+
+
Shares
पुस्तक वार्ताः :

‘एमालेमा अध्यक्षको देब्रेतिर बस्नेहरूको बोलवाला छ, जसले भुइँमान्छेसँग जिन्दगी बिताएनन्’

अध्यक्षको कुर्सीभन्दा देब्रेतिर हेर्दा थोरै मान्छे मात्रै भुइँमान्छेको संगतमा रहेर पार्टी निर्माण गरेका व्यक्तिहरू पाउँछौं । पार्टीमा दाहिनेतिर बस्नेको होइन, देब्रेतिर बस्नेको बोलवाला छ, जसले भुइँमान्छेसँग जिन्दगी बिताएनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते २१:३३

एकजना व्यापारीको दानमा केन्द्रीय कार्यालय भवन लिने निर्णयविरुद्ध बोले-लेखेकै कारण नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डेलाई ६ महिना निलम्बन गर्‍यो । उनीसँगै केन्द्रीय सदस्य उषाकिरण तिमल्सेना पनि निलम्बित भइन् भने भीम रावललाई नै निष्काशन गरियो ।

त्यो ६ महिने अवधि सकिएसँगै पाण्डे र तिमल्सेनाको निलम्बन फुकुवा भएको छ । सम्भवतः उनीहरू अब पार्टी काममा फर्कने छन् ।

तर, निलम्बनकै समयमा पाण्डेले हालको एमाले निर्माणको कठिन समयमा (पञ्चायतकाल) भूमिगत नेताहरू जोगाउन भुइँमान्छेहरूले गरेको संघर्षलाई लिपिबद्ध गर्दै एउटा पुस्तक प्रकाशन गरिन् । उक्त पुस्तक ‘भुइँमान्छे’ अहिले राजनीतिप्रति चासो राख्नेहरूका निम्ति रुचिमा परेको देखिन्छ ।

उनै विन्दा पाण्डेसँग अनलाइनखबरकर्मी सइन्द्र राईले पुस्तक भुइँमान्छे र वर्तमान एमालेलाई तुलना गरेर संवाद गरेका छन् । प्रस्तुत छ, संवादको सम्पादित अंशः

एमाले जसरी चलिरहेको छ, त्यसलाई हेर्दा तपाईंले लेख्नुभएको पुस्तक ‘भुइँमान्छे’ अलिक भारी परेको हो ?

मैले अनुभूत गर्न पाएको छैन । किनभने, म असोजदेखि पार्टी अफिस नै गएको छैन । नेताहरूसँग भेटघाट पनि भएको छैन । त्यसले गर्दा पार्टीभित्र कत्तिको ऐंठन छ, थाहा छैन । केही साथीहरूले पढ्नुभएको छ, तर धेरै साथीहरूले पढिसक्नुभएको जस्तो लाग्दैन । तर एउटा ऐतिहासिक पृष्ठभूमि बुझेर एमालेको राजनीति गर्नुपर्छ भन्ने हो भने यो पुस्तक पढ्नुपर्छ ।

जुन विषयलाई लिएर निलम्बनमा पर्नुभयो, अनि यो पुस्तकमा जस्तो अन्तर्वस्तु उल्लेख छ, त्यसले भारी पर्ने नै देखिन्न र ?

इतिहासमा भएको कुरो लेखिएको हो । यही कुरालाई भारी मान्ने हो भने किन राजनीति गर्नुपर्‍यो र !

तर यो किताब लिएर म फेरि उनै भुइँमान्छेहरूलाई (जसबारे पुस्तकमा लेखिएको छ) भेट्न गएको थिएँ । त्यो सबै ठाउँमा जाँदा धेरै साथीसँग भेटघाट भयो । कोही अलि-अलि नेता, धेरै चाहिँ कार्यकर्ता, सदस्य, समर्थकहरूसँग पनि भेटघाट भयो । उहाँहरू सबैले ‘तपाईंले उठाएको कुरा एकदमै ठिक थियो । हामीले उठाउन सकेनौं’ भन्नुभयो ।

घर चाहिँ (पार्टी कार्यालय) मदननगरमै बन्नुपर्छ र हामीले हाम्रो घर भन्न पाउनुपर्छ भन्ने देशव्यापी रूपमा मैले देखें ।

साढे पाँच लाख पार्टी सदस्यबाटै पार्टी कार्यालय बन्नुपर्छ भन्ने सुझाव रहेछ ?

