
News Summary
Generated by OK AI. Editorially reviewed.- उद्योगमन्त्री दामोदर भण्डारीले महिला नेतृत्व र उद्यमशीलता समृद्ध राष्ट्र निर्माणका आधार रहेको बताएका छन्।
- मन्त्री भण्डारीले महिला उद्यमशीलता विकास कार्यक्रम, प्रविधि हस्तान्तरण, व्यवसाय सम्बद्ध सेवा, स्टार्टअप कार्यक्रम र शिल्पी समुदाय प्रवर्द्धन सरकारले सञ्चालनमा ल्याएको उल्लेख गरे।
- उनले महिला उद्यमीहरूले एआई प्रयोगबाट उत्पादन प्रक्रिया सुधार र हरित उद्यम अवधारणा अगाडि बढाउनुपर्ने बताए।
२७ असार, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले महिला नेतृत्व र उद्यमशीलता समृद्ध राष्ट्र निर्माणका आधार रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन उद्घाटनमा उनले महिला उद्यमी बन्नु एउटा व्यवसाय सञ्चालन गर्नु मात्रै नभई एउटा परिवारलाई आर्थिक रूपमा सक्षम बनाउनु भएको बताए ।
‘महिला उद्यमशीलताले एउटा समुदायमा रोजगारी सिर्जना गर्नु हो र अन्ततः राष्ट्रको स्वाभिमान र आत्मनिर्भरता मजबुत बनाउनु हो,’ उनले भने, ‘हामी महिला नेतृत्व र उद्यमशीलताको कुरा गर्दा केवल लैङ्गिक समानता मात्र होइन, राष्ट्र निर्माणको मुख्य संवाहकका रूपमा कुरा गरिरहेका हुन्छौं ।’
मन्त्री भण्डारीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा साकार पार्न महिला उद्यमशीलताको विकास अपरिहार्य रहेको स्पष्ट पारे ।
सरकारले हाल महिला उद्यमशीलता विकास कार्यक्रम, प्रविधि हस्तान्तरण, व्यवसाय सम्बद्ध सेवा, स्टार्टअप कार्यक्रम, शिल्पी समुदाय प्रवर्द्धन लगायत सञ्चालनमा ल्याएकाृ उनले उल्लेख गरे ।
‘नेपालमा लघु, घरेलु तथा साना उद्योगको बाहुल्य छ र त्यसमध्ये अधिकांशमा महिला नेतृत्व र संलग्नता छ,’ उनले भने, ‘खाद्य प्रशोधन, जडीबुटी, चिया, कफी, हस्तकला, पर्यटन जस्ता क्षेत्रमा नेपाली महिलाको सिपले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने हैसियत बनाएको छ ।’
मन्त्री भण्डारीले निर्यातमुखी उत्पादन रणनीति तथा जलवायु परिवर्तन जस्ता विषय उद्यमशीलता क्षेत्रका लागि अत्यन्तै सान्दर्भिक रहेको उल्लेख गरे ।
‘एआई अब भविष्यको प्रविधि होइन, यो वर्तमानको यथार्थ हो,’ मन्त्री भण्डारीले भने, ‘महिला उद्यमीहरूले यसको प्रयोगबाट उत्पादन प्रक्रियामा सुधार, ग्राहक व्यवहारको विश्लेषण र व्यावसायिक दक्षता वृद्धि गर्न सक्नेछन् ।’
त्यस्तै उनले ‘हरित उद्यम’ अवधारणा अगाडि बढाउन पनि जोड दिए । जलवायु परिवर्तनको असर नेपालजस्ता हिमाली राष्ट्रमा बढी पर्ने भएकाले यसको समाधानलाई अवसरमा रूपान्तरण गर्न आवश्यक रहेको मन्त्री भण्डारीको धारणा थियो ।
प्रतिक्रिया 4