाँ सहकार्यका ढोका खोल्नेछ,’ अध्यक्ष ढकालले भने ।
नेपालको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघले व्यवसाय गर्न सहज वातावरण निर्माण गर्न गरेको पहलबारे जानकारी दिँदै अध्यक्ष ढकालले महासंघको सक्रियतामा सरकारले हालै ३० भन्दा बढी कानुन संशोधन तथा परिमार्जन गरेको जानकारी दिए ।
‘नेपाल र चीनबीच द्विपक्षीय लगानी सम्झौताको आवश्यकतामा जोड दिँदै ढकालले भने, ‘यस्तो सम्झौताले कानुनी र संस्थागत संरचनालाई बलियो बनाउने छ र चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रेरित गर्ने छ ।’
ऊर्जा, निर्माण, सूचना प्रविधि, पर्यटन र कृषि प्रशोधन जस्ता क्षेत्रमा नेपालमा लगानीका राम्रा अवसर रहेको उल्लेख गर्दै ढकालले ग्वाङ्दोङ सरकारसँग ती क्षेत्रका सम्भावित लगानीकर्ता र संघसंस्थासँग जोडिन सहयोग गर्न आग्रह गरे । उनले संयुक्त उद्यम, व्यापार भ्रमण र ज्ञान आदान–प्रदान कार्यक्रममा सहकार्य गर्न महासंघ तयार रहको बताए ।
सोही अवसरमा बोल्दै ग्वाङ्दोङ प्रान्तीय पार्टी समिति स्थायी समिति सदस्य तथा युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टका मन्त्री वाङ शीले नेपाल चीनबीच लामो आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहेको चर्चा गर्दै नेपालको आर्थिक विकासमा चीन सधैं सकारात्मक रहेको बताए ।
चीनले प्रविधि तथा नवप्रर्वतन क्षेत्रमा गरेको सफलतालाई नेपालको विकासमा साझेदारी गर्न आफूहरू तयार रहेको बताए ।
‘चीनले प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा धेरै काम गरेको छ । हाम्रो यो अनुभवबाट नेपालले पनि धेरै गर्न सक्छ । त्यो सहकार्यका लागि हामी तयार छौं,’ उनले भने ।
मन्त्री वाङ शीले नेपालको खाद्य प्रशोधन, कृषि तथा पर्यटनमा सहकार्य गर्न सकिने बताउँदै नेपाल–ग्वाङ्दोङ आर्थिक सहकार्यका लागि आफूले पहल गर्ने बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4