+
+
Shares

नक्कली नोट पनि बनाउँथे पक्राउ परेका यी अफिम कारोबारी

सुर्खेत र कोहलपुरबाट समातिएका ५ जनाविरुद्ध संगठित अपराधमा अनुसन्धान

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते १९:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रहरी कार्यालय सुर्खेतले सुर्खेत र बाँकेको कोहलपुरबाट ५ जनालाई अफिम र नक्कली नेपाली नोटसहित पक्राउ गरेको छ।
  • पक्राउ परेकाहरूको साथबाट ३० केजी अफिम र १२ लाख ३६ हजार बराबरको नक्कली नोट बरामद भएको छ।
  • प्रहरीले संलग्नहरुविरुद्ध लागुऔषध, मुद्रा सम्बन्धी कसूर र संगठित अपराधको कसुरमा कारबाही प्रक्रिया अघि बढाएको छ।

३१ असार, काठमाडौं । प्रहरीले लागूऔषध अफिम कारोबारी नक्कली नेपाली नोटको कारोबारमा समेत संलग्न रहेको फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतले गरेको कारबाहीमा अफिम कारोबारीसँग नेपाली नक्कली नोट समेत फेला परेको हो ।

सुर्खेतका डीएसपी मोहनजंग थापाका अनुसार, प्रहरीले सुर्खेत र बाँकेको कोहलपुरबाट ५ जनालाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट कम्तिमा ३० केजी अफिम बरामद भएको छ भने उनीहरुको साथमा १३ लाख रुपैयाँ बराबरको नक्कली नेपाली नोट समेत भटिएको छ ।

प्रहरीका अनुसार,सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० शान्तिटोलबाट मंगलबार दिउँसो एक हजार दरका ६ वटा नक्कली नोटसहित जाजरकोट कुशे गाउँपालिका-५ की २२ वर्षीया दिलमाया सिंह ठकुरीलाई पक्राउ परेकी थिइन् ।

साँझ ६ बजे दिलमायाकै डेराबाट थप एक हजार दरका १२३६ थान नोट समेत बरामद भएको थियो । ती नोटहरु जम्मा १२ लाख ३६ हजार बराबरको रहेको डीएसपी थापा बताउँछन् ।

उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा गएराति प्रहरीले जाजरकोटका कृष्णबहादुर वली (३५) र प्रेमबहादुर बि.क (३८) लाई सुर्खेतको भेरीगंगा नगरपालिका-१२, ठकुरीटोलबाट पक्राउ गरेको थियो ।

उनीहरूको डेरामा खानतलासी गर्दा कालो झोलाभित्र लुकाएर राखिएको अफिम ११ पोका, बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुबारे अनुसन्धान गरिरहेको टोलीले कोहलपुरमा जनगर्जन नेटवर्क प्रा.लि. चलाउँदै आएका कालिकोटका मनबहादुर सहकारी देउवाको समेत संलग्नता फेला पारेको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय, कोहलपुरको टोलीले उनलाई कार्यालयबाटै पक्राउ गरेको थियो ।

उनको घर तथा कार्यालयमा छापा मार्दा एक हजार दरका नक्कली नोट ५१ वटा भेटिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट १९ केजी ३०० ग्राम अफिम र नक्कली नोट बनाउने कलर प्रिन्टरसहितका उपकरण समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यो घटनामा संलग्नहरुविरुद्ध लागुऔषध, मुद्रा सम्बन्धी कसूर र संगठित अपराधको कसुरमा थप कारबाही प्रक्रिया अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?