
२५ असार, धनगढी । दार्चुलाको शैल्यशिखर नगरपालिका-६ स्थित मालिकार्जुन अगुवा कृषक समूहका अध्यक्ष जनकसिंह धामीले सोही समूहका सचिव र कोषाध्यक्षको मृत्यु भइसकेको भन्दै नगरपालिकालाई पत्र लेखेका छन् ।
कृषक समूहका अध्यक्ष जनकसिंहले समूहका कोषाध्यक्ष जानकी धामी र सचिव मन्जु धामीको मृत्यु भइसकेको भन्दै नगरपालिकाको कृषि शाखालाई पत्र पठाएका हुन् ।
जनकसिंहको पत्रका आधारमा नगरपालिकाका कृषि प्राविधिक दिपकराज विष्टले ग्लोबल आईएमई बैँकको गोकुलेश्वर शाखालाई पत्र लेख्दै खाता नवीकरण गरिदिन आग्रह गरेको पाइएको छ । उक्त पत्र अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
‘उपरोक्त विषयका सम्बन्धमा यस शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मा गठित श्री मालिकार्जुन अगुवा कृषक समूहको खाता निष्क्रिय रहेको हुँदा उक्त समूहको खाता नं. २०१०१०१००००३४४ नवीकरण गर्नुका साथै साविकका कोषाध्यक्ष जानकी धामी र सचिव मन्जु धामीको मृत्यु भइसकेको हुँदा अब सो समूहको खाता सञ्चालन नयाँ अध्यक्ष जनकसिंह धामी र सचिव बसन्ती बोहराको हस्ताक्षरबाट सञ्चालन हुनेगरी नवीकरण गरिदिनहुन सिफारिस साथ अनुरोध गरिन्छ,’ नगरपालिकाले बैंकलाई पठाएको पत्रमा उल्लेख छ ।
नगरपालिकाका कृषि प्राविधिक विष्टले नगरप्रमुख विजयसिंह धामीका छोरा समेत रहेका कृषक समूहका अध्यक्ष जनकसिंहले पठाएको पत्रका आधारमा बैँकलाई पत्राचार गरेको पाइएको छ ।
तर, कृषक समूहका अध्यक्षले पलेखेजस्तो उनीहरूको मृत्यु भने भएको छैन ।
शैल्यशिखर नगरपालिका-६ का वडाध्यक्ष जगदीश सिंह धामीले मालिकार्जुन कृषक समूहका अध्यक्ष जनकसिंहले लेखे जस्तो कोषाध्यक्ष र सचिवको मृत्यु नभएको बताए । वडाध्यक्ष धामीले मृत्यु भइसकेको अवस्थामा समेत वडा कार्यालयले मृत्यु प्रमाणपत्र दिँदै आएकोमा गलत मनसाय राखेर कीर्ते काम भएकाले कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
‘यो कुरा मैले पनि सामाजिक सञ्जालबाट हिजो मात्र थाहा पाएको थिएँ । मालिकार्जुन कृषक समूहका अध्यक्ष जनकसिंह धामीले कोषाध्यक्ष र सचिवको मृत्यु भइसकेको भनेर नगरपालिकालाई पठाउनुभएको रहेछ,’ वडाध्यक्ष धामीले भने, ‘तर त्यो झुटो हो । उहाँहरूको मृत्यु भएको छैन । यहाँ शक्तिको बलमा कीर्ते काम भएको छ । तत्काल कारबाहीको दायरामा ल्याउनुपर्छ ।’
उनका अनुसार सरकारले शैल्यशिखर नगरपालिका-६ लाई ओखर पकेट क्षेत्र घोषणा गरेको छ । चालु आर्थिक वर्षमा कृषि कार्यक्रमअन्तर्गत ओखर पकेट क्षेत्रका लागि १२ लाख बजेट आएको थियो । मालिकार्जुन सहितका ४ वटा कृषक समूहमार्फत ओखरको बिरुवा रोप्न दुई लाख ४० हजार रुपैयाँका दरले अनुदान दिने व्यवस्था गरिएको थियो ।
अन्य तीन समूहले काम सम्पन्न गरेर यसअघि नै नगरपालिकाबाट भुक्तानी लगिसकेका थिए भने मालिकार्जुन कृषक समूहले अहिलेसम्म काम नगरेको पाइएको छ । तर भुक्तानी लिने उद्देश्यले समूहका अध्यक्षले कोषाध्यक्ष र सचिवको मृत्यु घोषणा गरेर नगरपालिकालाई पत्र नै पठाएपछि थप विवाद चुलिएको छ ।
आवेशमा पत्र लेखेको हुँ, अरुको दोष छैन : जनकसिंह धामी
मालिकार्जुन कृषक समूहका अध्यक्ष जनकसिंह धामीले ओखर पकेट क्षेत्र कार्यक्रममा सचिव र कोषाध्यक्षले आफूले बिरुवा नपाएको भन्दै विवाद गरेको दाबी गरेका छन् ।
धामीले दुवैजनाले विवाद गर्दै बैठक बोलाउँदा समेत नआउने अवस्था बनेपछि आवेशमा आएर आफूले नगरपालिकालाई मृत्यु भइसकेको बेहोराको पत्र पठाएको स्वीकार गरे । नगरपालिकाले बैँकलाई लेखेको पत्रसमेत आफैंले तयार गरेको दाबी गर्दै उनले उक्त कार्यमा अरु कसैको पनि गल्ती नभएको बताए ।
‘ओखरका बिरुवा पाएनौँ भनेर सचिव मन्जु धामी र कोषाध्यक्ष जानकी धामीले मलाई असहयोग गर्नुभयो । मैले पनि रिसको झोकमा उहाँहरूको मृत्यु भइसकेको पत्र लेखेर नगरपालिकालाई बुझाएको हुँ,’ धामीले भने, ‘कृषि प्राविधिक दिपकराज विष्टले हस्ताक्षर गरेको पत्रको बेहोरा पनि मैले नै लेखेको हुँ । यसमा उहाँहरू कसैको कुनै दोष छैन ।’
पत्र लेखेर अनुदानको रकम हत्याउने प्रयास भए पनि नगरपालिकाले भुक्तानी भने नदिएको जनाएको छ ।
जनकसिंह शैल्यशिखर नगरपालिकाको भेटेनरी शाखामा नाप्रासका रूपमा समेत कार्यरत रहेको पाइएको छ ।
प्रतिक्रिया 4