
१९ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्तिबारे छलफल भएको छ । केन्द्रीय कार्यालय आलोकनगरमा आज केहीबेर चलेको सचिवालय बैठकमा रामकुमारीको विषयले प्रवेश पाएको हो ।
बैठक स्रोतका अनुसार अध्यक्ष माधव नेपालविरुद्ध सार्वजनिक अभिव्यक्ति दिइएकाले रामकुमारीबारे प्रसंग उठेको थियो । ‘रामकुमारी झाँक्रीले अध्यक्षबारे अभिव्यक्ति दिदा त्यही कार्यक्रममा मेटमणि चौधरी पनि हुनुहुन्थ्यो । त्यसैले उहाँ (मेटमणि)ले ब्रिफिङ गर्नुभयो’, ती स्रोतले भन्यो ।
युवा संघ नेपालको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रममा गत शनिबार पूर्वमन्त्री झाँक्रीले पार्टी पुर्नगठनको एजेण्डा उठाएकी थिइन् । अध्यक्षमाथि नै संकट आएकाले पुनर्गठन गरेर पार्टीलाई अगाडि बढाउनुपर्ने उनको तर्क थियो । त्यस क्रममा ‘सिनो बोकेर हिड्न’ नसकिने पनि झाँक्रीले बताएकी थिइन् ।
सचिवालय बैठकमा उपमहासचिव चौधरीले यही कुरा ब्रिफिङ गरेका छन् । ‘धेरै कुरा भिडियो हेरेर थाहा पाइसक्नुभएको छ, भएको त्यही हो’ चौधरीले बैठकलाई जानकारी गराएका छन् ।
‘हाम्रो प्रदेशमा पार्टी आन्दोलन राम्रोसँग उठिरहेको छ, त्यही सन्दर्भमा युवाहरुको कार्यक्रम भएको थियो’ मेटमणिको ब्रिफिङ गरे, ‘तर त्यस्तो बोलीले (रामकुमारीको अभिव्यक्ति) उपस्थिति मान्छेहरू निराश भए । उहाँले त्यस्तो भन्नु हुन्थेन ।’
तर अध्यक्षमाथि भएको राजनीति प्रतिशोधलाई बल पुग्नेगरी रामकुमारी झाँक्रीले त्यसदिन सार्वजनिक अभिव्यक्ति दिएको चौधरीले बताए । ‘अध्यक्षमाथि राजनीतिक प्रतिशोध भएको छ, तर त्यसैलाई बल पुग्नेगरी नेताहरु बोल्न हुँदैन’, चौधरीले भनेका थिए ।
आजको बैठकमा बोलेका अरु दुई वक्ताले पनि अध्यक्ष नेपालमाथि राजनीतिक प्रतिशोध नै भएको तर्क गरेका थिए । पूर्व मुख्यमन्त्री राजेन्द्र राईले त केपी ओलीको सरकारले क्रान्तिकारीलाई अनेक आरोप लगाउने गरिरहेको पनि बताएका थिए । बैठकमा उपाध्यक्ष धर्मनाथप्रसाद साहले पनि बोलेका थिए ।
तीन जनाले बोलेपछि भने तीन दिनपछि बस्नेगरी सचिवालय बैठक स्थगित गरिएको छ । प्रवक्ता एवं उपाध्यक्ष प्रकाश ज्वालाका अनुसार २२ असारको बिहान ११ बजे बस्नेगरी बैठक स्थगित भएको छ । अनुशासन आयोगले रामकुमारीलाई सोधेको स्पष्टीकरणको जवाफबारे पनि त्यही दिन छलफल गरिने जानकारी बैठकलाई गराइएको छ ।
प्रतिक्रिया 4