
२ साउन, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले अस्ट्रेलियाको सिड्नीमा सिधा उडान गर्ने भनेर प्रचार गरेको दुई वर्षभन्दा बढी भइसक्यो । उसले चाहे अनुसार भएको भए ६ असार २०८० देखि नै उडान सुुरु भइसक्थ्यो ।
तर, नेपालको हवाई सुरक्षा तथा युरोपेली युनियनले नेपाली हवाई कम्पनीलाई कालोसूचीमा राखेको समेत कारण देखाएर अस्ट्रेलियाको नागरिक उड्ययन सुरक्षा प्राधिकरण (कासा) ले निगमलाई अहिलेसम्म पनि उडान अनुमति दिएको छैन ।
अस्ट्रेलियाबाट त्यस्तो अनुमति प्राप्त हुने सम्भावना पनि अत्यन्तै कम भएको निगम स्रोतहरूको भनाइ छ । तर, निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले सिड्नीमा उडान तयारी स्वरूप सिंगापुर भ्रमण गरेको हास्यास्पद कुरा गरेका छन् ।
करिब ८ अर्ब खर्च हुने निगमका दुईवटा वाइड बडी जहाजका चार थान इन्जिन ओभरहलका विषयमा बैठक गर्न आफैं सिंगापुर पुगेको विषयलाई विषयान्तर गर्न उनले सिड्नी उडानको तयारी स्वरूप सिंगापुरमा चांगी एयरपोर्टसँग बैठक गर्न गएको दाबी गरेका हुन् ।
‘नेपाल वायुसेवा निगमले सिड्नी उडानको तयारी अघि बढाएको छ, सिड्नी सेड्युल उडान तयारीका लागि सिंगापुरमा टेक्निकल ल्यान्डिङ गर्न/यात्रुसेवा दिने प्रयोजनार्थ सिंगापुरको चांगी एयरपोर्टमा बैठक गर्नुपर्ने भएकाले कार्यकारी अध्यक्षज्यू सिंगापुर जानुभएको हो,’ निगम प्रवक्ता सुवास डाँगीले अनलाइनखबरसँग भने ।
‘तर, सिंगापुर उडान अनुमति नै दुई वर्षदेखि नआएको र आउने कुनै संकेत पनि नरहेको अवस्थामा चांगी एयरपाृर्टसँग चाहिँ किन बैठक गर्नुपरेको हो ?,’ भन्ने प्रश्नमा प्रवक्ता डाँगीले अस्ट्रेलियाबाट अनुमति प्राप्त हुनेमा आफूहरू आशावादी रहेको बताए ।
‘कहिले उडान अनुमति आउँछ त ?,’ भन्ने प्रश्नको जवाफमा उनले भने, ‘यकिन छैन ।’
उनले अझै पनि उडान अनुमति पाउनेमा आशावादी रहेको भन्न चाहिँ छुटाएनन् ।
‘उडान अनुमतिका लागि हामीले आवेदन दिएका छौं, त्यो पाउनेमा आशावादी छौं, पाएको खण्डमा सिंगापुर हुँदै उडान गर्न पनि तयार हुनुपर्छ, त्यसैले चांगी एयरपोर्टसँग बैठक गरिएको हो,’ उनले भने ।
तर, कुन मितिमा निगमले चांगी एयरपोर्टसँग बैठक गरेको हो, के एजेन्डामा छलफल भएको हो, त्यसबाट के निष्कर्ष निस्कियो भन्ने विषयमा भने प्रवक्ता डाँगीले केही बताउन सकेनन् ।
‘यस विषयमा म बुझेर तपाईंलाई जानकारी दिन्छु’ भनेका डाँगीले त्यसको केही दिन बितिसक्दा पनि जानकारी दिएका छैनन् ।
निगमका कार्यकारी अध्यक्ष अधिकारीले इन्जिन ओभरहलको टेन्डर प्रक्रियामा जानुअघि नै मर्मत गर्ने सम्भावित एउटा कम्पनी रोल्स रोयससँग सिंगापुरमा बैठक गरेका थिए । उक्त बैठकमा निगमका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, मार्केटिङ डाइरेक्टर ढंकनिधि दाहाल र सीएएमडी डेपुटी डाइरेक्टर ज्ञानबहादुर कुँवरलाई लिएर गएका थिए ।
ओभरहल जस्तो प्राविधिक विषयमा छलफल गर्न सुरुमा निगम आफूले तयारी गर्नुपर्ने, खरिद प्रक्रिया सुरु गर्नुपर्ने, स्पेसिफिकेसन र योग्यता निर्धारण गर्नेपर्नेमा त्यो केही पनि नगरी कानुनी सल्लाहकार र मार्केटिङ विभाग प्रमुखलाई लिएर जानुले गम्भीर शंका उब्जाएको निगम स्रोतको भनाइ छ ।
वरिष्ठ अधिवक्ता पन्त भने श्रीमती कुमुदा तिवारी पन्तसहित सिंगापुर र मलेसिया भ्रमणमा गएका थिए । यसअघि पनि अधिकारीले पन्तका श्रीमान–श्रीमतीलाई अस्ट्रेलिया भ्रमण गराएको भन्दै विवाद भएको थियो ।
