News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा केही प्रक्रियागत त्रुटी भए पनि अनियमितता नभएको स्पष्ट पारे।
- अध्यक्ष चन्दले दोस्रो संस्करणको लागि मिनी अक्सन तयारी भइसकेको बताए ।
- आगामी बोर्ड बैठकबाट एनपीएलको हिसाबकिताब पारदर्शी रूपमा सार्वजनिक गरिने पनि बताए।
३० असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले नेपाल प्रिमियर लिग (एनपीएल) को विषयमा पहिलो संस्करणमा केही त्रुटीहरू भएको भए त्यसलाई सच्याएर अघि बढ्ने बताएका छन् ।
विरा एजुकेसन कन्सलट्यान्सीले नेपाली महिला राष्ट्रिय टिमकी उपकप्तान पुजा महतोलाई ब्राण्ड एम्बासडर घोषणा गरेको कार्यक्रममा उपस्थित भएका क्यान अध्यक्ष चन्दले एनपीएलमा प्रक्रियागत त्रुटी भएको हुन सक्ने तर अनियमितता गर्न एनपीएल सुरु नगरेको समेत बताए ।
‘पहिलो सिजन भएको हुनाले प्रक्रियामा अलि त्रुटी भएको हुन सक्छ । दुई दिन अगाडि, दुई दिन पछाडि काम भएको हुन सक्छ । तर एक किसिमको छानिबन चलिरहेको छ । सरकारले छानबिन गरिराखेको छ । अनियमितता गर्नका लागि एनपीएल सुरु भएको होइन’ अध्यक्ष चन्दले भने ।
एनपीएलको पहिलो संस्करणमा अनियमिततादेखि भ्रष्टाचार समेत भएको कुरा बाहिर आइसक्यो भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष चन्दले त्यसरी ठोकुवा गरेजस्तो नभएको बताए ।
‘यहाँहरूले जुन खालको ठोकुवा नै गरेर एनपीएल खत्तम नै भयो, बदमासी भयो, भ्रष्टाचारको भयो भन्ने कुरा भयो । यसमा म विश्वस्त छैन’ चन्दले भने, ‘तैपनि हामी आगामी बोर्ड बैठकबाट सबै कुरा पारदर्शी रुपमा सार्वजनिक गर्छौं । पारदर्शी हुन्छ । मैले सुरुमै भनें त क्रिकेट पारदर्शी हुँदैन भने अरु कुन संघ पारदर्शी हुन्छ?’ उनले प्रतिप्रश्न गरे ।
एनपीएलको पहिलो संस्करणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले युवा तथा खेलकुद मन्त्रालयलाई यस विषयमा छानविन छानबिन गर्न निर्देशन दिएको थियो । त्यसका लागि दुई वटा छानबिन कार्यदल बनेको थियो ।
राखेपको सदस्य रन्जना प्रधानलाई संयोजक राख्दै युवा तथा खेलकुद मन्त्रीले बनाएको पछिल्लो कार्यदलले एनपीएलको विषयमा छानबिन नसकिँदासम्म यस सम्बन्धि कार्य नगर्नु नगराउनु भनेर क्यानलाई पत्र पठाएको थियो ।
जसले गर्दा पछिल्लो समय एनपीएलले गर्दा नेपाली क्रिकेटमै तरंग आएको थियो । यो विषय प्रधानमन्त्रीसम्म पुग्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत एनपीएल गौरवको विषय भएको भन्दै भव्य रुपमा आयोजना तयारी गर्न भनेका थिए ।
अध्यक्ष चन्दले एनपीएल नै रोक भन्नुपर्ने खास अवस्था नरहेको र त्यसले गर्दा अन्योलता उत्पन्न भएको बताए । ‘क्यानमा आउने सबै कुरा म सल्लाहको रुपमा लिन्छु । एनपीएलको विषमया काम कारवाही अघि नबढाउनु भनेर पत्र आएको थियो । खासै रोक्नै पर्ने भन्ने स्थिति थिएन । त्यसले एक खालको अन्योलता सिर्जना भयो’ उनले भने, ‘स्वयं सरकार (प्रधानमन्त्रीले)ले एनपीएल बारे स्पष्ट पारिदिनु भयो । एनपीएल गतिविधि अघि बढेको छ।’