५ लाख प्लस । शुभचिन्तक, समर्थकहरूको पनि । जुन कुरा उठाएर म निलम्बनमा परें । हिजो जसले नेकपा एमालेको जग बनायो, ती जगको मैले प्रतिनिधित्व गरेको रहेछु भन्ने फिलिङ गरायो ।

निलम्बन पनि फुकुवा भएको छ । पावर यही भुइँमान्छेहरूकै सन्देश हो ?

६ महिना भन्नुभएको थियो । ६ महिना एक दिनपछि मात्रै गर्नुभयो नि फुकुवा ।

एक दिन पनि छुट भएन ?

एक दिन बढी भयो ।

निलम्बनमा परेपछि एमाले कसले बनायो भन्ने खोजी गर्न थाल्नुभयो भन्ने कतिपयमा देखिन्छ । तर पुस्तक पढ्दा लाग्छ, यति छोटो अवधिमा यो सम्भव छैन…

त्यस्तो होइन । यो किताब लेख्न २०७८ सालको वैशाखबाट नै सुरु गरेको थिएँ । गएको भदौमै अन्तिम पाण्डुलिपि तयार भएको थियो । माले स्थापना दिवसमा बजारमा ल्याउन सकिन्छ कि भन्ने थियो, ११ पुसमा । त्यसबेला ल्याएको भए अर्को ऐंठन हुने रहेछ । किनकि, १० गते त मलाई कारबाही भयो ।

त्यसपछि पार्टी स्थापना दिवसमा (वैशाख ९ गते) ल्याउनुपर्छ भन्ने लागिरहेको थियो । तर पार्टीले छुट्टी (६ महिना निलम्बनको निर्णय) दियो । अनि अलिकति गति दिन पाएँ ।

त्यसपछि मैले के सोचेँ भन्दा, यो किताब जसको बारेमा लेखियो, त्योसँग जोडिएको सुखानी पनि हो । २१ फागुन २०२९ मा सुखानीमा यो किताबको भुइँमै रहेका हाम्रा नेताहरूको हत्या गरिएको थियो । त्यही ठाउँमा गएर त्यही दिन किन नगर्ने भन्ने भयो ।

फेरि किताबको जुन शीर्षक छ, त्यो शीर्षकले मागेको मान्छेले गर्नुपर्छ भन्ने पनि भयो । र, कोके बनाउँदा आश्रय दिने भक्तबहादुर आले र माले बनाउँदा आश्रय दिने टेकबहादुर राईलाई सुखानी बोलाएर उहाँहरूबाट सार्वजनिक गरियो ।

विमोचनका क्रममा केही झमेला पनि आइलागेको थियो क्यारे, होइन ?

सुरुमा औपचारिक कार्यक्रम थिएन । तर इलाम र झापाको पार्टीबाट औपचारिक कार्यक्रम राख्ने भन्नुभयो । त्यही औपचारिक कार्यक्रमबाट पुस्तक विमोचन गरौं भन्नुभयो । निलम्बनको कुरा र किताब त फरक कुरा हो । त्यसैले साथीहरूले सही निर्णय गर्नुभएछ भन्ने भयो ।

तर, सार्वजनिक हुने तीन दिनअघि यो किताब पार्टीको केन्द्रीय प्रकाशन तथा प्रचार-प्रचार विभागबाट सेन्सर पास गरेर आउनुस् भन्ने खालको कुरा भयो ।

जिन्दगीमा कहिल्यै नसुनेको कुरा भयो । पञ्चायतकालमा पनि कुनै आर्टिकल, पुस्तक सेन्सर गरेर निकालिएन । पञ्चायत फालेर बहुदल, बहुदलीय व्यवस्था पार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रमा गएपछि सेन्सर पास गरेर सार्वजनिक गर्ने भन्ने कुरा मबाट हुँदैन भनेँ ।

माथिबाट निर्देशन नै त्यस्तै छ भने त्यो कार्यक्रममा नगरौँ, तपाईंहरू पहिला कार्यक्रम सक्नुस्, यसपछि छुट्टै सार्वजनिक गरौंला भन्ने कुरा भयो ।

निलम्बित मान्छेले लेखेको पुस्तकले अप्ठ्यारो पार्छ भनेर हो कि ?

