+
+
Shares

धरानका मेयरले छलफलका लागि समय दिनुभएन, सहकार्य आवश्यक : मन्त्री यादव

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते २०:०८

२ साउन, धरान (सुनसरी) । खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानीसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सबै सरोकार भएका निकाय तथा स्थानीयबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताएका छन् ।

शुक्रबार धरानमा सुनसरी उद्योग वाणिज्य संघले यहाँ आयोजना गरेको भेटघाट कार्यक्रममा उनले धरानको खानेपानीसम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि सबै तहका सरकार, सरोकार भएका निकाय तथा स्थानीय बासिन्दाबीच हातेमालो आवश्यक रहेकामा जोड दिए ।

मन्त्री यादवले आफू राजनीति गर्न मात्र नभई विद्यमान समस्याको समाधान खोज्न आएकाले सहकार्यमार्फत विकल्प खोजिने स्पष्ट पारे । खानेपानीसम्बन्धी समस्या समाधानका लागि तत्काल छलफल गरी विकल्पसहित सहकार्य अपरिहार्य रहेको उनले खाँचो औंल्याए ।

‘प्रधानमन्त्री स्वयंले धरानको समस्या समाधान गर्न मलाई पटकपटक निर्देशन दिनुभएको छ । तर यहाँ छलफल गर्न आएको बेलामा धरान नगरप्रमुखले समय दिनुभएन, यो दु:खद् हो’, उनले भने ।

मन्त्री यादवका अनुसार संघीय सरकारले धरानको खानेपानी समस्या समाधानका लागि चालु आर्थिक वर्षमा चार करोड बजेट विनियोजन गरिसकेको छ ।

‘धरान नगरपालिकाले उक्त बजेट लिन मानेको छैन, यसले समाधान प्रक्रिया ढिलो बनाइरहेको छ’, उनले भने, ‘समस्या समाधानका लागि विनियोजित बजेट स्वीकार गरी सहकार्यमार्फत दीर्घकालीन उपाय अवलम्बन गरौँ ।’

संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय भएमात्र देशभरका खानेपानी समस्या समाधान सम्भव हुने मन्त्री यादवले विश्वास व्यक्त गरे । ‘खानेपानी मन्त्रालयको नेतृत्व सम्हालेसँगै जनतालाई समस्याबाट मुक्त गराउनु मेरो पहिलो प्राथमिकता र दायित्व हो’, यादवले भने ।

मन्त्री यादवले खानेपानीजस्तो आधारभूत विषयमा राजनीतिक पूर्वाग्रह नराख्न सबैलाई आग्रह गर्दै सबै पक्षले गम्भीरताका साथ हातेमालो गर्नुपर्नेमा जोड दिए । ‘छलफल गरेरमात्र समाधानको बाटो खुल्छ । सस्तो लोकप्रियताका लागि होइन, जनताको हितका लागि सबै मिलेर अघि बढ्न जरुरी छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?