
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा बुटवल–नारायणगढ सडक खण्डको विनयी खोलाको पुल ५ महिनामा निर्माण गरी सञ्चालन गरिएको छ।
- इन्जिनियर शिव खनालले यसलाई ५ वर्षदेखि घस्रिँदै हिँडिरहेको सडक योजनाको अभूतपूर्व उपलब्धि भने।
- पुरानो पुल भाँच्चिएपछि नयाँ पुल निर्माणको काम तीव्रता ल्याइयो र २४ घण्टामा यातायात सञ्चालन भयो।
१९ असार, काठमाडौं । नेपालमा पुल निर्माणमा नयाँ कीर्तिमान बनेको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ खण्डको दुम्कीबासस्थित विनयी खोला पुल ५ महिनामै तयार पारी बिहीबारदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको छ ।
नारायणगढ–बुटवल सडक योजना (पूर्वी खण्ड) का सूचना अधिकारी इन्जिनियर शिव खनाल यसलाई अभूतपूर्व उपलब्धि ठान्छन् । ‘५ वर्षदेखि घस्रिँदै हिँडिरहेको नारायणगढ–बुटवल सडक योजना अन्तर्गत ५ महिनाको छोटो अवधिमा २ सय ४५ मिटर लामो पुल सञ्चालन आफैंमा एक अभूतपूर्व उपलब्धि हो ।’
यो पुल यति छिटो बन्नुमा भने विनयी खोलाको ५० वर्ष पुराना पुल भाँच्चिनु मुख्य कारण हो । २६ पुस २०८१ मा अधिक भारबहन गरेको ७२ चक्के मालवाहक सवारीका कारण नारायणगढतर्फको एक स्पान पूर्णरूपमा र सँगैको अर्को स्पानमा आंशिक क्षति पुगेको थियो ।
‘पुरानो पुल नभाँच्चिएको भए नयाँ पुल बन्न कति वर्ष लाग्थ्यो, यसै भन्न सकिँदैन,’ खनालले अनलाइनखबरसँग भने, ‘त्यसपछि त कामलाई गति दिनुको विकल्पै भएन नि !’
विनयी खोलामा ५ दशक अगाडि बेलायती सहयोगमा पुल बनेको थियो । यो पुल कति भारबहन क्षमताको हो निश्चित थिएन । पुलको डिजाइन डेटा, ड्रइङ र अन्य कुनै रेकर्ड नभएको सूचना अधिकारी खनालले जानकारी दिए ।
पुल भाँच्चिएपछि सोही पुलको तलतिर रातिको समयमा चार घण्टासम्म लगातार काम गरी डाइभर्सन सडक तयार पारी यातायात खुलाइएको थियो । पुलको माथितर्फ भने २४ घण्टाभित्र १.३० किलोमिटर लामो डाइभर्सन सडक तयार पारेर यातायात सञ्चालनमा ल्याइएको थियो ।
त्यो बेला तत्कालका लागि सडक खुलाइए पनि पुरानो पुल मर्मत गरेर वर्षा अगाडि सञ्चालनमा ल्याउने वा नयाँ पुल बनाउने भन्ने चुनौती खडा भएको उनले स्मरण गरे ।
त्यसपछि सडक विभागले पुरानो पुल मर्मत गरेर सवारी सुचारु गर्न नसकिने निष्कर्ष निकाल्यो । यो निष्कर्षसँगै वर्षाअघि नै नयाँ पुल बनाएर सञ्चालन गर्ने चुनौती स्वीकार गरिएको उनले बताए ।
‘नयाँ पुल केवल एक पुलमात्र थिएन, आफैंमा एउटा सपना थियो, चुनौती थियो, बाध्यता थियो र एक दृढ अठोट पनि,’ उनले भने ।
नेपालमा ३०/४० मिटर लामो पुल निर्माणमा वर्षौं लाग्ने गरेको र कतिपय पुल निर्माणकै चरणमा ढलिसक्ने अवस्थाबीच यो पुल निर्माणको गतिलाई उनी ठूलो उपलब्धि मान्छन् ।
पुरानो पुल भाँच्चिनु अघि कुन हालतमा थियो नयाँ पुल ?
