+
+
Shares

शेखरले सक्रियता बढाउँदा कांग्रेस भित्र–बाहिर तरंग

शेखरले पछिल्ला दिनमा एकाएक बढाएको दौडधुपलाई कांग्रेस भित्र र बाहिर दुवैतर्फ चासोका साथ हेरिएको छ । प्रचण्डदेखि विद्या भण्डारीसम्म भेटिरहेका उनले राष्ट्रिय राजनीतिको केन्द्रमा आफूलाई उभ्याउन सक्लान् त ? एक रिपोर्ट :

लिलु डुम्रे लिलु डुम्रे
२०८२ साउन २ गते २२:००

२ साउन, काठमाडौं । राजनीतिमा ध्रुवीकरण खोजिरहेका कतिपयलाई लाग्छ– केपी ओलीपछि प्रधानमन्त्री शेरबहादुर देउवा होइन, शेखर कोइराला बन्छन् ।

कांग्रेस केन्द्रीय समिति र संसदीय दल दुवैतर्फको आन्तरिक यथार्थ, अनि राष्ट्रिय राजनीतिक अवस्था हेर्दा ठ्याक्कै पत्याउने आधार त छैन । तर कांग्रेस नेता कोइरालाले आफ्नो दौडधुप भने अचानक तीव्र पारेका छन् ।

र, यो दौडधुपलाई पार्टीभित्र र बाहिर जिज्ञासाका साथ हेरिएको छ । कोइरालाले बिहीबार र शुक्रबार दुईवटा ‘महत्वपूर्ण’ भेटघाट गरे ।

नेकपा माओवादी (केन्द्र) का अध्यक्ष एवं प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई शनिबार भेटेका उनले शुक्रबार बिहान पूर्वराष्ट्रपति विद्या भण्डारीसँग छलफल गरे ।

पूर्वप्रधानमन्त्री प्रचण्ड निवास खुमलटार पुगेर करिब २ घण्टा संवाद गरेका कोइरालाले पूवराष्ट्रपति निवास भंगाल पुगेर झण्डै एक घण्टा कुराकानी गरे ।

सभापति शेरबहादुर देउवासँग चिढिएका कोइरालाले प्रचण्ड र भण्डारीलाई भेट्नुले राजनीति नयाँ खालको विश्लेषण पनि सुरु भएको छ ।

वर्तमान गठबन्धनको कार्यप्रदर्शनसँग बेखुस कोइरालाले यो सरकारको औचित्य नभएको बताइरहेका प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डसँग भेट गरे ।

अर्कोतर्फ, नेकपा एमालेमा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति भण्डारीसँग छलफल गर्नुलाई चासोका साथ हेरिएको छ । प्रचण्डसँगको भेटमा समसायिक विषयमा कुराकानी भएको जानकारी गराइएको छ ।

कांग्रेसभित्र पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा प्रवेशलाई लिएर कांग्रेसभित्र दुई थरि मत देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सभापति देउवाले पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा प्रवेशलाई सहज रुपमा नलिएको बताएका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वउपसभापति विमलेन्द्र निधिले पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियताप्रति असन्तुष्टि राखेका थिए ।

सभापतिसहित कतिपय नेताहरु पूर्वराष्ट्रपति एमालेमा फर्कने विषयलाई संशयका साथ हेरिरहेको बेला संस्थापनइतरका नेता कोइरालाले भण्डारीलाई भेटेर उनलाई सक्रिय राजनीतिमा फर्कने निर्णयका लागि स्वागत गरे ।

आफू राजनीतिमा फर्किएको र नैतिक समर्थन खोजेकी भण्डारीको  सक्रिय राजनीतिमा आउनुलाई कोइरालाले भने सहजै लिए ।

बेथिति, भ्रष्टचार, कुशासनका विरुद्ध बोलिरहेको सुनाउँदै ती मुद्धाहरुमा मुखरित हुन कोइरालाले पूर्वराष्ट्रपतिलाई सुझाव दिए ।

तर, कोइराला निकट केन्द्रीय सदस्य दिनेश कोइराला भने वैकल्पिक सरकार बनाउने गृहकार्यका लागि शेखरले पूर्वराष्ट्रपति भण्डारीसँग भेटघाट नगरेको दाबी गर्छन् ।

उनी भन्छन्, ‘एक वर्ष अघि दुई दलले गरेको सहमति अनुसार सरकार चलेन, सबैतिरको शक्ति लिएर सुशासनका लागि र जनतामा डेलिभरको दबाब दिन शेखर दाइले भेटघाट गर्नुभएको हो ।’ पूर्वराष्ट्रपति भण्डारीको क्षमता देखिइसकेको हुँदा उनी राजनीतिमा आउँदा भय पाल्नुनपर्ने बुझाई समेत कांग्रेसमा छ ।

कोइरालाको यो सक्रियतालाई ओली, देउवासँग असन्तुष्टहरु एकै ठाउँमा उभिने ‘रिहर्सल’का रुपमा समेत व्याख्या गर्न लागिएको छ । कोइराला पक्षका अर्का एक नेताका अनुसार वर्तमान सरकारको विकल्प खोज्नुपर्ने दबाब उनलाई देशभित्र र बाहिर दुबैतिर छ ।

ती नेताको दाबी अनुसार ओली–देउवा साँठगाँठ टुटाउनुपर्ने दबाबका कारणले कोइरालाको भेटघाटको रफ्तार बढेको हो ।

