२१ असार, काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको फाइनल खेल जित्न नेपालले सामान्य लक्ष्य पाएको छ । सिंगापुरले नेपाललाई ११४ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रनमा अलआउट भयो ।
सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । उनले ९० भन्दा धेरै बल खेलेका थिए । रिहान नाइकले १५ रन बनाए ।
नेपालका लागि अभय यादवले १० ओभरमा ३४ रन दिएर ३ विकेट लिए । त्यस्तै सुशिल बहादुर रावलले पनि ३ विकेट लिए । शुभम खनालले २ तथा कप्तान बिपिन प्रसाद शर्माले १ विकेट लिए ।
नेपाल हालसम्म यस प्रतियोगितामा अपराजित छ । सिंगापुर भने समूह चरणमा नेपालसँग पराजित भएको थियो । त्यसपछि सिंगापुरले पनि सबै खेलहरू जितेको थियो ।
नेपालले पहिलो सेमिफाइनलमा मलेसियालाई हराएको थियो भने सिंगापुरले अर्को समूहको विजेता टोली हङकङलाई हराएको थियो ।
आजै तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच पनि प्रतिस्पर्धा भइरहेको छ।
प्रतियोगिताको साविक विजेता समेत रहेको नेपालले अपराजित रहेर उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।
प्रतिक्रिया 4