
News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय बाणिज्यमन्त्री पियूष गोयलले ९ जुलाईसम्म भारत–अमेरिका अन्तरिम व्यापार सम्झौता नहुने संकेत गरे।
- भारतीय सञ्चार माध्यमका अनुसार व्यापार सम्झौताका अमेरिका गएको भारतीय टोली फर्किएको र सहमति नहुने सम्भावना बढेको हो।
- ट्रम्पले लागू गरेको भन्सार सम्बन्धी आदेशको स्थगन म्याद ९ जुलाईमा सकिँदैछ।
२० असार, काठमाडौं । भारत र अमेरिकाबीच यो ९ जुलाईभित्र अन्तरिम व्यापार सम्झौता नहुने देखिएको छ ।
भारतीय बाणिज्यमन्त्री पियूष गोयलले डेडलाइन (समयसीमा) तोकेर कहिल्यै पनि व्यापार सम्झौता नहुने भन्दै ९ जुलाइसम्म दुई मुलुकबीच सहमति हुने सम्भावना नभएको संकेत गरेको वरिष्ठ भारतीय पत्रकार अमिती सेनले जनाएकी छन् ।
द हिन्दू बिजनेसलाइनकी सहसम्पादक सेनका अनुसार व्यापार वार्ताका लागि अमेरिका गएको भारतीय टीम दिल्ली फर्किएको छ भने सरकारले भारतको हितका लागि आफ्नो अडानलाई अझै कडा पारेको छ ।
‘त्यसो हुँदा ९ जुलाईभित्र भारत-अमेरिका अन्तरिम व्यापार सम्झौता नहुने देखिएको छ,’ सेनले बताइन् ।
टाइम्स अफ इन्डियाले पनि दुवै देशले जित्ने अवस्थामा मात्रै व्यापार सम्झौता हुने कुरा बाणिज्यमन्त्री गोयलले बताएको कुरा उल्लेख गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि लागू गरेको पारस्परिक भन्सार सम्बन्धी कार्यकारी आदेशलाई तीन महिनाका लागि स्थगन गरेका थिए । त्यो स्थगनको अन्तिम म्याद ९ जुलाईमा सकिँदै छ ।
त्यसअघि नै अन्तरिम व्यापार सम्झौता गर्ने तयारी दुई मुलुकले गरेका थिए । तर त्यो हुनुअघि नै भारतीय वार्ता टोली फर्किएको हो ।
‘जब यो वार्ता राम्रो पूर्ण परिपक्व र राष्ट्रिय हितमा हुन्छ तब मात्रै हामी स्वीकार गर्छाैं, भारतले कहिल्यै पनि डेडलाइन वा टाइमलाइन तोकेर व्यापार सम्झौता गरेको छैन,’ गोयलले शुक्रवार मिडियाहरुसँग भनेका छन् ।
ट्रम्पले गत २ अप्रिलमा लागू गरेको रेसिप्रोकल भन्सारदरमा भारतका लागि थप २६ प्रतिशत कर बढाएका थिए ।
भारतले त्यो २६ प्रतिशत थप भन्सार पूर्ण रुपमा हट्नुपर्ने बताएको छ । अमेरिकाले भने अटोमोबाइल लगायतका क्षेत्रमा भारतले लगाएको अत्यधिक भन्सार घटाउनुपर्ने माग गर्दै आएको छ ।
प्रतिक्रिया 4