
News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डललाई सचिवालयका कर्मचारीमार्फत क्यूआर कोड प्रयोग गरी घुस मागेको आरोप लागेको छ।
- मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्री मण्डलको घुस विवादमा \'बुझ्दैछौं\' भन्दै जवाफ दिन असहजता जनाएका छन्।
२ साउन, विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल घुस विवादमा मुछिएको एक महिना भयो ।
मन्त्री मण्डललाई सचिवालयका कर्मचारीमार्फत ‘क्यूआर’ प्रयोग गरी घुस मागेको आरोप लागे पनि मुख्यमन्त्री हिक्मतकुमार कार्की भने मौन छन् ।
मुख्यमन्त्री कार्कीले बिहीबार सञ्चारकर्मीसामु पनि मुख खोलेनन् । सुनसरीको इनरुवामा पत्रकारले क्यबिनेट मन्त्री क्यूआर विवादमा मुछिएको विषयमा प्रश्न गर्दा उनले जवाफ दिन अफ्ठयारो माने । सञ्चार माध्ययमा सधैं बोल्न आतुर रहने मुख्यमन्त्री कार्की मन्त्रीको घुस विवादमा भने बुझ्दैछौं भन्दै पन्छिए ।
सुनसरीको इनरुवा नगरपालिका–४ स्थित पूर्वाधार विकास कार्यालय सुनसरीको उद्घाटनका लागि पुगेका मुख्यमन्त्री कार्कीले स्थानीय पत्रकारले प्रश्न गर्दा बुझ्ने काम भइरहेको जवाफ दिए ।
उनको प्रतिक्रिया सहज भने थिएन । प्रश्नको जवाफ दिन अफ्ठ्यारो मानेका उनले गाडीतर्फ अघि बढ्दै भने, ‘ठिक छ, यसलाई हामी बुझ्दैछौं, चाँडै बुझ्छौं ।’
त्यसअघि उनले भने, ‘मान्यज्यूले वक्तव्य निकाल्नु भएको छ एउटा ।’
मुख्यमन्त्रीले भनेजस्तो मन्त्री मण्डलले नै वक्तव्य निकालेका छैनन् । घुस जस्तो गम्भीर विवादमा उनको सचिवालयका कर्मचारी कुन्दन मण्डलले २५ असारमा ध्यानाकर्षणपत्र जारी गर्दै क्यूआर कोडमार्फत पैसा मागेको कुरा ‘गलत, कपोकल्पित र बदनियतपूर्ण’ रहेको दाबी गरेका थिए ।
मन्त्री मण्डलले सचिवालयका कर्मचारीमार्फत घुस उठाएको भन्दै प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले मन्त्री मण्डललाई मार्ग प्रशस्त गर्न भनेको थियो । मुख्यमन्त्रीसँग जवाफ पनि मागेको थियो । तर संसद्लाई मन्त्री र मुख्यमन्त्रीले जवाफ दिएका छैनन् ।
मन्त्री मण्डल भन्छन्- यहाँ बोल्दिनँ
सचिवालयका कर्मचारीमार्फत घुस मागेको आरोप लागेका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल यो विषयमा बोल्न चाहेनन् । बिहीबार इनरुवामा स्थानीय पत्रकारले क्यूआर कोडको विषयमा प्रश्न गर्दा उनले यहाँ नबोल्ने जवाफ दिए ।
पूर्वाधार विकास कार्यालय सुनसरीको उद्घाटनका लागि पुगेका उनले कार्यालयमा नै आउन आग्रह गरे । ‘त्यहीँ कार्यालयमा आउनू (मन्त्रालयमा), यहाँ बोल्दिनँ ।
प्रदेशसभामा पनि प्रश्न उठेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘यसरी उठेको छ भने के गर्नु ? अहँ बोल्दिनँ ।’
मन्त्रीका स्वकीय सचिव अमृत मेहताले कर्मचारीलाई क्यूआर कोड पठाएर सहयोग माग गरेका थिए । विवादपछि उनले मन्त्रीको सचिवालय छाडेका छन् ।
सचिवालयका कर्मचारीलाई कारबाही गरेको देखाएर मन्त्री आफैं चोखिने प्रयासमा रहेको कांग्रेसकै सांसदहरू बताउँछन् ।
‘मन्त्रीको अनुमतिबिना सचिवालयका कर्मचारीले क्यूआर कोड पठाउने आँट गर्छ ?, उहाँको विषयमा पहिलेदेखि नै विवाद आइरहेको थियो, क्यूआर पछि मात्रै बाहिर आयो,’ कांग्रेसका एक सांसदले भने, ‘अहिले सचिवालयका कर्मचारीलाई मात्रै दोष देखाउनु लगत हो ।’
ती सांसदका अनुसार मण्डलको सचिवालयका कर्मचारीले पार्टी चलाउन र कार्यकर्ता व्यवस्थापन गर्नुपर्छ भन्दै कर्मचारीसँग सहयोग मागेका थिए ।
प्रतिक्रिया 4