
News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवागढी बाढीले ३ सय ५० मेगावाटका आयोजना निर्माण कार्य रोकिएको छ र २ सय ५० मेगावाट क्षमताका आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ।
- इप्पानले सार्वजनिक गरेको तथ्यांक अनुसार रसुवागढी, त्रिशूली, चिलिमे, माथिल्लो मैलुङ, देवीघाट र मैलुङ खोला जलविद्युत् आयोजनामा उत्पादन बन्द भएको छ।
२६ असार, काठमाडौं । मंगलबार (२४ असार) मा आएको रसुवागढी बाढी वितण्डाले ३ सय ५० मेगावाटका आयोजना निर्माणको काम रोकिएको छ । साथै, २ सय ५० मेगावाट क्षमताका आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार आधा दर्जन आयोजनाबाट उत्पादन रोकिएको हो ।
चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोशी) मा आएको बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका नेपालतर्फका १० भन्दा बढी जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ ।
नेपाल र चीन जोड्ने मितेरी पुल बगाउँदै टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहमा समेत ठूलो क्षति पुर्याइ ७ जनाको ज्यान जानुका साथै १९ जना बेपत्ता छन् ।
इप्पानले सार्वजनिक गरेको विवरण अनुसार १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत्, ६० मेगावाट त्रिशूली–३ए जलविद्युत् आयोजना, २५ मेगावाट त्रिशूली जलविद्युत् केन्द्र, २२ मेगावाट चिलिमे जलविद्युत्, १४ मेगावाट माथिल्लो मैलुङ, १४ मेगावाट देवीघाट जलविद्युत् परियोजना र ५ मेगावाटको मैलुङ खोला जलविद्युत्को उत्पादन बन्द भएको छ ।
यीमध्ये मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत् केन्द्रको विद्युत् प्रवाह हुने त्रिशूली–३बी हब सबस्टेसनमा क्षति भएका कारण उत्पादन बन्द भएको हो ।
देवीघाट, त्रिशूली र त्रिशूली–३ए बाहेक अन्य सबै जलविद्युत् आयोजना निजी क्षेत्र समेतको सहभागितामा निर्माण भएका आयोजना हुन् । निर्माणाधीन अवस्थाका सबै आयोजना निजी क्षेत्रको अगुवाइमा निर्माण भइरहेका जलविद्युत् आयोजना हुन् ।
निर्माणाधीन आयोजनामा २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१, १ सय मेगावाटको सुपर त्रिशूली, ३७ मेगावाटको त्रिशूली–३बी जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्याउँदा यी आयोजनाको निर्माण कार्य रोकिएको छ ।
त्रिशूली नदी करिडोरको विद्युत् प्रसारण गर्ने त्रिशूली–३बी हब सबस्टेसन र प्रसारण लाइनमा समेत क्षति पुगेका कारण यहाँबाट उत्पादन हुने विद्युत् आगामी केही दिनसम्म उत्पादन र प्रसारण नहुँदा हरेक दिन करोडौं रुपैयाँको उत्पादन घाटा बेहोर्नुपर्ने देखिएको इप्पानको भनाइ छ ।
टिमुरे सुक्खा बन्दरगाहबाट दर्जनौं मालवाहक कन्टेनर र भन्सार बिन्दुमा राखिएका सयौँ गाडीसमेत बाढीले बगाएको, निर्माणाधीन सुक्खा बन्दरगाह पूर्णरूपमा खण्डहर बनेको र नेपाल–चीन मुख्य व्यापारिक नाकाको पुल नै बगाउँदा यसले नेपाली व्यवसायीमा पारेको प्रभावप्रति इप्पानले दु:ख व्यक्त गरेको छ ।
नेपाल र चीनबीच वार्षिक १ खर्ब रुपैयाँभन्दा बढीको व्यापार हुने मुख्य नाका बन्द हुँदा यसले नेपाल सरकारको राजस्व संकलनमा समेत गम्भीर असर पार्ने हुँदा जतिसक्दो छिटो नाका सुचारु हुने वातावरण बनाउन पनि सरकारसँग आग्रह गरिएको छ ।
प्रतिक्रिया 4