चन्दले घुमाउरो पाराले एनपीएल ब्रेक लगाउन खोजेको दाबी गरे । ‘एनपीएल लगायतका कुराहरू ब्रेक लगाउने, घुमाउरो पाराले रोक्न खोजिएको छ । जानी-नजानी केही भयो पछिल्लो दिनहरूमा । सबै कुरा सच्चिसकेको छ’ उनले भने । एनपीएल छानबिन कार्यदलले भने छानबिनमा क्यानले असहयोग गरेको र यस विषयमा थप छानबिन गर्न मनासिव रहेको भन्दै सुझाव दिएको छ ।
क्यानले दोस्रो संस्करणको एनपीएलको लागि मिनी अक्सनको तयारी समेत गरिसकेको छ । ८ वटै फ्रेन्चाइजहरूले खेलाडी रिटेन्सन र रिलिज गर्ने काम गरिसकेका छन् ।
‘एनपीएलको गति तीव्र रुपले अघि बढिसकेको छ । क्यानले अझै भव्य रुपमा, पारदर्शी भएर दोस्रो सिजन राम्रो गर्ने भनेर हामी अगाडि बढेका छौं । यसमा पहिलो संस्करणमा भएका कमीकमजोरी सुधार गर्छौं । २००७ मा आईपीएल हुँदाको अवस्था र २०२५ को आईपीएलमा धर्ती आकाशको फरक छ’ उनले भने ।
उनले एनपीएलको पहिलो संस्करणको कमीकमजोरीलाई हटाउन मिडिया देखि शुभचिन्तकसम्मको सल्लाह लिने समेत बताए । ‘पहिलो सिजनमा भएको कमी कमजोरीलाई हटाउन लगाउँला । त्यसमा मिडियाको सल्ला शुभचिन्तकको सल्लाह स्टेकहोल्डरको सल्ला क्यान बोर्डकै साथीहरूकै सल्लाहलाई माझ्दै गएर अघि बढ्ने हो’ चन्दले भने, ‘क्रिकेट पछाडि झर्दैन म विश्वस्त छु । धेरै संघर्ष गरेर साढे ३ वर्षको अन्यायको विरुद्ध लडेर देशव्यापी अभियान चलाएर २०१९ मा ट्रयाकमा ल्यायौं । आईसीसीको भरपर्दो संस्था, एसीसीले पत्याएको छिमेकी बीसीसीआईले इन्डियन एम्बासीले भित्री रुपमा धेरै सहयोग गरिरहेको धेरै कुरा भनिरहनु पर्दैन।’
अध्यक्ष चन्दले पछिल्लो समय राजनीतिक दलदेखि सबैले क्रिकेटलाई माया गरिरहेको दाबी गरे ।
यस्तै एनपीएलको पहिलो संस्करणको हिसावकिताब पनि आगामी बोर्ड बैठकबाट सार्वजनिक गरेर स्पष्ट पार्ने अध्यक्ष चन्दले बताए । ‘एनपीएलको पहिलो सिजनमा हामी त्यति धेरै नाफामा छैनौं । घाटामा नभए पनि नाफामा छैनौं’ अध्यक्ष चन्दले भने, ‘एनपीएल कमिटीले हिसाब गरिरहेको छ । अध्यक्ष भएकोले मलाई पनि केही जानकारी छ’ उनले भने ।
चन्दले आगामी बोर्ड बैठकबाट सबै पारदर्शी रुपमा सार्वजनिक गर्ने बताए । ‘बोर्ड बैठकबाट पारदर्शी कुरा गर्नुपर्छ । मैले भनिसकेँ राजीनित गरेर लुकाएर केही हुनेछैन । आईसीसीले पैसा दिने हो सरकारले पैसा दिँदैन । एसीसीले सहयोग गर्ने हो त्यसबाहेक बाँकी हामीले विज्ञापन एजेन्सी मार्फत । जनताको त्यो पैसा पारदर्शी रुपमा देखाउनमा कुनै समस्या छैन ढुक्क हुनुस्’उनले थपे ।
चनदले क्यान राम्रोसँग चलेको र विवादहरू भए त्यो समाधान गर्नकै लागि हुने बताए । ‘क्यान राम्ररी चलेकै छ । विवाद हुन्छ । विवाद समाधान गर्नकै लागि विवाद हुने भएकोले तयो विवादको समाधान गरिहाल्छौं’ उनले भने ।
प्रतिक्रिया 4