
२३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निजामती विधेयकमा कुलिङ पिरियडको गडबडी छानबिन गर्न बनेको संसदीय विशेष समितिमा नेपाली कांग्रेसको नेतृत्व स्वीकार गर्न नसकिने बताएको छ ।
विधेयकको सबैभन्दा गम्भीर र महत्त्वपूर्ण व्यवस्थामै छेडखानी गरेर सांसदहरूलाई नै ठग्ने काम भएको रास्वपाको भनाइ छ ।
रास्वपा सांसद मनिष झाले कुलिङ पिरियडको व्यवस्थामा हेरफेर गरेर संसदीय अभ्यासमा कलंकित कथा बुनिएको टिप्पणी गरे ।
‘संसदीय छानबिन समिति बन्दैछ भन्ने कुरा थाहा पायौं त्यसमा हाम्रो सहमति पनि रहनेछ । तर जुन व्यक्तिमा औँला उठ्दैछ त्यो व्यक्तिको नाम जोडेर नै समिति बन्नुपर्छ भनेर तपाईंहरूले विभिन्न किसिमको प्रपञ्च गर्नुभएको थियो । त्यो बिर्सिनुभएछ,’ सांसद झाले बताए ।
कुलिङ पिरियडमा नेपाली कांग्रेसको नेतृत्वमा ७ सदस्यीय समिति बनेको छ ।
उनले भिजिटि भिसा प्रकरणमा समेत आफूहरुको आन्दोलन जारी रहेको पनि बताए ।
‘भिजिट भिसामार्फत भइराखेको संगठित अपराधसम्बन्धी हाम्रो आन्दोलन जारी नै छ । त्यो आन्दोलन जारी रहेकै बेला संसदीय अभ्यासमा एउटा कंलङ्कित कथा बुनियो,’ सांसद झाले भनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विगत लामो समयदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानविन आयोग गठनको माग गर्दै संसद अवरोध गर्दै आएका छन् ।
सरकारले दुवै प्रकरणमा छानबिन गर्न समिति बनाइसकेको छ । यद्यपि रास्वपाले दुवै समितिमाथि प्रश्न उठाएको छ ।
प्रतिक्रिया 4