यस पुलका कुल ८ मध्ये २ वटा स्पानमा मात्र सुपरस्ट्रक्चरको काम सकिएको थियो । २ वटा स्पानमा ‘गर्डर लन्चिङ’ को काम सम्पन्न भएको थियो । बाँकी ४ वटा स्पानलाई आवश्यक २० वटा गर्डरको भने सुरसार नै थिएन ।
५ वर्षदेखि निकै सुस्त गतिमा काम गरेको चिनियाँ निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कोअपरेसनले समेत काममा गति दियो । वर्षाअघि बाँकी रहेको ६ स्पानको सुपरस्ट्रक्चर र दायाँ–बायाँको एप्रोच सडकसमेत बनाउन निर्माण व्यवसायीकै सक्रियताले भूमिका खेलेको उनले बताए ।
उनका अनुसार ६ माघ २०८१ देखि निर्माण व्यवसायीले २० वटा प्रिकास्ट गर्डरको कास्टिङको काम थाल्यो । अघिल्लो वर्ष नै गर्डर लन्चिङको काम सम्पन्न भएका दुई स्पानको डेस्क स्ल्याब बनाउने काम चैत २०८१ भित्रै सम्पन्न भयो ।
सोही अवधिमा २० गर्डरको कंक्रिटिङ गर्ने कामसमेत सम्पन्न गरी प्रिस्ट्रेसिङ र ग्राउन्डिङको काम सम्पन्न गरिएको थियो । नेपालमा भारी क्षमताका क्रेन नभएका कारण १ सय २० टन क्षमताका २ वटा क्रेन भारतबाट ल्याई ९ वैशाखदेखि नयाँ गर्डर लन्चिङको काम थालिएको थियो ।
चार वटा स्पानलाई २३ वैशाखदेखि डेस्क स्ल्याब कंक्रिटिङको काम सुरु गरी २१ जेठमा सम्पन्न गरियो । अन्तिम स्पानको कंक्रिटिङ २१ जेठमा सकिएको थियो । त्यसपछि एप्रोच सडक समेत तयार पारी पुल निर्माणको काम १८ असार २०८२ मा सम्पन्न भयो ।
‘सबै काम योजना अनुसार नै अगाडि बढ्यो, कुनै एक गतिविधिमा मात्र असर भएको भए पनि आजको दिनमा यो पुल खोल्न सम्भव थिएन,’ उनी भन्छन् ।
यस अवधिमा डाइभर्सन सडकमात्र ९ पटक बग्यो । त्यसबेला पुन: मर्मत गरी सडक चलाइयो । यात्रुलाई होङ्सी सिमेन्ट–सर्दी–ज्यामिरे–दुम्कीबासको २२ किलोमिटर लामो सडक प्रयोग गर्न भनियो ।
सास्ती अब हट्ला ?
अहिले नारायणगढ–बुटवल सडक खण्डको सबैभन्दा सास्ती भएको पुल विनयी खोला नै थियो । यो आयोजनामा अझै दुई वटा पुल पुराना र जीर्ण छन् । अरुण खोला पुल र चोरमारा पुल । यी पुलमा अहिले मान्छे खटाएर अधिक भारका सवारीसाधन एकसाथ पुलमा चल्न रोकिएको छ ।
‘यी पुल नयाँ नबनेसम्म जोगाउनु छ, त्यसकारण मान्छे खटाएका छौं,’ सूचना अधिकारी खनाल भन्छन्, ‘अन्य स्थानमा भने जोखिम छैन ।’
विनयी खोलामा पुल बनेसँगै अब जोखिम र सास्ती दाउन्ने सडक खण्डमा केन्द्रित भएको छ । उक्त खण्डमा ठूलो पानी पर्दा हिलोले यात्रा जोखिमपूर्ण हुने अवस्था अझै छ । तर, लगातार पानी पर्दा हिलो पखालिने र त्यसपछि ढलान भेटिसकेपछि गाडी चिप्लिने समस्या कम हुने उनले बताए ।
प्रतिक्रिया 4