
News Summary
Generated by OK AI. Editorially reviewed.- पशु अधिकारकर्मी स्नेहा श्रेष्ठले नेपालमा पशु क्रुरताविरुद्ध कडा कानुन र निगरानी नभएकाले र कानुन कार्यान्वयन नहुँदा पशु क्रुरतापूर्वक ढुवानी भइरहेको बताउनुभयो।
- एनिमल नेपाल संयोजक दीपा केसीले लुम्बिनी र कैलालीबाट आउने गाडीमा मापदण्ड उल्लंघन गरी ३२ वटा पशु ल्याइने र क्वारेन्टाइनमा रेस्टिङ एरिया नहुँदा पशुहरूको अवस्था नाजुक हुने खुलाउनुभयो।
यी तस्बीर तपाईं पक्कै नाङ्गो आँखा र सद्दे मनले हेर्न सक्नुहुन्न । किनभने यसले तपाईंको मस्तिष्कमा कार्टिसोल हर्मोन बढाउनेछ र दिमागलाई विचलित बनाउनेछ ।
अब सोच्नुहोस् त, जुन तस्बिर हेर्दा मात्र तपाईंलाई चक्कर लाग्न थाल्छ त्यो भोग्ने प्राणीलाई कस्तो हुँदो हो ?
साँघुरो ट्रकमा कोचिएका छन्, नाक र पुच्छरमा डोरी बाँधिएका छन्, हलचल गर्नै नसक्ने अवस्थामा छन् । यसरी नै निस्सासिएर यिनीहरूले तीन–चार दिनसम्मको यात्रा गर्नुपर्ने हुन्छ । यसमा कतिसम्म क्रुरता हुन्छ भने, बस्न नदिनका लागि पुच्छर र नाथ्रीमा बाँधेर झुड्याइँन्छ । तीन–चार दिनसम्म उँभिदा खुट्टा कति गल्छ होला ? तर बस्न खोजेमा यौनाङ्गमा लठ्ठी घुसारिन्छ । निदाउन नदिन आँखामा खैनी र खोर्सानी लगाइन्छ ।
न आरम, न खाना, न पानी । मृत्युभन्दा कठोर जीवन झेल्दै यी अबोध प्राणीहरू काठमाडौंसम्म आइपुग्छन् । यिनीहरूलाई काठमाडौंबासीले आफ्नो आहारा बनाउँछन्, मासुको रुपमा । यसरी मासुका लागि काठमाडौंमा दैनिक औसत एक हजार वटा राँगाभैंसी यातनापूर्वक ढुवानी गरिन्छ । र, बर्बर हत्या गरिन्छ ।
उर्खमौलो गर्मी, त्यसमाथि खाल्डाखुल्डी सडक, चलमलाउनै नमिल्ने स्थिति ।
यी पशुलाई किन यति क्रुरतापूर्वक ढुवानी गरिन्छ ?
यसरी ढुवानी गर्नु अपराध मानिन्छ र त्यसमा कानुनी कारबाहीको व्यवस्था पनि छ । यस्तो अपराध हुन नदिन सरकारले नै ठाउँ–ठाउँमा पशु क्वारेनटाइन स्थापना गरेको छ। हरेकजसो नाकामा कर्मचारी खटिएका छन् ।
तै पनि राँगाभैसींलगायत पशु क्रुरतापूर्वक ढुवानी गर्ने क्रम रोकिएको छैन । बरु, अरु फस्टाएको छ । किन ?
नेपालमा पशु क्रुरताविरुद्ध कडा कानुन र निगरानी नभएकाले नै यो सबै भइरहेको पशु अधिकारकर्मी स्नेहा श्रेष्ठ बताउँछिन् । भएको कानुन पनि राम्रोसँग कार्यान्वयन नहुँदा निर्बाध रुपमा अपराध भइरहेको श्रेष्ठको बुझाइ छ ।
‘जो रक्षक उही भक्षक भएपछि यस्तो भइरहेको छ’ श्रेष्ठ भन्छिन्, ‘पशु क्वारेनटाइन, पशु सेवा विभाग र कृषि तथा पशुपन्छी मन्त्रालय जस्ता निकायले यो जिम्मेवारी पर्छ ।’
पशु ढुवानी मापदण्ड बनेको १८ वर्ष भइसक्दा पनि प्रभावकारी रुपमा यसको कार्यन्वयन नभएको पशुप्रेमी सुलक्षना राणा बताउँछिन् । ‘केही डाक्टरहरूको गैरजिम्मेवार व्यवहार, जस्तै जथाभावी सर्टिफिकेट वितरणले समस्या बढाएको छ ’ राणा भन्छिन् ।
राँगाभैँसीलाई उचित खानपान, गाडीको गति नियन्त्रण र पशुलाई आरामको व्यवस्था, अझै कार्यान्वयन भएको छैन । ‘हेटौंडा रुटमा समस्या बढी देखिएको छ’ राणा भन्छिन्, ‘रामपुरबाट कम भएको जानकारी आएको छ । सुदूरपश्चिम र लुम्बिनी क्षेत्रबाट ल्याइने राँगाभैसीको अवस्था अझ कहालिलाग्दो छ ।’
मापदण्ड मिचेर पशु ढुवानी भइरहेको छ : दीपा केसी, एनिमल नेपाल, पशु ढुवानी शाखा चितवन संयोजक
बारातिर बाट ल्याने गाडीमा भने पशुको संख्या मापदण्ड अनुसार नै भएको पाइन्छ । हामीले लुम्बिनी र कैलालीबाट बुटवल आउने पशु बोकेका गाडीहरूको अवस्था नियाल्दै आएका छौँ । ३२ वटासम्म पशुहरू ठूलो–सानो मिसाएर ल्याइन्छ ।