मैले मेरो विभागबाट लेखेको होइन, यो त मेरो किताब हो नि । पछि मैले सोधेँ- पुस्तक सेन्सरको कुरो कहाँबाट आयो भनेर । प्रदीप ज्ञवाली पनि कुरा भयो । उहाँले पनि यो नहुने कुरो भन्नुभयो । पछि मैले अध्यक्षसँग भेट्दा पनि भनेँ ।

झापा जाँदा तपाईंलाई पनि भन्नुभयो होला साथीहरूले । मलाई त सेन्सर पास गरेर किताब ल्याउनु भन्नुभयो । मैले चाहिँ जिन्दगीमा कहिल्यै त्यस्तो नसुनेको कुरा हो । मबाट हुँदैन भनेर सेन्सर पास नगरी लेखेको किताब यही हो कमरेड भनेर अध्यक्षजीलाई नै दिएर आएँ । त्यो अलि अप्ठ्यारो-अप्ठ्यारो खालको कुरा थियो ।

अप्ठ्यारो-अप्ठ्यारो भन्दा पनि वर्तमान एमाले यस्तै हो पनि भन्न थालेछन् क्यारे ?

थाहा छैन, कसले निर्देशन दियो, आजसम्म खुलेको छैन । तर त्यहाँका साथीहरूले केन्द्रबाट यस्तो आएको छ भन्नुभयो, मैले त्यो काम मबाट हुँदैन भनें । र, छुट्टै गरियो ।

प्रतिक्रिया चाहिँ कस्तो पाउँदै हुनुहुन्छ अहिले ?

मैले ५/७ वटा किताब लेखेँ । यसलाई चाहिँ सबैले मेरो किताब भन्ने अपनत्व प्राप्त गरेको महसुस भइरहेको छ । यो किताब तिनै भुइँमान्छेहरूको हो, जसले पार्टी बनाए । तिनै भूमिगत नेताहरूको कथा हो । त्यसैले मैले लेखे पनि स्वामित्व उहाँहरूमै छ जस्तो लाग्न थालेको छ ।

यो पुस्तकमा कम्युनिष्ट आन्दोलनको इतिहास र पुनर्गठित एउटा धारको संघर्ष समेटिएको छ, सम्भवतः २०४६ सालभन्दा अगाडिको…

झापा आन्दोलनदेखि २०४६ सालमा बहुदल नआउँदासम्मको राजनीतिक आन्दोलन हेर्दा मुलुकभित्रै बसेर आन्दोलन गर्नुपर्छ भन्ने खालको काम मालेले गरेको रहेछ । सुरुमा झापा आन्दोलमा सशस्त्र विद्रोहका कुराहरू भए । तर सशस्त्र युद्धबाट जानु हुँदैन, जनतालाई कन्भिन्स गरेर परिवर्तन गर्नुपर्छ भन्ने बहस कोके बनेदेखि नै, खासगरी त्यसको नेतृत्व मणिलाल राईले गर्नुभएको रहेछ ।

बहस हुँदै जाँदा २०३७ सालबाट चाहिँ जनतालाई संगठित गरेर, सचेत बनाएर परिवर्तन गर्‍यौं भने मात्रै दिगो हुन्छ भन्नेमा मालेले जोड दियो । त्यसैले जनताको सचेत सहभागितामा निर्माण भएको पार्टी माले रहेछ ।

२०४६ साल भनेको धेरै अगाडिको कुरा हो । अहिले कसरी पार्टी बनाउने भुइँमान्छेहरूको याद आयो ?

नेपालको श्रमिक आन्दोलनमा महिला सहभागिताबारे मैले २०५७ सालमा किताब लेखेको हो । त्यो किताब किन लेखेँ भन्दा म ट्रेड युनियनमा जोडिँदा ‘ट्रेड युनियन एजुकेसन एन्ड लिटरेसी क्याम्पेन’ चलाइएको थियो ।
यो अभियान सञ्चालन गर्दा ट्रेड युनियनको इतिहास पढाउनुपर्ने एउटा कोर्स थियो । त्यसमा एउटा पनि महिलाको नाम थिएन । तर तथ्य अर्कै थियो ।

२००३ सालकै श्रमिक आन्दोलनमा नेतृत्वमा महिला हुनुहुन्थ्यो । पुरुष नेताहरू गिरफ्तार भइसकेपछि आन्दोलन सिथिल हुन पुग्यो । अनि दिव्या कोइरालाको नेतृत्वमा महिलाहरू सडकमा आन्दोलन तताएर गिरफ्तार भई जेल बस्नुभएको रहेछ । २००७ सालमा पनि नन्दा नेपालसहित २७ दिनसम्म अनसन बसेको, पार्वती पासवानले जुलुस गर्दागर्दै मैदानमै बच्चा जन्माएको र नामै हड्तालीमा राखिएको लगायत कुराहरू इतिहासमा भुलेका रहेछौँ ।

पुस्तक लेख्नेहरूले बेइमानी गरे ?

