News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय खेलकुद परिषद् का उपाध्यक्ष र सदस्य सचिवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी खेलकुदको अवस्थाबारे जानकारी गराएका हुन् ।
- भेटमा खेल संघहरुको समस्या, बजेट, ऐन संशोधन, र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिताका विषयमा छलफल भएको थियो ।
- प्रधानमन्त्री ओलीले अर्को वर्ष जापानमा हुने एसियन गेम्समा सहभागिता जनाउनुपर्ने बताए ।
१३ असार, काठमाडौं । नेपाली खेलकुदमा पछिल्लो समय विभिन्न किसिमका विवादहरुको चर्चा भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष, सदस्य सचिव लगायतले महत्वपूर्ण भेट गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुब आचार्य, सदस्य सचिव टंकलाल घिसिङ र राखेप कार्यकारी सदस्य सुबर्ण श्रेष्ठले शुक्रबार प्रधानमन्त्री ओलीलाई भेट गरी वर्तमान नेपाली खेलकुदको अवस्थाबारे जानकारी गराएका हुन् ।
पछिल्लो समय नेपाली खेलकुदमा युवा तथा खेलकुद मन्त्रालय र नेपाल ओलम्पिक कमिटीबीच पानी बारबारको स्थिति देखिइरहेका बेला राखेप उपाध्यक्ष र सदस्य सचिवले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।
‘भेटमा राष्ट्रिय खेलकुद परिषद्को समग्र गतिविधि, विभिन्न खेल संघहरुको समस्या, बजेटका विषय, ऐन संशोधन, खेलकुद नीति तथा जापानमा हुने एशियन गेम्स तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता लगायत विषयमा जानकारी गराउनुका साथै विस्तृत छलफल गरियो’ राखेप सदस्य सुबर्ण श्रेष्ठले भनिन् ।
त्यस्तै हाई पर्फर्मेन्स फिटनेस सेन्टर र स्पोर्ट्स साइन्स ल्याबको उद्घाटन तथा विशेष प्रशिक्षणमा संलग्न खेलाडी तथा प्रशिक्षकहरूलाई सम्बोधन गर्दै थप प्रेरणा तथा हौसला प्रदान गराइदिन गरिएको अनुरोध प्रधानमन्त्रीले स्वीकारेको पनि श्रेष्ठले जानकारी दिइन् ।
सबै विषयमा जानकारी गराएपछि प्रधानमन्त्री ओलीले समस्याहरुको समाधान के हो? र अर्को वर्ष हुने एसियन गेम्सको सहभागिता गर्नुपर्छ भनेर भन्नुभएको श्रेष्ठले बताइन् ।
२०२६ मा जापानको नागोयामा हुने २०औं एसियन गेम्समा सहभागिताको लागि यही जुन ३० भित्रै सहभागि हुने खेलको नाम दर्ता गर्नुपर्ने भएपनि त्यस विषयमा केही हुन सकेको छैन ।
नेपाल ओलम्पिक कमिटीले एसियन गेम्समा सहभागि हुने खेल दर्ता गर्नुपर्ने विषयमा जानकारीसहित पत्र युवा तथा खेलकुद मन्त्रालयमा पठाइसकेको छ । तर खेलकुद मन्त्री चौधरीले भने ओलम्पिक कमिटीमा अवैधानिक कार्यसमिति रहेकोले यो समिति मार्फत कुनै काम नगर्ने बताउँदै आएका छन् ।
एकातिर युवा तथा खेलकुद मन्त्रालय र नेपाल ओलम्पिक कमिटीबीच विवाद चलिरहेको छ भने अर्कोतर्फ खेलकुद मन्त्री तेजुलाल चौधरीले राखेप सदस्य सचिव टंकलाल घिसिङलाई स्पष्टिकरण सोधेको विषय पनि चर्चामा छ ।
नेपाली खेलकुदको तीन महत्वपूर्ण निका अहिले तीनतिर देखिँदा यसको मारमा नेपाली खेलाडीहरु परिरहेका छन् ।
प्रतिक्रिया 4