+
+
Shares

जनकपुरमा पत्रकार महासंघ मधेश प्रदेश कार्यालय स्थापना

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते ७:१९

२१ असार, जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेशको कार्यालय जनकपुरधाम उपमहानगरपालिका-२, भानुचोक नजिकै भाडाको घरमा स्थापना गरिएको छ । एक समारोहबीच कार्यालयको उद्घाटन महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिवकुमार साहले गरेका हुन् ।

भंगहा नगरपालिकाले कार्यालय व्यवस्थापनका फर्निचर, एसी, इन्भर्टर लगायत सामग्री उपलब्ध गराएको छ भने जनकपुरधाम उपमहानगरपालिकाले कम्प्युटर, प्रिन्टर र टेबल–कुर्सी सहयोग गरेपछि कार्यालय संचालनमा आउन सम्भव भएको महासंघका प्रदेश महासचिव शैलेन्द्र महतो क्रान्तिले जानकारी दिए ।

प्रमुख अतिथिको रुपमा कार्यालयको उदघाटन गर्दै मेयर साहले सञ्चार क्षेत्रमा काम गर्ने दायित्व स्थानीय सरकारको पनि भएको बताए । उनले पत्रकारहरूले सरकार र समाजका राम्रा पक्ष र कमजोरीहरू तथ्यगत रूपमा उजागर गर्नुपर्नेमा जोड दिँदै पूर्वाग्रही र पित्तपूर्ण पत्रकारिता नगर्न आग्रह गरे । आगामी दिनमा पनि महासंघलाई भंगहा नगरपालिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता उनले व्यक्त गरे ।

सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दहालले तत्काल भाडाको घरबाट सुरु हुनु सुखद रहेको बताए । भविष्यमा आफ्नो जग्गामा भव्य भवन बन्ने विश्वास व्यक्त गर्दै उननले प्रदेश समितिलाई केन्द्रको साथसहयोग रहिरहने प्रतिबद्धता व्यक्त गरे ।

महासंघ प्रदेश अध्यक्ष बञ्जाराले भंगहा नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाको सहयोगले कार्यालय व्यवस्थापन सहज भई पत्रकारिता तथा सञ्चार क्षेत्रमा सेवा प्रवाह गर्न थप सहज भएको बताए । आफ्नै भव्य संरचना वनाउन जग्गा प्राप्तिमा लागि रहेको बताउँदै यसै कार्यकालमा आफ्नो सुविधासम्पन्न भवन बन्ने बताए ।

कार्यक्रममा केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, प्रेस स्वतन्त्रता सेनानी रामभरत साह, मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी उमाप्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी बलका मधेश प्रदेश प्रमुख डीआईजी कृष्णराज ढकाल, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झा, महासंघका केन्द्रीय सदस्यहरू, जिल्ला अध्यक्षहरू लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?