बेइमानीभन्दा पनि खोजिएन । पृथ्वीनारायण शाहको पालाकै कुरा गर्दा पनि बिसे नगर्चीको श्रीमतीको कुरा इतिहासमा छुटेको छ । सभामा बस्दा हतियार किन्नुपर्छ, तर पैसा कसरी संकलन गर्ने भन्ने कुरा उठ्यो । बेलुकी बिसे नगर्चीले यही कुरा घरमा गर्दा उहाँकी श्रीमती देउकीले ‘गोर्खा राज्यभरि कतिवटा घर छन्, एक-एक रुपैयाँ उठाए नि पुग्छ होला नि’ भनिन् ।

भोलिपल्ट यही कुरा सभामा बिसे नगर्चीले राखे र त्यसरी पैसा संकलन गरेर हतियार किनेको प्रसंग मैले कुनै दस्तावेजमा पढेको थिएँ । तर हाम्रो इतिहासमा महिलाको यो पाटो लेखिँदैन ।

महिलाको भूमिका छुटेर जाने रहेछ…

अँ । ट्रेड युनियनको मुभमेन्टमा पनि त्यो (महिला भूमिका) रहेनछ । पछि खोज्दै जाँदा हेटौँडा औद्योगिक क्षेत्रदेखि लिएर बुटवल औद्योगिक क्षेत्र, बालाजु औद्योगिक क्षेत्र, यातायात क्षेत्र, ट्रेकिङ क्षेत्र, सफाइ क्षेत्र, सबै आन्दोलनमा महिला थिए । अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गरेको थाहा भएर किताब लेखेँ ।

यसमा (भुइँमान्छे) आउँदा चाहिँ हाम्रा नेताहरूबीच (तत्कालीन नेकपा हुँदा) पार्टी कसले बनाएको भन्ने दाबी हुन थाल्यो । मेरियट होटलको वार्ता (नेकपाको विवादकै क्रममा) नमिलिसकेपछि कुरा गर्दा एकजना मिडियाकै साथीले सोध्नुभयो- झुप्रोमा बसेर बनाएको पार्टी फाइभ स्टारमा बसेर वार्ता गर्दा मिल्थ्यो त !

पछि ती झुप्रोका साथीहरू, जसले आश्रय दिनुभयो, उहाँहरूले पनि कथाहरू सुनाउन थाल्नुभयो । धेरै कथा त मैले पनि सुनेको थिइनँ । त्यो इमोसनल कुरा सुनिसकेपछि यो किताब तयार भयो ।

फेरि किताबकै कुरा गरौं । पढ्दै जाँदा लाग्यो- जसले आश्रय दियो, ऊ जोगी सरह छ । जसले आश्रय लियो, ऊ राजा जिन्दगी बाँच्दैछ । यस्तो निष्कर्षमा पुग्न सकिएला ?

त्यति साह्रै पनि होइन । धेरै परिवर्तन भएको छ तल पनि । उहाँहरूकै जीवनमा पनि परिवर्तन भएको छ । जस्तो- चितवनको नेपाल टोलको कुरा गर्नुभयो भने त्यहाँ एकजना विश्वकर्मासँग मैले के फरक पाउनुभयो भनेर सोधेको थिएँ । उहाँले भन्नुभयो- पञ्चायतकालमा एकजोर नयाँ जुत्ता लगायो भने पनि चोरेर लगाएको आरोप खेप्नुपर्थ्यो । पँधेरामा पनि सबै विष्टहरूले पानी थापिसकेपछि मात्र पालो आउँथ्यो । हाम्रा छोराछोरी स्कुल जाने स्थिति बन्दैनथ्यो । हाम्रा घरमा बत्ती बल्दैनथ्यो ।

तर, आज घरको छेउमा सडक आएको छ । घरमा बत्ती आएको छ, धारा आएको छ, छोराछोरी स्कुल जान पाएका छन् ।

तपाईंले भनेको परिवर्तन आन्दोलनका हिस्सेदारका रूपमा प्राप्त गरे कि समाजको एक सदस्यको नाताले सबैको परिवर्तन हुँदा उसको पनि भयो ?

