
News Summary
Generated by OK AI. Editorially reviewed.- निशान्त आचार्य नेपाली युवा गितारवादक थिए, जो ०७९ माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा निधन भएका थिए।
- उनी फ्रिस्टाइल गितार बजाउने र सिकाउने शैलीका लागि चर्चित थिए र युट्युबमा गितार र युकेलीली ट्युटोरियलहरू बनाउँथे।
कार्यालय जानुअघि क्याफे छिर्छु । उही उमेर समूहका तन्नेरीहरू गितार बजाइरहेका छन् । गाइरहेका छन् ।
वास्ता गर्दिनँ । सञ्जाल खोल्छु । थाहा पाउँछु -आज गुरु पूर्णिमा ।
ओहो ! गितार अनि गुरुपूर्णिमा । एक्कासी निशान्त आचार्य दाइको याद आउँछ । उनको ट्युटोरियल हेर्दै गीतार बजाउन सिकेको क्षणको सम्झना आउँछ । हामी भेट्ने कुरा गर्दागर्दै उनी अस्ताउन पुगेको घटनाको झल्को आउँछ । मन भारी हुन्छ ।
थाहा दिउँ, उनी चर्चित युवा गितारवादक थिए । धेरैका गितार गुरु थिए । सांगीतिक करियरलाई अझै गति दिने बेला ०७९ माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा उनी अस्ताउन पुगे ।
विशेषत: गितार बजाउने र सिकाउने शैलीका कारण उनी चर्चित थिए । उनी फ्रिस्टाइल (बजाउने एक प्रकारको शैली) मा गितार बजाउँथे । र बिन्दास पारामा गितार सिकाउँथे।
कबवेभको मर्सिडिज् बेन्ज, ट्राइबल रेनको भनाइ, सबिन राईको कोमल त्यो तिम्रो, बिक्की गुरुङको मरिजाउँ लगायत गीतहरूको उनले फ्रिस्टाइल गितार कभर गरेका थिए ।
त्यस्तै ‘शुभ प्रभात गाइज्’, ‘शुभ सन्ध्या’ जस्ता शब्द विस्तारै उनको चिनारी बन्दै गइरहेको थियो । यी शब्दहरूमार्फत उनी भिडियो सुरु गर्थे । र, सजिलो/फुर्तिलो भाषामा गितार बजाउन सिकाउँथे ।
उनले गितार र युकेलीलीको ट्युटोरियलहरू बनाउँथे । जसमा गीतको वास्तविक धुनसँगै त्यसमा आफ्नोपन थपेर उनले ‘रअ’ तरिकाले सिकाउँथे । उनको बोलीको एउटा स्वाद थियो । छोटा वाक्य र अङ्ग्रेजी टोन मिसिएको बोली । त्यसले पनि धेरै जना सिकारु गितारवादक उनको प्रशंसक बनेका थिए ।
अहिले पनि फेसबुक, इन्स्टा, युट्युब, टिकटक आदिमा उनले बनाएका भिडियोहरू उस्तै छन् । पङ्क्तिकार स्वयंले उनका ट्युटोरियलहरू हेरेर नै गितार बजाउन सिकेको थियो । आज पनि साथीहरू भेट हुँदा उनको बारेमा चर्चा हुनेगर्छ ।
ट्युटोरियलबाहेक केसिक्स बिफोर नामक उनको म्युजिकल ब्यान्ड थियो । यसबाट उनले ‘एज डान्स’ र ‘बर्न्ड आउट’ नामक दुई इन्स्ट्रुमेन्टल निकालेका थिए । आउनेवाला त थिए । तर, समयले धोका दियो ।
आजकल पनि युट्युबमा ‘गितार लेसन’ सर्च गर्दा उनकै च्यानल आउँछ । उनको च्यानलमा एउटा एम्पको अनबक्सिङ गरेको अन्तिम भिडियो छ । त्यो देख्दा फेरि उनले ट्युटोरियल हाल्छन् र ‘म सिक्छु’ भन्ने भाव आउँछ ।
वास्तविकता स्वीकार गर्न अझै मन तयार हुँदैन ।
लाग्छ, त्यो दुर्घटना भएकै थिएन । उनको आत्मा टाढिएकै छैन । आवाज हराएकै छैन । अनि फेरि लाग्छ, त्यही त हो निशान्त दाइको जादू-संसारबाट विदा भए पनि संगीतको सतहमा उनी आसपास छन् ।
खासमा उनले गितारलाई जीवनशैली बनाएका थिए । बिहानै उठेको छ, एउटा भिडियो अपलोड गरेको छ । कतै गएको छ, एउटा कभर हालेको छ । सञ्जालमा आउने प्रश्नहरूको उत्तर सहज रूपमा दिएको छ ।
यसरी नै बाँच्दाबाँच्दै उनी धेरै सञ्जाल प्रयोगकर्ता (सिकारु विद्यार्थी)का लागि एउटा ‘फ्रेन्डली मेन्टर’को रूपमा स्थापित भएका थिए । आफ्नै गाउँले दाइले सिकाएको जस्तै लाग्ने बनेका थिए ।
एकफेर पङ्क्तिकारले फेसबुकमार्फत मेसेज गरेर उनलाई भेट्ने कुरा गरेको थियो । कति सजिलै उनले ‘कुनै दिन मेसेज गर्नुस् न, भेटौं’ भनेका थिए । तर अब …
उनलाई श्रद्धाका साथ सम्झनुमै सीमित बनेको छ ।
आखिरमा उनी म जस्ता धेरैका गुरु नै त थिए । यस पवित्र दिनमा सम्झनुमा कुनै थकथकी मान्नु हुन्न । ज-जसले उनीबाट सिके अथवा सिकिरहेका छन्, उनलाई सम्झनु सम्मान पनि हो ।
निशान्त दाइ धेरै माथि जाने सामर्थ्य बोकेका नेपाली संगीतकार थिए । कसलाई दोष दिउँ ! उनी अल्पायुमै अस्ताउन पुगे । तर यो मनमा गुरु र साधकका रूपमा उनी सधैं बाँचिरहने छन् । उनले सिकाएको गितार बजाउने तरिका जीवनभर रहिरहने छ । उनका गीतले कानलाई शान्त पारिरहने छ ।
प्रतिक्रिया 4