
News Summary
Generated by OK AI. Editorially reviewed.- डा. दीपेन्द्र पाण्डेले मन खुसी हुँदा साइक्लिङ गर्ने, युट्युब र नेटफ्लिक्समा कमेडी शो हेर्ने र बच्चासँग खेल्ने बताउनुभयो।
- डा. पाण्डे नेपाली कलाकार राजेश हमाल र हलिउड अभिनेता टम ह्यांक्सलाई मन पराउनुहुन्छ ।
डा. दीपेन्द्र पाण्डे —हाडजोर्नी शल्य चिकित्साको वरिष्ठ सर्जन । उनी चिकित्सा पेसामा त कामले अब्बल छन नै । पेशागत उत्तरदायित्वभन्दा बाहिर उनीभित्र एउटा संवेदनशील, सरल र जीवनका सूक्ष्म पक्षहरू बुझ्ने आत्मा पनि बस्छ ।
संगीतमा रमाउने, किताबमा हराउने र जीवनलाई आफ्नै ढंगले महसुस गर्ने डा. पाण्डेसँगको यो अफ–बीट कुराकानीमा हामीले उनका निजी रुचि, सोच र दृष्टिकोणलाई पनि समेट्ने प्रयास गरेका छौं ।
जीवनलाई सन्तुलित रूपमा कसरी जिउन सकिन्छ भन्ने कुरा उनले केवल बोल्दैनन्, बाँचेर देखाउँछन् ।
१. रमाइलो गर्न मन लागेमा के गर्नुहुन्छ ? अर्थात मन खुसी भएका बेला के गर्नुहुन्छ ?
मन खुसी भएको बेला मलाई एक्लै साइक्लिङ गर्न मन लाग्छ । शिवपुरीको डाँडातिर साइकल लिएर जान्छु । सम्भव भएन भने युट्युब र नेटफ्लिक्स फिल्म र कमेडी शो हेर्ने गर्छु । युट्युबमा आएको कमेडी दरबारको कुनै पनि एपिसोड छुटाउदिनँ ।
त्यसबाहेक बच्चाहरूसँग फुटबल र क्रिकेट खेल्छु ।
२. कस्तो खालको फिल्म मनपर्छ ?
पहिला शनिबार आउने नेपाल टेलिभिजनको कुनै फिल्म छुटाइन होला । त्यो बेला सबै हेर्दा राम्रो लाग्थ्यो । अहिले अलि चुजी भएको छु । जीवनलाई र मनलाई छुने खालको फिल्म मनपर्छ । पुराना-पुराना फिल्म पनि खोजेर हेरिहरेको हुन्छु ।
३. पछिल्लो समय हेरेको फिल्म याद छ ?
‘सितारे जमिन पर’ हेरें । राम्रो लाग्यो । फिल्ममा फरक क्षमता भएकाहरू कोहीभन्दा कम छैनन् भनेर सुन्दर तरिकाले देखाइएको छ ।
हामी चिकित्सकलाई बुझाउन गाह्रो हुने बौद्धिक अशक्तता जस्तो गम्भीर र जटिल समस्यालाई कमेडी जनरामा ल्याएर राम्रो जनचेतना दिने काम यसले गरेको पाएँ ।
४. फिल्म घरमै हेर्नुहुन्छ वा हलमा ?
एक्लै हेर्नुपर्यो भने घरमा बसेर हेर्छु । परिवार वा साथीभाइसँग हेर्नुपर्यो भने हलमै मज्जा लाग्छ । बिना कुनै अवरोध ठूलो स्क्रिन, ठूलो आवाज र अँध्यारो वातावरणमा हेर्दा आफू पनि त्यही स्क्रिनमा पसेको जस्तो आभास हुन्छ ।
५. फिल्मले कत्तिको भावुक बनाउँछ ?
म कथाको भावमा बढी जाने भएकाले होला अधिकांश फिल्मबाट प्रभावित हुन्छु । भावनामा डुबेर कति रोएँ, रोएँ । फिल्म हेर्दा आखाँ रसाइरहेको हुन्छ । रोएको कसैले थाहा नपाओस् भनेर प्रयास गरिरहेको हुन्छु ।
६. सबैभन्दा बढी प्रभावित पारेको फिल्म ?