‘सात बुँदे सहमति कार्यान्वयनको कतै गुञ्जायस छैन, सुशासनमा यो सरकार विफल भइसक्यो,’ उनी भन्छन्, ‘अरु शक्तिहरुसँगको साथ लिएर ओली–देउवालाई दबाबमा राख्ने प्रयत्नले भेटघाटहरु भइरहेको हो ।’

ती नेताको बोली जस्तै स्वतन्त्र सांसद अमरेशकुमार सिंह भेटघाटबारे प्रतिक्रिया दिन्छन् ।

बलियो विपक्ष सदनदेखि सडकसम्म आवश्यक रहेको बताउँदै सिंहले भने, ‘सरकारको विकल्प खोज्नुपर्छ, विकल्पको रुपमा पनि डा. शेखर कोइरालालाई अघि सारिएको हो ।’

सांसद सिंहले स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन जितेपनि उनी नेता कोइराला निकट मानिन्छन् ।

तर, वर्तमान सरकारको विकल्पमा नयाँ समीकरण बन्न सहज भने छैन । कांग्रेस वा एमालेमध्ये एउटा दल बाहिरिए मात्रै अर्को सरकार गठनको विकल्प खुला हुन्छ ।

कांग्रेस नेताहरुका अनुसार वर्तमान सत्ता गठबन्धनको विकल्प खोज्न सभापति देउवा तयार छैनन् ।

कांग्रेसको संसदीय दलको नेता परिवर्तन हुन सके वैकल्पिक गठबन्धनको अर्को बाटो खुल्नसक्छ । पार्टीभित्र र संसदीय दलमा बहुसंख्यक देउवा पक्षका रहेकाले संस्थापनइतरले आँट गरे पनि पार लगाउन कठिन हुन्छ ।

कांग्रेसका एक पदाधिकारीले सुनाए अनुसार कोइराला र महामन्त्री गगन थापा एकढिक्का भएको अवस्थामा भने संसदीय दलमा देउवालाई फेरि जित्न कठिन हुनेछ ।

‘देउवा फेरि सभापति हुने होइन, उनले पाउने भनेको प्रधानमन्त्री पदको पनि ठेगान छैन,’ ती नेता भन्छन्, ‘लामो राजनीतिक जीवन हेर्नेले अब पनि देउवा किन? भनेर अवश्य सोच्छन्, बहुमत पुर्‍याउन प्रमुख कुरा पहिले शेखर–गगन मिल्नुपर्दछ ।’ संसदीय दलको नेता परिवर्तन गर्नका लागि २५ प्रतिशत सांसदले लिखित माग गर्नुपर्दछ ।

प्रधानमन्त्री ओलीलाई दिएको समर्थन जनता समाजवादी (नेपाल) ले फिर्ता लिएसँगै कोइरालाको दौडधुप पनि बढेको छ ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले ओली सरकार पूर्णत: असफल भएको निर्णय गरेर दुईदिन अघि समर्थन फिर्ता लिएको छ ।

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएको छ ।

संविधानको धारा १०० को उपधार (२) मा ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतको लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने’ व्यवस्था छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने बेलासम्म वैकल्पिक सरकार बनाउने उद्देश्यले कोइरालाको सक्रियता बढेको विश्लेषण समेत कांग्रेसभित्र भएको छ ।

एमाले बेगरको सरकार बनाउने ध्येयले कोइरालाको कसरत हुनसक्ने कांग्रेसकै शीर्ष तहका एक नेताको विश्लेषण छ ।

वर्तमान सरकारसँग माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, जसपा नेपाल, जनमत, नाउपा लगायतका दल असन्तुष्ट छन् । दुई ठूला दल सरकारमा हुँदा बैकल्पिक सरकार निर्माणमा गृहकार्य हुन नसकेको बुझाई ती सबै दलमा छ ।

रास्वपाले वर्तमान सरकार भंग भयो भने नयाँ सरकारलाई बाहिर रहेर समर्थन गर्ने संकेत गरिसकेको छ ।

अहिलेको सरकार लोकतन्त्रको लागि पनि हानिकारक सावित भएको रास्वपा उपसभापति स्वर्णिम वाग्लेले अनलाइनखबरसँग केही दिनअघि बताएका थिए ।

वर्तमान सरकार भत्काउनुपर्ने मान्यतामा रास्वपा रहेको उनले सुनाए । उपसभापति वाग्लेले त्यसबेला भनेका थिए, ‘यो भत्कियो भने जुन वैकल्पिक सरकार बन्छ, त्यसलाई बाहिरैबाट समर्थन गरिदिनुपर्ने बाध्यता पनि आउन सक्छ ।’

शेखरले प्रचण्डलाई भेटेको भन्दा पनि विद्यासँगको भेटप्रति कांग्रेस नेताहरु शसंकित देखिन्छन् ।

प्रचण्डसँग वैकल्पिक सरकारको संवाद भएको हुनसक्ने आकलन गर्दै एक पदाधिकारीले विद्यासँगको भेटप्रति संशय व्यक्त गर्दै भने, ‘विद्या एमाले अध्यक्ष हुँदा भारत र चीन दुबै खुसी होलान्, कांग्रेसभित्र उकुसमुकुस भएकालाई छहारी पाइयो भन्ने होला, तर, कांग्रेसको लागि हुन्छ चाहिँ के ?’

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?