उहाँहरूले जुन खालको योगदान गर्नुभयो, त्यसले २०४६ सालको परिवर्तन भयो । आज भौतिक हिसाबबाट धेरै कुराहरू परिवर्तन भएका छन् । तर सबैको गुनासो हिजो जस्तो विभेद हुँदैन भनिएको थियो, त्यो भएन भन्ने छ । ‘हिजो समान हिसाबले उपभोग गर्न पाउँछन् भन्ने सिकाइएको थियो, आज हामीले बनाएको पार्टी सत्तामा गएपछि यति परिवर्तन गर्‍यौं, देख्यौँ’ भनेर ठूलो स्वरले भन्न पाएनौँ भन्ने गुनासो छ ।

अर्थात्, हिजो जसले पार्टी बनाए, ती मान्छेहरू आज किनारीकृत भए । र, जो पछाडि पार्टी सम्पर्कमा आए, उनीहरू (सुकिला-मुकिला मान्छेहरू) को वर्चस्व बढ्दै गयो ।

तपाईँले पुस्तकमा लेखेका धेरै नाम त नेताहरूलाई थाहै पनि नहोला, होइन ?

छैन । एउटा घटना त्यहीँ छ । जसले कोके बनाउँदा आश्रयको व्यवस्था गर्नुभयो, जुन नेता गएर सबैभन्दा धेरै त्यहाँ आश्रय लिनुभयो, पछि उहाँ पोजिसनमा हुँदा भेट्न जाँदा एकपल्ट सुरक्षा निकायले भित्रै जान दिएन । अर्कोपल्ट उहाँले सहज चिन्नुभएन । चित्तदुखाइ त्यस्ता कुराहरूमा छ । हिजो त्यत्रो दुःख गरेर जोगाएका नेताहरूले आज चिन्नु पनि हुन्न ।

उहाँहरूको धेरै माग छैन । गाउँ-ठाउँतिर कार्यक्रम हुन्छन् । त्यो कार्यक्रममा आउँदा उहाँहरूको नजिक जान पाउँदैनौँ । सुरक्षा निकायले परपर धकेल्छ । उहाँहरूका कुरा मात्रै एकोहोरो सुन्छौँ, हाम्रा कुरा सुनाउनै पाउँदैनौँ भन्ने छ । फ्यान्सी होटलहरूमा बस्नुभन्दा कार्यकर्ताको घरमा बसिदिए अनौपचारिक हिसाबले कुराहरू सुनाउन पाउँथ्यौँ । हाम्रो कुराहरू अलिकति बढी उहाँहरूका पुग्थ्यो कि भन्ने न हो, भुइँमान्छेका कुरा ।

यस्तो प्रवृत्ति त अन्याय होइन ?

अन्याय हो । उहाँहरूले सुझाव त्यो हिसाबबाट दिनुभएको छ । त्यसैले यो किताब पढिसकेपछाडि लिडरसिपले कसरी लिन्छ भन्ने चाहिँ सबैभन्दा ठूलो प्रश्न हो ।

हिजो संकटको बेलामा जसले पार्टी बनायो, आज त्यो मान्छेसँग एमाले छैन भन्न सकियो ?

उहाँहरूको (भुइँमान्छे) त्यो खालको पहुँच छैन । र, पार्टी जनताको बीचबाट अलग्गिँदै छ भन्ने कुरा नेतृत्वले बुझ्नुपर्छ भन्ने उहाँहरूको सुझाव छ । जस्तो- टेकबहादुरजीलाई मैले विमोचन गर्दागर्दै तपाईं कुन कमिटीमा हुनुहुन्छ ? भनेर सोधेको थिएँ ।

उहाँले ‘म सदस्य छु । एउटा सल्लाहकारमा राखेको छ । तर म मिटिङमा जान्नँ कमरेड’ भन्नुभयो ।

किन भन्दा ‘पहिला जस्तो राख्ने स्थिति छैन’ भन्नुभयो । उहाँहरूका कुरा सुन्ने, ताली बजाउने मात्रै हुन्छ । त्यो भएर सदस्यता चाहिँ रिन्यू गरिरहेको छु । तर बैठकहरूमा जान्नँ भन्नुहुन्थ्यो ।

भक्तबहादुरजीले पनि त्यही भन्नुभयो । भक्तबहादुरजी अहिले एउटा पसल चलाएर बस्नुभएको छ । उहाँले पनि पार्टी सदस्य त नमरुन्जेलसम्म रिन्यू गरिरहन्छु कमरेड, तर हाम्रो कुरा सुनाउने ठाउँ रहेन भन्नुभयो ।

हिजो जुन घरमा नेताहरूले आश्रय लिनुभयो, आज त्यही घरमा खान/बस्न सक्नु होला र ?

