
२९ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र युरोपेली युनियन (ईयू) बाट आयात हुने वस्तुहरूमा ३० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन् । ट्रम्पले शनिबार गरेको यो घोषणा १ अगस्टदेखि कार्यान्वयनमा आउने छ ।
ईयूले सुरुमा अमेरिकासँग औद्योगिक वस्तुहरूमा शून्य–ट्यारिफ व्यापार सम्झौताको प्रस्ताव गरेको थियो । तर महिनौँसम्मको तनावपूर्ण वार्तापछि पनि कुनै सम्झौता हुन सकेन । त्यसपछि ट्रम्पले ट्यारिफ घोषणा गरेका हुन् ।
उनले यस सम्बन्धमा मेक्सिको र युरोपेली संघलाई पत्र लेखेका थिए, जुन उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
ट्रम्पको यो निर्णयपछि २७ सदस्यीय ईयूले अब अमेरिकी बजारमा गम्भीर अवरोधहरूको सामना गर्नुपर्ने देखिएको छ । ईयूले अमेरिकासँग व्यापार सम्झौता गर्न चाहिरहेका बेला ट्रम्पको यो कदमले व्यापार युद्ध (ट्रेड वार) झन् चर्किने सम्भावना बढाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
ट्यारिफबारे युरोपेली आयोगकी अध्यक्षको प्रतिक्रिया
युरोपियन आयोगकी अध्यक्ष उर्सुला भन डेर लायनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय गलत भएको बताएकी छन् । ‘युरोपेली युनियनको निर्यातमा ३० प्रतिशत ट्यारिफ लगाउनु अटलान्टिकको दुवै किनारका व्यवसाय, उपभोक्ता र बिरामीहरूलाई हानि पुर्याउने छ,’ उनले भनेकी छन्, ‘हामी १ अगस्टसम्म कुनै सम्झौताको दिशामा काम गर्न जारी राख्नेछौं ।’
साथै उनले ३० प्रतिशत ट्यारिफ लगाउने अमेरिकाको निर्णयमाथि आवश्यक प्रक्रियागत कदम चाल्न र युरोपेली संघको हितको संरक्षण गर्न तयार रहेको पनि बताएकी छन् ।
जापान, दक्षिण कोरिया, क्यानडा र ब्राजिलबाट आउने वस्तुहरूमा गरिएको ट्यारिफ वृद्धिपछि ट्रम्पले ईयू र मेक्सिकोमा पनि ट्यारिफ लगाउने निर्णय गरेका हुन् । उनले यी देशहरूबाट आयात हुने तामामा ५० प्रतिशतको भारी ट्यारिफ लगाएका छन् ।
राष्ट्रपति ट्रम्पले आफ्ना ट्यारिफ नीतिलाई अमेरिकी उद्योगको रक्षा गर्ने र घरेलु राजस्व (डोमेस्टिक रेभिन्यु) बढाउने उपायका रूपमा व्याख्या गरेका छन् ।
प्रतिक्रिया 4