बाटोको दुरावस्था र क्वारेन्टाइनको अभावले पशुहरूको हालत नाजुक हुन्छ । मापदण्डअनुसार १८–२० वटा मात्र ल्याउनुपर्नेमा ३२ वटासम्म ल्याइन्छ । पानी, दाना र परालको व्यवस्था अपुग छ, जंगलमा रोकेर खुवाएको बहाना बनाइन्छ । क्वारेन्टाइनमा रेस्टिङ एरिया नहुँदा पशुहरूलाई ओरालेर राख्न सकिँदैन । गतवर्ष हामीले दबाब दिएर रेस्टिङ एरिया बनाउन आग्रह गरेका थियौँ, तर अझै सुधार भएको छैन ।
नाक र पुच्छरमा बाँधेर ल्याउने र साामन्य ढुवानी मापदण्ड पनि पुरा नगर्ने प्रवृत्ती लुम्बिनी र कैलालीबाट आउने गाडीमा बढी देखिन्छ ।
पहिले अत्यन्तै क्रुरतापूर्वक ढुवानी गरिन्थ्यो, अहिले केही कम भयो : डा.लक्ष्मीनारायण दास, पशु क्वारान्टाइन अफिसर नागढुंगा
सोमबार र मंगलबार यी दुई दिन पश्चिम नेपालका हाटबजारहरूका कारण भैंसी ढुवानी बढी हुन्छ । ती दिन औसतमा भैंसी बोक्ने १४–१५ गाडी आउँछन्, कहिलेकाहीं २०–२२ गाडीसम्म पनि आउँछन् । अन्य दिनमा २–३ गाडी मात्र आउँछन् ।
क्वारेन्टाइन छल्न र सजिलो बाटोका लागि केही व्यापारीले कान्तिपथ हुँदै हेटौंडाबाट राँगाभैंसी ल्याउने गरेको पाएका छौँ । यद्यपि, पृथ्वी राजमार्गको बाटोको अवस्था खराब छ, जसले ढुवानीमा चुनौती थप्छ ।
विगतमा पशु कल्याणलाई धेरै नै बेवास्ता गरिन्थ्यो । भैंसीको नाक–पुच्छर बाँध्ने, रगत चुहिने गरी क्रूर व्यवहार हुने गर्थ्यो । अहिले यस्तो क्रूर व्यवहारमा कमी आएको छ । फाट्टफुट्ट यस्ता घटना भेटिए तुरुन्त कारबाही गरिन्छ । जरिवाना ५०० रुपैयाँदेखि अधिकतम ५,००० रुपैयाँसम्म हुन्छ । जुन अवस्थाको गम्भीरतामा निर्भर गर्छ ।
बाटोमा बाँध्ने र नाकामा खोल्ने प्रवृत्तिका कारण अनुगमन कठिन छ । गम्भीर चोटपटक वा दयनीय अवस्थाका जनावरलाई उपचारको सुझाव दिइन्छ, तर नागढुंगामा गाडी रोकिने ठाउँको अभाव र दबाबले तत्काल उपचार सम्भव हुँदैन ।
ढुवानी गरिएका राँगाभैँसीमा शंकास्पद रोग देखिए क्वारेन्टाइनमै र्यापिड टेस्ट गरिन्छ । जटिल अवस्थामा नमुना त्रिपुरेश्वरको केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशालामा पठाइन्छ । रोग फैलिने सम्भावना देखिए तुरुन्त नमुना संकलन र कारबाही गरिएको छ ।
व्यवसायीले अटेर गरेर लापरबाही गर्छन् : डा. रामनन्द तिवारी, महानिर्देशक, पशु सेवा विभाग
पशु कल्याण र मासु उत्पादन प्रवर्द्धन हाम्रो निकायको मुख्य जिम्मेवारी हो । हामीले पशु ढुवानी, मासु प्रशोधन र उपभोक्ता सचेतनामा सुधारका लागि विभिन्न नीति र कानुन लागू गरेका छौं । यद्यपि, व्यवसायीबाट अटेर गरेर बारम्बार हुने लापरवाही र मापदण्ड उल्लंघनका कारण प्रभावकारी नतिजा प्राप्त भएको छैन । विगतको तुलनामा केही सुधार भए पनि थप प्रगति आवश्यक छ ।
मुख्य नीतिगत लक्ष्यमा तराईबाट राँगा–भैंसी ल्याउने प्रक्रियालाई व्यवस्थित गर्नु र मासुको गुणस्तर सुनिश्चित गर्नु छ । पशु ढुवानीमा आठ घण्टाको होल्डिङ अवधि र होल्डिङ एरिया व्यवस्थापन गर्न हामी सहयोग गर्न तयार पनि छौँ ।
बाटो अवरुद्ध हुँदा लामो दूरीबाट पशु ढुवानीमा कठिनाइ भएको छ । यसका लागि केही ठाउँमा होल्डिङ एरिया, विश्राम स्थलको व्यवस्था गरिएको छ, तर व्यवसायीहरूले पूर्णरूपमा सहयोग नगर्दा समस्या कायम छ । नीतिगत सुधार, कानुनी कडाइ र व्यवसायीको जिम्मेवारी सुनिश्चित गर्न राज्य र व्यवसायीबीच सहकार्य आवश्यक छ । उपभोक्ताको माग र सचेतनालाई प्राथमिकता दिँदै मासु उत्पादन र पशु कल्याणमा थप सुधार गर्न हामी प्रतिबद्ध छौं ।
प्रतिक्रिया 4