नेपाली फिल्म बासुदेवबाट प्रभावित भएको छु । धुव्र चन्द्र गौतमले लेखेको कट्टेल सरको चोटपटक उपन्यासमा आधारित फिल्म हो त्यो । मैले सातपटक भन्दा बढी हेरेँ । हिन्दीमा ‘जिन्दगी नामिलेगी दुबारा’ पनि हो ।
७. फिल्म हेरिरहँदा हिरो हुन पाए हुन्थ्यो जस्तो लाग्छ ?
त्यो भाइब्स कहिले आएन । बरू, समाजमा आफूले सकेको गरेर समाजको हिरो र राष्ट्रको हिरो बन्न पाए हुन्थ्यो जस्तो लाग्छ वास्तविक जीवनमा ।
८. कुनै फिल्मको पात्र अत्यन्त मनपरेको छ ?
‘फरेस्ट गम’ भन्ने फिल्मका अभिनेता टम ह्यांक्सको पात्र मलाई निकै मनपर्छ । किनकी, म त्यो पात्र आफैँ जस्तो लाग्छ । किनकी, त्यो पात्र भर्सटाइल थियो । फिल्ममा उनको चरित्रलाई फरक-फरक भूमिकामा प्रस्तुत गरिएको छ ।
म पनि त्यस्तै छु जस्तो लाग्छ । बिरामी जाँच गर्छु, रिसर्च पनि गरिरहेको हुन्छु, एक्लै घुम्छु, भ्लग बनाउँछु । अस्पतालको मेसु भएर प्रशासन पनि चलाएँ । त्यसपछि नेपाल चिकित्सक संघबाट नेता पनि बनेँ । अहिले अध्ययन, अनुसन्धान गरिरहेको छु ।
९. तपाईले हेरेको कुनै त्यस्तो फिल्म छ, जसको कारण आफूलाई बदल्ने कोसिस गर्नुभएको छ ?
हो, हिन्दी फिल्म मुन्ना भाइ एमबीबीएस हेरेर आफू पनि त्यस्तै हुन्छु भन्ने लागेको थियो । त्यो फिल्म हेर्दा हामी एमबीबीएस पढिरहेको समय भएर छाप बस्यो ।
कोर्स बुक बाहेकको चिकित्सकको जीवन कस्तो हुन्छ । त्यो फिल्मले गरेर हामीलाई चिकित्सक भइसक्नु अघि नै डाक्टरी के रहेछ भन्ने कुराको बोध भयो । मेरो जीवनमा भएको विभिन्न परिस्थिति पनि मुन्ना भाइले भोगेकै जस्तो लाग्छ ।
त्यस फिल्ममा एउटा डायलग थियो, ‘बिरामी उधर मरता रहेगा, और तू इधर प्यार करता रहेगा ? अरे, प्यार करेगा तो दुनियाँको बता दे, लेकिन ये जो तेरा स्टाइल है ना, ये गलत है ।’
यी डायलगहरूले छुन्छ । अनि त्यहाँका धेरै कुरा सकेसम्म मेरो पेशामा पालना गर्न खोजिरहेको हुन्छु । बिरामीप्रतिको इम्प्याथी जगाउन निकै सहयोग गरेको छ ।
१०. तपाईंलाई कुन कलाकार एकदमै मनपर्छ ? किन ?
हलिउड अभिनेता टम ह्यांक्स निकै मनपर्छ । मैले उनको फिल्म निकै हेरें । उनका हरेक फिल्म फरक खालको, अर्थपूर्ण र जीवन्त हुन्छ ।
नेपालीमा भने अभिनेता राजेश हमाल मनपर्छ । किनकी, उनी नेपालको फिल्म उद्योगलाई धान्ने व्यक्ति हुन् । फिल्म उद्योग चलोस् नचलोस् सबै पार गर्दै उनले काँधमा बोकेर हिँडिरहे । उनको योगदानले गर्दा म फ्यान छु ।
अर्को, अभिनेता हरिहर शर्मा पनि मनपर्ने मध्ये पर्नुहुन्छ । उहाँ थिएटरदेखि फिल्ममा जीवन्त अभिनय गर्ने कलाकार लाग्छ ।
११. फुर्सद पाए नेपालको कुन कलाकारसँग समय बिताउन चाहनुहुन्छ ?