हिजो जुन हालत थियो, त्यही हालतमा आज उहाँहरूको (आश्रय दाताहरू) घर पनि छैन ।

मतलब नेताहरू फेरि त्यो घरमा जान-बस्न सक्नुहुन्छ ?

सीतापुरकै कुरा गरौँ । म तीनपल्ट गएँ । अस्ति किताब पुर्‍याउन जाँदा उहाँहरूले अलि ठट्टा गरेर भन्नुभयो- एउटा कोठा दिन सक्छौँ, फ्यान घुमेको । एसी चाहिँ छैन । तपाईं एयरपोर्ट आएर फोन गर्नुभयो भने एउटा मोटरबाइक पठाउन सक्छौँ । हिजो त्यही सन्ठीको घरमा सुतेर आएका हुन्, नेताहरू ।

तर, उहाँहरूको खुसी खोसिएको छ । हिजो सन्ठीको घर थियो, आज राम्रै घर बनेको छ । तर हिजो जति दुःख भए पनि बुवा-आमा, छोरा-छोरी र कमरेडहरूसहित एकै ठाउँ बस्थ्यौँ । तर आज कमरेडहरूसँग भेटै हुँदैन । बाउआमा, छोराछोरी पनि सँगै बस्न पाइएन । छोराछोरी सबै बाहिर गएका छन् काम गर्न । घर ठूलो छ, मान्छे छैन । त्यसैले कम्तीमा हाम्रा छोराछोरीले यही मुलुकमा काम गरेर खाने कसरी भन्ने काम पार्टीले सत्तामा हुँदा गरोस् भन्ने छ ।

तर, भुइँमान्छेसँग फेरि जोडिने सम्भावना देखिन्छ र ?

पार्टी सदस्यहरूको भूमिका बढाउन सक्यौँ भने फेरि त्यो ठाउँमा पुग्न सक्छौँ भन्ने लाग्छ । मिसन ग्रासरुटदेखि जति अभियान चलायौं, त्यो सबैमा यस्तो सुझाव आएको छ ।

निर्वाचनमार्फत राज्यको निकायबाट सामाजिक परिवर्तनको पहल गर्ने भइसकेपछि त्यहाँ हाम्रा उम्मेदवार चयन गर्दा नै त्यही तहभित्र भएका सदस्यहरूको भूमिका हुनुपर्‍यो । आफ्ना उम्मेदवार को ठिक हुन्छ भन्ने उनीहरूले चयन गर्न पाउनुपर्‍यो ।

पार्टी कमिटीहरू बनाउँदा त्यहाँका प्रतिनिधिले स्वतःस्फूर्त आफ्नो नेतृत्व चयन गर्ने स्थिति सिर्जना हुनुपर्‍यो ।

माथिबाटै तोकिएका नेता, उम्मेदवार हुनु भएन । यसले पार्टी निर्णय र नेतृत्वप्रति अपनत्व बढाउँछ ।

जनताको बहुदलीय जनवादले भन्ने त्यही हो । लोकतन्त्रको मक्सद पनि त्यही हो । निर्वाचनमा उम्मेदवार माथिकै, नेता चयन माथिबाटै नहुने हो भने भइँमान्छेहरूको भूमिका बढ्छ । भुइँमान्छेको बीचमा पार्टी स्थापित हुन्छ । मलाई भएको अनुभूति हो- जसले पार्टीको जग हाल्यो, जग अहिले पनि बलियो नै छ ।

नेताहरूले चाहेमा पुस्तकमा उल्लेखित भुइँमान्छेहरू सजिलै भेट्न सक्छन् ?

