News Summary
Generated by OK AI. Editorially reviewed.- फिडेमास्टर क्षितिज भण्डारीले हिमालयन १०० एक्स २ ब्लिट्ज चेस प्रतियोगिताको खुला उपाधि जितेका छन्।
- हिमालयन चेस एकेडेमीले २४७ खेलाडी सहभागी भएको प्रतियोगिता आयोजना गरेको थियो।
- प्रतियोगिता १९ विधामा सम्पन्न भयो।
४ साउन, काठमाडौं । नेपाली चेस इतिहासमा उल्लेखनीय दिन बनेको ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स २ ब्लिट्ज चेस प्रतियोगिता’ को खुला उपाधि शनिबार फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले जितेका छन्।
हिमालयन चेस एकेडेमीद्वारा काठमाडौंको त्रिपुरेश्वरस्थित वोगनभिल्ला हलमा सम्पन्न एकदिने प्रतियोगितामा २४७ खेलाडी सहभागी भए। यो संख्या नेपाली ब्लिट्ज चेस इतिहासकै सबैभन्दा ठूलो हो।
एकेडेमी अध्यक्ष मोनालिसा खम्बूका अनुसार गत वर्ष फिडे स्थापनाको १०० वर्ष पुगेको अवसरमा पहिलो संस्करण ‘हिमालयन १००’ आयोजना गरिएको थियो, जसले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाइसकेको छ। यसपटक सोही अभियानको दोस्रो संस्करण ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स २’ का रूपमा आयोजना गरिएको हो।
भण्डारीले ९.५ अंकसहित पहिलो स्थान हासिल गर्दै १० हजार रुपैयाँ जिते। ९ अंकसहित पुरुषोत्तम सिलवाल दोस्रो हुँदै ७ हजार रुपैयाँ प्राप्त गरे भने मुहान नरसिंह श्रेष्ठ ८.५ अंकसहित तेस्रो भई ५ हजार रुपैयाँ पाए।
शीर्ष १० स्थानमा स्थान बनाउने अन्य खेलाडी सन्देश श्रेष्ठ, रुपेश जैसवाल, प्रेमकृष्ण महर्जन, रिसन थापा, सुरोज महर्जन, प्रेम खड्का र पुरुषोत्तम चौलागाईं रहे। यी सबैले जनही १ हजार रुपैयाँ पुरस्कार पाए।
प्रतियोगिता १९ विधामा सम्पन्न भयो, जसमा ६ वर्षदेखि ८४ वर्षसम्मका खेलाडी सहभागी थिए। कुल ६७ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको प्रतियोगितामा नायुमा मगर, निहाना श्रेष्ठ, प्रज्ञा पन्त, सात्विकमान तुलाधर, प्रवीर केसी, सीताराम अग्रवाललगायत ३२ खेलाडीले पुरस्कार प्राप्त गरे।
प्रतिक्रिया 4