+

राखेपलाई चीनको ८५ लाख बराबरको सामग्री सहयोग

२०८२ असार  ३१ गते १८:३२ २०८२ असार ३१ गते १८:३२
राखेपलाई चीनको ८५ लाख बराबरको सामग्री सहयोग

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राखेपलाई ८५ लाख रुपैयाँ बराबरको खेल सामग्री तथा स्वास्थ्य परिक्षण उपकरण हस्तान्तरण गरेको छ।
  • नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ दि मिसन वाङ झिनले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई सामग्री हस्तान्तरण गरेका थिए।
  • राखेपका सदस्य–सचिव टंकलाल घिसिङले २०औं एसियाली खेलकुदका लागि दृढ संकल्पकासाथ प्रशिक्षण अगाडि बढाउनु पर्नेमा जोड दिएका छन्।

३१ असार, काठमाडौं । चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामग्री तथा स्वास्थ्य परिक्षण उपकरण सहयोग स्वरुप मंगलबार हस्तान्तरण गरेको छ ।

नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ दि मिसन वाङ झिनले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच सामग्री हस्तान्तरण गरे । करिब ८५ लाख रुपैयाँ बराबरको विभिन्न ३४ प्रकारका सामग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राखेपका उपाध्यक्ष ध्रुव आचार्यले सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिदै सामग्रीले खेलाडीको प्रशिक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सदस्य–सचिव टंकलाल घिसिङले नेपाल र चीनबीच धेरै क्षेत्रमा राम्रो सम्बन्ध स्थापित भएको बताउदै हरेक वर्ष सहयोगले निरन्तरता पाउने प्रतिबद्धता पाएको बताए ।

सदस्य–सचिव घिसिङले २० औं एसियाली खेलकुद आउन १३ महिना मात्र बाँकी रहेकाले यो समय पेचिलो भएको बताउदै दृढ संकल्पकासाथ प्रशिक्षण अगाडि बढाउनु पर्नेमा जोड दिए ।

उनले अबको दुई हप्ताको अवधिमा मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका खेलाडीहरुको शारीरिक र खेलगत अवस्थाको परिक्षण गरिने बताउदै त्यसपछि खेल संघसँग समन्वय गरी प्रशिक्षणलाई अगाडि बढाइने बताए ।

डेपुटी चिफ दि मिसन वाङले सहयोगले नेपाली खेलकुदको विकास थोरै भएपनि टेवा पुग्ने बताउदै विगतमा पनि खेल क्षेत्रमा सहयोग गरेको स्मरण गरे ।

युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव रामचरित्र मेहताले चीन सरकारले विगतका दिनमा सहयोग गर्दै आएको बताए ।

कार्यक्रममा चिनियाँ दूतावासका कन्सुल वाङ दोङ, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपका सदस्य अञ्जन धमला, प्रकाशकुमार कुसारी र हिमालकुमार श्रेष्ठ, विभिन्न विभागका प्रमुख, मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका खेलाडी, प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

खेल सामग्री
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय