
३० असार, जनकपुरधाम । मधेश प्रदेश सभा सदस्यहरुलाई बाँडिएको बजेट पुस्तिका र अर्थ मन्त्रालयको बजेट पुस्तिकाको विवरण फरक–फरक देखिएपछि बजेटमा ठूलो गडबडीको आशंका गरिएको छ ।
अर्थ मन्त्रालयको बजेट पुस्तिका र सांसदहरुलाई वितरण गरिएको बजेट पुस्तिकामा २९४ पेजको अन्तर देखिएको सांसदहरुले बताएका छन् ।
मधेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले असार १ गते बजेट प्रस्तुत गरेका थिए । असार ११ गते सांसदहरुलाई बजेटको रेडबुक (रातो किताब) बाँडिएको थियो । सांसदहरुलाई बाँडिएको रेडबुक ४६१ पेजको थियो ।
तर विपक्षी दलको माग अनुसार गठन भएको बजेट छानबिन कार्यदललाई अर्थ मन्त्रालयले उपलब्ध गराएको रेडबुकको विवरण भने ७५५ पेजको रहेको प्रमुख प्रतिपक्षी दल जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले बताए ।
‘मन्त्रालयले उपलब्ध गराएको बजेट पुस्तिका र सांसदलाई उपलब्ध गराएको बजेट पुस्तिकामा २९४ पेजको अन्तर देखिएकाले बजेटमा ठूलो गडबडीको आशंका गरिएको छ,’ यादवले भने ।
माओवादी केन्द्र संसदीय दलका उपनेता युवराज भट्टराईले सांसदलाई पीएलआईएमबीएसमा इन्ट्री भएका योजनाहरुको २९४ पेज छलेर मात्र ४६१ पेजको मात्र उपलब्ध गराइएको बताए । ‘सरकारले आठ हजार बढी योजना लुकाउन खोजेको देखियो । यो आर्थिक अपराध हो’ उनले भने ।
कार्यदलमा सत्तारुढ दलका अर्का एक सदस्यले पनि सांसदहरुलाई बाँडिएको बजेट पुस्तिका र मन्त्रालयको बजेट पुस्तिकामा ठूलो अन्तर पाइएको बताए ।
कार्यदलमा पनि विवाद
विपक्षी दलहरुले बजेटमा बिचौलिया हाबी भएको र असमान वितरण भएको भन्दै बजेट छानबिनको माग गरेका थिए । विपक्षी दलहरूले ६ दिनसम्म निरन्तर सदन अवरुद्ध गरेपछि सर्वदलीय बैठकबाट गत शनिबार उपसभामुख बबिता राउत ईश्वरको संयोजकत्वमा १४ सदस्यीय कार्यदल बनेको थियो ।
सो कार्यदलले अर्थ मन्त्रालयलाई पत्र लेखेर बजेट प्रणाली पी.एल.आई.एम.बी.एस.मा भएको तथ्यांक माग गरेको थियो । कार्यदललाई अर्थ मन्त्रालयले ७५५ पेजको विवरण उपलब्ध गराएको हो ।
मन्त्रालयले कार्यदललाई दिएको विवरण र प्रदेश सभा सदस्यहरुलाई वितरण गरिएको पुस्तिकाको विवरण फरक–फरक देखिएपछि कार्यदलस्तरमा छलफल भइरहेको छ । यस बारेमा कार्यदलमा समेत विवाद भएको छ ।
विपक्षी दलले गरे सदन बहिष्कार
बजेटमा गडबडी भएको भन्दै विपक्षी दलहरुले कार्यदलको बैठक र मधेश प्रदेश सभा बैठक समेत बहिष्कार गरेका छन् । आज बसेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार यादवले बजेटमा २९४ पेजमा आठ हजार बढी योजना गडबड देखिएको दावी गरे ।
उनले अर्थमन्त्री सुनिलकुमार यादवले राजिनामा दिनुपर्ने माग गरे । ‘यस्तो ठूलो गडबडी भएको बजेटको विपक्षी दल साक्षी बस्दैन । अब यो बजेटको पुनर्लेखन गरेर पनि काम छैन । अर्थमन्त्रीले राजिनामा देओस् । अर्को अर्थमन्त्री आएपछि पुनः बजेट ल्याओस् । यो माग पूरा नभएसम्म हामी सदन बहिष्कार गर्छौं’ उनले भने ।
यति भनेर विपक्षी ६ दलका प्रदेश सभा सदस्यहरु बैठक कक्षबाट बाहिर निस्केका छन् । यसपछि पनि सत्ता दलको उपस्थितिमा मधेश प्रदेशसभा बैठकमा बजेटमाथि छलफल जारी छ ।
अर्थमन्त्री सुनिल यादवले सदनमा आर्थिक विधेयक माथि बिचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् ।
प्रतिक्रिया 4