
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल बीमा प्राधिकरणले रसुवा बाढीको क्षति विवरण संकलन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।
- क्षति विवरण हरेक बिहीबार अद्यावधिक गर्न प्राधिकरणको निर्देशन छ।
- प्राधिकरणले क्षतिका दाबी र भुक्तानी छिटो र सहज गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको हो।
२५ असार, काठमाडौं । नेपाल बीमा प्राधिकरणले मंगलबारको रसुवा बाढीले पुर्याएको क्षतिको विवरण संकलन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।
पीडितबाट आएको मागदाबीका विवरण हरेक बिहीबार प्राधिकरणमा अद्यावधिक गराउने गरी निर्देशन दिएको हो ।
बाढीका कारण रसुवा भन्सार कार्यालय यार्डमा क्षति पुगेको छ । ईभी चार्जिङ स्टेसनमा क्षति पुगेको छ । साथै, रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा समेत क्षति पुगेको छ ।
बाढीका कारण ९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । सुरक्षा निकायले ५५ जनाको उद्धार गरेको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार अहिलेससम्म ३५ युनिट ईभी गाडी बगेको पुष्टि भएको छ ।
२३ युनिट कन्टेनर ट्रक सामान सहित बगेको पुष्टि भइसकेको छ । सिनो ट्रक ६ वटा बगेको पुष्टि भएको छ । आयात–निर्यात व्यवसायीका अनुसार भन्सारमा पार्क गरेर राखिएका विद्युतीय गाडी बगाएको दाबी गर्दै आएका छन् ।
उक्त बाढीका कारण भएको क्षतिको दाबी र भुक्तानी सन्दर्भमा समेत प्राधिकरणले बीमा कम्पनीलाई तत्काल राफसाफ गर्न निर्देशन दिएको छ ।
बाढीबाट भएको क्षतिमा बीमा क्षेत्रले कभर गर्नुपर्ने कति हुन्छ भन्ने यकिन भइनसकेको प्रधिकरणले जनाएको छ । तर, बाढी पीडितबाट आएको दाबी शीघ्र दाबी फछ्योट गर्न प्राधिकरणले सम्बन्धित कम्पनीहरूलाई निर्देशन दिइसकेको छ ।
वर्षा तथा बाढी–पहिरोका कारण बीमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजता मध्यनजर गर्दै त्यसबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फर्छ्योट गर्न बीमा कम्पनीलाई निर्देशन दिएको हो ।
साथै, उल्लेखित कारणले भएको क्षतिको विवरण साप्ताहिक रूपमा तथ्यांक प्राधिकरणमा पेस गर्नसमेत निर्देशन दिएको छ ।
प्रतिक्रिया 4