अर्कातिर, अधिकारीको टोलीले मलेसियामा पनि विभिन्न बिजनेस मिटिङ गर्न एक साता भ्रमण गरेको प्रवक्ता डाँगीले बताएका छन् । तर, मलेसियामा कोसँग के एजेन्डामा बैठक भएको हो र त्यसको नतिजा के आयो भन्ने जानकारी डाँगीसँग मागिए पनि उनले त्यो पनि उपलब्ध गराउन सकेनन् ।
निगमले दुइटा वाइड बडी जहाजका चार थान इन्जिन ओभरहल गर्न तथा इन्जिन लिजमा लिन टेन्डर प्रक्रियाका लागि सीएएम विभागका निर्देशक महेशकुमार मरिताको संयोजकत्वमा १० फागुन २०८१ मा एक उपसमिति बनाएको थियो ।
तर उपसमितिले काम थाल्नै नपाइ त्यसको भोलिपल्टै कार्यकारी अध्यक्ष स्वयंले नै रोल्स रोयसलाई पत्र लेखी आफू बैठकका लागि आउने भएकाले समय मागेको देखिन्छ ।
वाइड बडी जहाजमा भएका इन्जिन रोल्स रोयस निर्माता कम्पनीकै भएको र तिनको मर्मत निगमका लागि पहिलो समेत भएको हुँदा यस्तो जटिल प्रकृतिको प्राविधिक विषय एवं मर्मतका लागि प्राविधिक जानकारी संकलन, मर्मत कार्यको समय र लागत आकलन तथा बजार व्यवस्थापन तयारी गर्न उक्त छलफल भएको स्पष्टीकरण निगमले दिएको छ ।
जबकि, त्यसरी बैठकका लागि समय माग्दा विभाग प्रमुख तथा उपसमिति संयोजक मारिता र उनको विभागलाई जानकारी नै दिइएको थिएन ।
उक्त टोलीमा सम्बन्धित विभाग सीएएमडी डुपुटी डाइरेक्टर कुँवरलाई अन्तिम समयमा राखिएको थियो । तर, के विषयमा बैठक हो भन्ने विषयमा आफूले सिंगापुर पुगेपछि मात्रै थाहा पाएको निकटलाई बताएको निगम स्रोत बताउँछ ।
निगम कार्यकारी अध्यक्ष अधिकारीले २९ अप्रिल २०२५ मा रोल्स रोयस कम्पनीका प्रतिनिधिसँग गोप्य वार्ता गरेका थिए । रोल्स रोयस आफैं, उसका सब्सिडियरी एवं ज्वाइन्ट भेन्चर कम्पनीलाई काम दिने गरी यस्तो वार्ता गरेको निगम स्रोतहरू बताउँछन् ।
निगममा अधिकारीको कार्यकाल करिब तीन महिना मात्रै बाँकी छ । यस्तो अवस्थामा अर्को वर्ष हुने जहाज ओभरहलको खरिद सम्झौता आफ्नै कार्यकालमा गर्ने उद्देश्यसाथ अधिकारीले काम गरिरहेको स्रोत बताउँछ ।
‘निगमको खरिदमा के–के हुन्छ, तपाईंलाई बताउनै पर्दैन । त्यही भएर कार्यकारी अध्यक्ष आफैं सम्झौता गर्न चाहुनुहुन्छ,’ स्रोतले भन्यो ।
वाइड बडी जहाज मर्मतमा लाग्ने समयको आकलन गरी सोही अनुसार उडान सेड्युल बनाएर बजार व्यवस्थापन गर्न/गराउन उक्त बैठकमा निगमको बजार व्यवस्थापन विभागका निर्देशकलाई लिएर गएको हास्यास्पद तर्क पनि निगमले गरेको छ ।
यता, निगमको प्राविधिक टोलीले बल्ल स्पेसिफिकेसन तयार गर्ने काम गर्र्दै छ । तयारीको काम कहिले सकिन्छ, कहिले टेन्डर खुल्छ र कहिलेदेखि इन्जिन ओभरहलमा जान्छ त्यसको ठ्याक्कै अनुमान गर्न सकिन्न ।
अर्को वर्ष जुलाई र अगस्टमा पठाउनुपर्ने हुन सक्छ भन्ने निगमको आकलन छ । तर, डेढ वर्षपछिको उडान सेड्युल मिलाउन र बजार व्यवस्थापन गर्न भन्दै मार्केटिङ प्रमुख दाहाललाई लगिएको थियो ।
वरिष्ठ अधिवक्ता सुशील पन्तलाई पनि टोलीमा समावेश गरिएको विषयमा निगमले अर्को हास्यास्पद तर्क गरेको छ । एकातिर, प्राविधिक विषय बुझ्नका लागि बैठक गरेको स्पष्टीकरण उसले दिएको छ भने अर्कातिर रोल्स रोयससँग छलफलमा अन्तर्राष्ट्रिय कानुनी जटिलताको गम्भिर अध्ययन गर्नुपर्ने भएकाले वरिष्ठ कानुनी सल्लाहकारको समेत सहभागिता भएको उसको दाबी छ ।
जहाज मर्मत गर्ने कुरा कस्तो किसिमको अन्तर्राष्ट्रिय कानुनी जटिलता आकर्षित हुने हो भन्ने प्रश्नमा प्रवक्ता डाँगीले केही बताउन सकेनन् ।
प्रतिक्रिया 4