News Summary
Generated by OK AI. Editorially reviewed.- अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले २०२८ जुलाई १२ देखि जुलाई २९ सम्म लस एञ्जलसमा हुने ओलम्पिकमा क्रिकेट खेल हुने मिति र स्थान सार्वजनिक गरेको छ।
- क्रिकेट टी–२०आई फर्म्याटमा हुने पुरुष र महिला दुवैतर्फको प्रतियोगिता पोमोना फेयरप्लेक्स मैदानमा सञ्चालन हुनेछ।
- प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ ६-६ टोली रहनेछन् र छनोट प्रक्रिया सिंगापुरमा हुने आईसीसी बोर्ड बैठकबाट निर्णय हुने अपेक्षा गरिएको छ।
३२ असार, काठमाडौं । अमेरिकाको लस एञ्जलसमा हुने २०२८ ओलम्पिकमा १२८ वर्षपछि फर्किएको क्रिकेट खेल हुने मिति र स्थान सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले खेल हुने मिति सार्वजनिक गरेको छ।
टी–२०आई फर्म्याटमा हुने क्रिकेटको पुरुष र महिला दुवैतर्फको प्रतियोगिता २०२८ जुलाई १२ देखि जुलाई २९ सम्म सञ्चालन हुनेछन्। पदक खेल अर्थात् फाइनल महिलाको लागि जुलाई २० मा र पुरुषको लागि जुलाई २९ मा हुनेछ।
१२८ वर्षपछि क्रिकेट दोस्रो पटक ओलम्पिकमा समावेश हुन लागेको हो। यसअघि सन् १९०० मा फ्रान्समा पहिलोपटक खेलिएको थियो, जसमा ग्रेट ब्रिटेनले स्वर्ण पदक जितेको थियो।
प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ ६-६ टोली रहनेछन्। प्रत्येक टोलीमा १५ जना खेलाडी हुने गरी ९० खेलाडीको कोटा राखिएको छ।
सबै खेल लस एञ्जलसबाट करिब ५० किलोमिटर टाढा रहेको पोमोना फेयरप्लेक्स मैदानमा हुनेछ। अधिकांश दिन डबल-हेडर खेलहरू हुनेछन्।
सहभागी हुने ६ टोलीहरूको छनोट प्रक्रिया भने अझै तोकिएको छैन । आगामी जुलाई १७ देखि सिंगापुरमा सुरु हुने आईसीसीको बोर्ड बैठकबाट निर्णय हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4