चाहनुभयो भने सक्नुहुन्छ । र, मैले यहाँ कुरा सम्झेँ- समावेशिताको कुरा २०६२/०६३ को आन्दोलनपछि आयो भन्ने छ। अनि महिला, दलित, मधेशीको कुरा गर्दा दिएकै छ नि भन्ने भाष्य छ । तर यो किताब पढ्दा थाहा हुन्छ, तिनै मधेशका जनता, श्रमजीवी वर्ग, दलित र महिलाले यो पार्टीको जग बसालेका हुन् ।

तर, अहिले पनि पदाधिकारीमा हेर्‍यो भने एमालेमा मुस्किलले १९ जनामा दुईजना हुनुहुन्छ…

यो किताब लेखिराख्दा पार्टी सचिवालयको रिङ याद आएको थियो । अध्यक्ष बसेको दाहिनेतिर हेर्दै गयो यी भुइँमान्छेहरूसँग लामो समय बिताएका धेरै नेताहरू हुनुहुन्छ । तर नीति निर्माण गर्ने ठाउँमा उहाँहरूको भूमिका चाहिँ के छ त भन्ने प्रश्न छ । अनि अध्यक्षको कुर्सीभन्दा देब्रेतिर हेर्नुभयो भने थोरै मान्छे मात्रै यी भुइँमान्छेको संगतमा रहेर पार्टी निर्माण गरेका व्यक्तिहरू पाउँछौँ । बोलवाला कसको छ भन्दा दाहिनेतिर बस्नेको छैन, देब्रेतिर बस्नेको छ । जसले यो भुइँमान्छेसँग जिन्दगी बिताएनन् ।

भुइँमान्छेहरूको गुण तिर्नु नपर्नेहरूको वर्चश्व पार्टीमा भयो ?

अध्यक्ष कमरेड पनि २०४४ सालसम्म जेलमै रहनुभयो । एकदमै धेरै पार्टी विस्तार २०४३ सालको निर्वाचनमा जनपक्षीय भएर जाँदा भयो । २०४४ सालमा उहाँ (केपी ओली) बनिसकेको पार्टीलाई सञ्चालन गर्ने जिम्मेवारीमा आउनुभयो । अहिलेको महासचिव विद्यार्थी आन्दोलनबाट आउनुभएको हो ।

उपमहासचिवहरू, एकजना भूमिगत भएरै आउनुभयो । अरु दुईजना शिक्षक र मजदूर आन्दोलनबाट आउनुभयो पछिल्लो चरणमा । अरु धेरैजना विद्यार्थी आन्दोलनबाट आउनुभयो ।

मैले त्यही भएर भनेको, अध्यक्षको देब्रेतिर बस्नेमा प्रदीप ज्ञवाली मात्रै भूमिगतै गएर भुइँमान्छेले जोगाएका नेता हुनुहुन्छ । तर उपाध्यक्षहरूमा त प्रायः सबै जनताको घरमा आश्रय लिनु भएका नेताहरू हुनुहुन्छ । अध्यक्ष बीचमा हुनुहुन्छ भन्छु ।

पार्टीमा प्रभाव चाहिँ अध्यक्षसहित देब्रेतिर बस्नेहरूकै छ ?

अहिले कार्यकारी हिसाबले धेरै देखिने भनेको देब्रेतिरै बस्ने हो नि ।

तपाईँको किताब चाहिँ कति नेताले पढ्नुभयो जस्तो लाग्छ ?

थाहा छैन, कतिले पढ्नुभयो । अध्यक्षलाई त मैले हातैमा पुर्‍याइदिएको छु । उपाध्यक्षहरू ४/५ जनाले त पढ्नुभएको छ । प्रदीप ज्ञवालीले पढ्नुभएको छ । जो हिजो भूमिगत काम गरेरै आउनुभएका नेताहरू नेतृत्वमा हुनुहुन्छ, उहाँहरूले कम्तीमा यो किताब पढ्नुभएको छ । उहाँहरूलाई यसले छोएको पनि छ जस्तो लाग्छ । तर भुइँमान्छेसँगै बसेर अलिकतिसमय नबिताएका नेताहरूले कति पढ्नुभयो, त्यो मलाई थाहा छैन ।

यो तीन महिनाको बीचमा झन्डै दुई हजार किताब बिक्री भएको छ । समीक्षा मात्रै एक दर्जन बढी साथीहरूले लेख्नुभएको छ । सामाजिक सञ्जालमा हेर्दा हरेक दिनजस्तो कसै न कसैले केही लेखिराख्नुभएको छ । उहाँहरूप्रति आभार छ । यो पढिसकेपछि ती भुइँमान्छेहरूको स्थिति के छ भन्ने एकपल्ट सुन्नुस् भन्ने मेरो आग्रह छ ।

हिजो कसको साथ लिइयो भन्ने यो पुस्तकले बताउँछ, तर अब कसको साथ लिनुपर्ला भन्ने पनि छान्नुपर्ने होला नि ?