समय नै बिताउन भने चाहना छैन ।
१२. नाटक हेर्न जानुभएको छ ?
नाटक धेरै हेर्छु । मेरो बाल्यकाल देखि एउटा सपना चाहिँ एउटा नाटक गर्छु भन्ने थियो । त्यही होडले १२ कक्षामा हुँदा नाटक गर्ने सपना पूरा भयो । तर, अनुभव त्यति मिठो रहेन ।
त्यो नाटक गर्ने क्रममा दर्शकले हामीलाई गोलभेडाले हाने । त्यसपछि नाटक गर्ने भूत उत्रियो । तर, मौका मिल्दा मण्डला थिएटर गइरहेको हुन्छु ।
१३. पछिल्लो समय नाटक हेर्नुभयो ?
कलाकाल विजय बराल र नाजीर हुसेन अभिनित हरि हजुरबा हेरें । त्यसमा जिवन्त अभिनय र माओवादीको जनयुद्ध झेलेको पीडितको कथालाई नयाँ ढंगले प्रस्तुत गरेको निकै मन छुने खालको थियो ।
१४. गीत कत्तिको सुन्नुहुन्छ ?
गीत सुन्न छाडेपछि मान्छे बुढो हुन्छ जस्तो लाग्छ । म गीत नसुनी बस्न सक्दिनँ होला ।
म १९७४ ए डी र नेपथ्यको यस्तो फ्यान थिएँ कि, उनीहरूको क्यासेट निस्किनेबित्तिकै जम्मा गरिहाल्थें । अहिले फुर्सद नभएर पहिलाको भन्दा कम सुन्छु ।
अंग्रेजी गायक बीटल्सको र देशभक्ति सम्बन्धित गीत सुन्छु । म सधैँ एक्लै गुनगुनाउने गीत कैलाश खेरको ‘टुटा टुटा एक फरिन्दा’ हो । यसको भावले मलाई धेरै छुन्छ ।
१५. कस्तो खालको गीत बढी सुन्नुहुन्छ ?
पहिला मेलोडी खोज्थें । अहिले म गीतको शब्दमा भाव खोज्छु । र, अर्थ बुझेर नोस्टाल्जिक हुन्छु । पहिला पहिला मलाई लाग्थ्यो भारतीय गायक किशोर कुमार वा नेपाली स्व. गायक नारायण गोपालको गीत कसले सुन्छ होला र ? तर, जति मेरो उमेर, भोगाइ र जीवनलाई हेर्ने बुझाइ फरक हुँदै गयो ।
ती गीत सुनेर जब शब्द-शब्द बुझेँ, शब्दले बाकेका भावले मलाई ओतपोत बनाउँछ । शब्द मन परेपछि पटक-पटक सुनिरहेको हुन्छु । अहिले म बढी स्व. भक्तराज आचार्यको गीत सुन्छु । शब्द र लय दमदार लाग्छ । भजन नसुन्ने मलाई उहाँको भजनले आकर्षित गरेको छ ।
१६. कतिबेला बढी गीत सुन्नुहुन्छ ?
म बढी शारीरिक व्यायाम गर्दा र काम गर्दा गीत सुन्छु । मलाई शल्यक्रिया गर्दागर्दै गीत सुन्न मनलाग्छ । जटिल खालको शल्यक्रिया गर्दा गीत बजाएर शल्यक्रिया गर्नेगर्छु । र, त्यहाँ बज्ने गीत प्राय रोमान्टिक हुँदैनन् । अहिले ट्रेन्डमा रहेका नेपाली गीत, पप गीत र अंग्रेजीमा सफ्ट खालको गीत सुन्छु ।
१७. शल्यक्रियाकै बेला किन ?