किताब पढ्नुभएका साथीहरूबीचमा एउटा छलफल भएको थियो । त्यहाँ एकजना साथीले भन्नुभयो- हामी ‘आमा’ उपन्यास पढेर आन्दोलनमा लागेको, ‘युवाहरूको गीत’ र ‘अग्निदीक्षा’ पढेर अभिप्रेरित भएको । तर यो किताब पढ्दै जाँदा आमा उपन्यासका आमाहरू पनि अनुभूति गरेँ भन्दै उहाँले पुस्तकको एउटा उदाहरण दिनुभयो ।

तपाईँले भुईँमान्छेको जस्तो संर्घष लिपिबद्ध गर्नुभएको छ, त्यो एकातिर छ । तर एउटै अर्बपति व्यक्तिले कार्यालय बनाइदिने वर्तमान अर्कातिर छ । अब इतिहास स्वीकार्ने कि वर्तमान निर्णय ?

इतिहास फिर्ता लिन सम्भव हुँदैन । इतिहास भनेको त यिनै मान्छेहरूले बनाएको हो, पार्टी ।

दुवै सँगसँगै जान सम्भव छ त ?

आफ्नो धरातल छोड्न हुँदैन । एउटै मान्छेसँग अर्बको दान लिने कुराले भुइँमान्छेहरूलाई कसरी छुन्छ भन्ने एउटा प्रसङ्ग सुनाउँछु ।

विष्णु कमरेड र प्रश्रित कमरेड जेलबाट छुटेर जुन घरमा बस्नुभयो, उहाँहरूलाई बस्न दिएवापत एकजनाले एक वर्ष जेल र अर्काले हलिया बस्नु परेको थियो । उहाँलाई भेट्न गएँ, यो किताब लिएर । त्यतिखेर म निलम्बनमा परिसकेको थिएँ । उहाँहरूले के भन्नुभयो भने, हामीले दिएको १०० ले पुग्दैन भने अर्को साल अर्को १०० दिन तयार छौँ । तर त्यो घर (पार्टी कार्यालय) हाम्रो पनि हो भन्न चाहिँ पाउनुपर्छ । हामीले पठाएको पैसाबाट जस्तो घर बन्छ, त्यो घर मदननगरमा बनाउन मिल्दैन र कमरेड ? भन्नुभयो ।

मैले उहाँहरूलाई भनेँ- विष्णु कमरेडदेखि अरु ठूला नेताहरू पनि यता आउनुहुन्छ । आएको बेलामा तपाईंहरूले पनि भन्नुस् न । मैले त भनेकै कारणले जिम्मेवारीबाट बाहिर छु भन्दा उहाँहरूले ‘हाम्रो त पहुँच नै हुँदैन’ भन्नुभयो ।

आम कुरा यस्तो छ । मदनको नेतृत्वमा बनेको जनताको बहुदलीय जनवाद बोकिरहेका छौँ । हेडक्वार्टर रहेको क्षेत्रलाई मदननगर नाम राखेका छौं । त्यो ठाउँमा हामीसँग जग्गा छ । हामीले उठाएको पैसा पनि छ भने त्यही ठाउँमा केन्द्रीय कार्यालय बनाउँदा मदनको मात्रै होइन, हामी भुइँमान्छेको पनि सम्मान हुन्छ भन्ने उहाँहरूको कुरा छ ।

चिनुमान चौधरीलाई भेट्न जाँदा त्यहाँका साथीहरूले पनि यही भन्नुभयो । सीतापुर जाँदा नि भन्नुभयो । कचुरी जाँदा पनि साथीहरूले पैसा पुग्दैन भने अर्को साल पनि थप्छौं भन्नुभयो ।

ठूला धनीहरूले पनि पैसा दिन मिल्दैन भन्ने होइन । तर एउटा व्यक्तिसँग जसरी लिने कुरा भयो, यसले भुइँमान्छेको सम्मान भएन, न्याय भएन भन्ने उहाँहरूको कुरा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?