अर्थोपेडिकको शल्यक्रिया लामो र जटिल खालको हुन्छ । समय धेरै लाग्ने र बढी उभिनु पर्दा दिमागमा तनाव बढी भई टाउकोमा भारी भइरहेको हुन्छ ।त्यो तनावलाई व्यवस्थापन गर्नका लागि गीतले निकै मद्दत गर्छ ।
यसले काममा पनि ध्यान केन्द्रित गराएको अनुभव हुन्छ । हुनत यो व्यक्ति पिच्छे फरक हुन्छ । मेरो लागि जटिल शल्यक्रिया गर्न सहज पार्ने अस्त्र गीत पनि हो ।
१८. कोर्सबाहेक कुनै पुस्तक पढ्नुहुन्छ ?
मेरो कोर्सबाहेकको पुस्तकको पुस्तकालय नै छ । पहिले फिक्सन (चेतन भगत, सिड्नी शेल्डन) पढ्थेँ, अहिले नन-फिक्सन, मोटिभेसनल र फिलोसफिकल किताबहरू बढी पढ्छु । पुस्तकबाट सिकेको कुरा जीवनमा पनि काम लागेको छ ।
१९. पुस्तक ज्ञानका लागि वा मनोरञ्जनका लागि पढ्नुहुन्छ ?
पुस्तक यी दुवैका लागि होइन । मेरो पढ्ने बानी छ । म सिकाइ र जीवनको गइराइ बुझ्न पढ्छु । पहिला किताब पढ्नका लागि पढ्थेँ । अहिले किताबबाट सिकेको कुरा व्यवहारमा उर्ताछु । त्यसका लागि पढ्ने गर्छु ।
२०. पढेकामध्ये सबैभन्दा धेरै मन परेको पुस्तक कुन हो ? किन ?
पढेका पुस्तकमा ‘स्यापियन्स’ र ‘एकीगाई’ निकै मनपर्यो । तीन पटक पढें । यो पुस्तकमा मानिसको उत्पति, पैसाको चलन, धर्म कसरी आयो ? देश कसरी बन्यो ? यस्ता बच्चैदेखि आउने प्रश्नको जवाफ तर्कसंगत दिइएको छ ।
‘एकीगाई’ले मलाई व्यस्त समय भए पनि आफ्ना लागि समय निकाल्नु पर्ने पाठ सिकायो । यी पुस्तक पढ्न म अहिलेको पुस्तालाई सुझाव दिन्छु ।
२१. पछिल्लो समय कुन पुस्तक पढ्नुभयो ?
मेरो ब्यागमा सधै पुस्तक हुन्छ । अहिले ‘पावर अफ नाउ’ पढिरहेको छु ।
२२. कुनै किताबले तपाईंको जीवन बदलेको छ ?
श्रीमद्भगवत गीता र एटोमिकले मेरो जीवन बदलेको छ । श्रीमद्भगवत गीताले मेरो जीवनलाई साइन्स, दर्शन र जीवनको मिश्रण बुझ्न सिकायो । एटोमिकले जीवनमा सन्तुलन राख्न सिकायो । यसले साना बानीहरूको महत्व बुझायो ।
२३. सपिङ गर्न कति रुचाउनुहुन्छ ?
मसँग खासै सपिङका लागि फुर्सद हुँदैन । प्राय लुगाफाटोदेखि खानेसम्म सबै श्रीमतीले नै किन्दिनुहुन्छ । सपिङ जानै पर्यो भने मेरो काम झोला बोक्ने मात्र हो ।
२४. खाना कत्तिको पकाउनुहुन्छ ?
मन त लाग्छ । तर, त्यति मिठो नहुने र अलि किचेन अस्तव्यस्त हुने हुँदा श्रीमतीले बनाउन दिन्नन् । ब्रेक फास्ट र स्न्याक्सहरू चाहिँ बनाएर खुवाउने र खाने गर्छु ।
२५. कुन परिकार निकै मनपर्छ ?
कुनै एउटा विषेश छैन । म अहिले स्वस्थ खानेकुरामा जोड दिन्छु । चिकेन, मस्यौरा, रातभर भिजाएको ओट्स पनि मनपर्छ । खानेकुरा खाँदा क्यालोरी काउन्ट गरी खान्छु । चिनी छाडेको नै ५ वर्ष भइसक्यो । बजारिया खानेकुरा खाँदिन ।
२६. पर्फ्यूमको कत्तिको सौखिन हुनहुन्छ ? कुन मनपर्छ ?
सौखिन त होइन । तर, बास्नादार भएर हिँड्नुपर्छ जस्तो लाग्छ । मलाई ‘भर्साचे म्यान’ मनपर्छ । यही प्रयोग गरिरहेको छु ।
२७. सामाजिक जमघट र रमाइलोमा तपाईंको सहभागिता कस्तो हुन्छ ?
रमाइलो लाग्छ । खासगरी पार्टीमा मेरो कोर ग्रुप हुन्छ-दुई–चार जना साथीहरू । म उनीहरूसँग मात्र बस्न रुचाउँछु । जमघट भन्नु भनेकै साथीभाइसँग गफ गर्नु हो, त्यो नै रमाइलो हो ।
२८. तपाईंका ती कस्तो खालको कोर ग्रुप हुन् ? कसरी जमघट हुन्छ ?
हो, मेरा छ-सातवटा ग्रुप छन् । कुनै राजनीतिक, कुनै एकेडेमिक । हरेक ग्रुपसँगको जमघट फरक-फरक हुन्छ । सधैं एउटै ढंगको हुँदैन । हरेक हप्ता, विशेषगरी शुक्रबार, कुनै न कुनै जमघट हुन्छ ।
२९. घरपालुवा जनावरमा रुचि छ ?
मलाई कुकुर निकै मनपर्छ । तर, पालेको छैन । सानो छँदा घरमा टमी कुकुर थियो । भर्याङमा एउटा बच्चा लड्न लागेको थियो । उसलाई बचाउन खोज्दा उसलाई त्यो कुकुर आफू लडेर मर्यो । उसको हामीले मान्छेको जस्तै गरी मलामी गएर दाहसंस्कार गरेको थियौं । त्यो वियोगले गर्दा फेरि अर्को कुकुर पाल्न मनलागेन ।
तर, माछा चाहिँ पालेको छु । केही बेर उनीहरूलाई हेर्दा दाना हाल्दा मात्र पनि आरामको अनुभूति हुन्छ ।
३०. कामबाहेक अरू के मा सौखिन हुनहुन्छ ?
म खेलकुदमा सौखिन छु । टेबल टेनिसमा धेरैपटक प्रथम भएर पुरस्कार पाएको छु । दौड र साइकलमा डाडाँकाँडा घुम्न मनलाग्छ ।
३१. कुन बेला जानुहुन्छ घुम्न ? कहाँ जानुहुन्छ ?
म अवसर आयो भने घुमिहाल्छु । मेरो मिसन नै छ, वर्षमा दुई पटक विदेश र दुई पटक जति स्वदेश घुम्ने ।
३२. नेपालको कुन-कुन ठाउँ घुम्नुभएको छ ?
धेरै ठाउँ घुमेको छु । खप्तडदेखि लिएर अन्नपूर्ण सर्किट, तिलिचो ताल, दुईपटक गोसाइँकुण्ड पुगेको छु ।
३३. घुमेकामध्ये नेपालको सबैभन्दा मनपर्ने ठाउँ ?
जनकपुर । अचम्म लाग्न सक्छ, अरूले भन्दा पोखरा, चितवन भन्ने गर्छन्, तर म भन्छु जनकपुर । मलाई जनकपुर असाध्यै मनपर्छ । मन्दिरको छेउछाउ, पोखरी, बजार… त्यहाँका मान्छेहरूमा घमण्ड छैन ।
सबै बिन्दास छन् । कहिलेकाहीँ त्यहाँ पुग्दा मलाई लाग्छ- म १७औँ शताब्दीतिर छु ।
३४. प्राय विदेश जाँदा कहाँ जानुहुन्छ ?
मलाई विदेश घुम्न मन लाग्छ, विशेषगरी एक्लै । सुटकेस पनि नबोकी एउटा ब्याग बोकेर जान्छु । त्यहाँको संस्कृति, खानपान र विकास बुझ्न मजा आउँछ ।
युकेका चारै राज्य, इंग्ल्यान्ड, स्कटल्यान्ड, वेल्स, नर्दन आयरल्याण्ड घुमेको छु ।
प्रतिक्रिया 4