+
+
Shares

१० लाख नक्कली नोटसहित पक्राउ परेका व्यक्ति मितेरी सहकारी ठगीमा जोडिए

सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम) जाँच गर्दा धादिङ धुनीवेशी नगरपालिका-९ घर भएका सुवास खत्री यसअघि १० लाख नक्कली नोटसहित पक्राउ परेका व्यक्ति रहेको खुलेको हो ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ साउन ४ गते २१:५६

४ साउन, काठमाडौं । १० लाख नक्कली नोट सहित पक्राउ परेका व्यक्ति नै मितेरी सहकारी ठगी प्रकरणमा जोडिएको खुलेको छ ।

सहकारी ठगीमा जोडिएका मुख्य व्यक्ति ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरेर ल्याएपछि अनुसन्धान गर्दा यो प्रकरणमा १० लाख नक्कली नोटसहित पक्राउ परेका व्यक्ति जोडिएको खुलेको हो ।

नक्कली नोटमा जोडिएका व्यक्ति हुन्, धादिङ धुनीवेशी नगरपालिका-९ घर भएका सुवास खत्री । मितेरी सहकारी ठगी प्रकरणमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १५ असारमा पक्राउ गरेको थियो । ज्योतिबहादुरसँग कनेक्सन भेटिएपछि खत्री पक्राउ परेका थिए ।

खत्री पक्राउ परेपछि सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम) जाँच गर्दा उनी यसअघि १० लाख नक्कली नोटसहित पक्राउ परेका व्यक्ति रहेको भेटिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खत्रीलाई ७ कात्तिक २०८१ मा पक्राउ गरेको थियो ।

उनी रिकोनो इन्टरनेसनल प्रालिका सञ्चालक रहेको पाइएको छ । खत्रीले काभ्रे रोशी गाउँपालिका-२ घर भएका २९ वर्षीय आशिष थापालाई रिकोना इन्टरनेसनल प्रालिको माछापुच्छ्रे बैंकको खातामा १० लाख नगद जम्मा गर्न २० भदौ २०८१ मा पठाएका थिए ।

भौचर समेत भरेर नगद काउन्टरमा पेश भएपछि विद्युतीय उपकरणमार्फत रकम गन्ने क्रममा शंकास्पद देखिएको थियो । उक्त रकम माछापुच्छ्रे बैंकले थप परीक्षणका लागि भन्दै राष्ट्र बैंकमा पठाएको थियो । ती नोटहरू राष्ट्र बैंकले निष्कासन नगरेको भन्दै जाली रहेको ठहर गरेको थियो ।

त्यसपछि राष्ट्र बैंक र माछापुच्छ्रे बैंकले समेत उनीहरूलाई कारबाही गर्न भन्दै प्रहरीलाई पत्राचार गरेका थिए । त्यसपछि नक्कली नोट प्रकरणमा अपराध अनुसन्धान कार्यालय टेकुका डीएसपी रोशन खड्काको टोलीले खत्री, रकम जम्मा गर्ने थापा र भारतीय नागरिक सन्तोष किसान खाँडेकरलाई पक्राउ गरेको थियो ।

बैंकमा जम्मा गर्न पेस गरिएको एक हजार दरका ९०१ थान नक्कली नोटसमेत बरामद भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूविरुद्ध मुद्दा चलाएको थियो ।

उनै खत्री कम्बोडियाबाट पक्राउ परेर ४ असारमा काठमाडौं ल्याइएका ज्योतिबहादुर भण्डारीका मुख्य सहयोगी रहेको खुलेको छ । बैंकलाई समेत झुक्याएर १० लाखको नक्कली नोट कारोबारमा संलग्न रहेका खत्रीले भण्डारीलाई ठगी प्रकरणमा सहयोग गरेको भेटिएको छ ।

उनीमार्फत नै ठगीको रकम हुण्डीमार्फत विदेश पुगेको सीआईबीको दाबी छ । ‘ठगी गर्न सहयोगी भूमिका निभाउने र ठगीको रकम समेत विभिन्न माध्यमबाट विदेश पुर्‍याउने काममा उनको भूमिका देखिन्छ,’ सीआईबीका एक अनुसन्धान अधिकृतले भने ।

सीआईबीको यो बयानलाई थप पुष्टि हुने खत्रीको विगतले पनि देखाएको छ । खत्री आफैं यसअघि हुण्डीको रकमसहित पक्राउ परेका थिए । १० असार २०७३ मा उनी हुण्डी कारोबारको ३६ लाख रुपैयाँसहित पक्राउ परेका थिए । काठमाडौं महानरपालिका-२४ बाट खत्रीलाई प्रहरीले पक्राउ गरेको थियो ।

लामो समयदेखि हुण्डी कारोबारमा संलग्न रहेका खत्रीमार्फत नै भण्डारीले रकम विदेश पुर्‍याएको सीआईबीले बताएको छ । यो प्रकरणमा अहिले हुण्डीमाथि पनि अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता खड्का बताउँछन् ।

खत्रीका साथै मितेरी सहकारी ठगी प्रकरणमा अहिले सीआईबीको हिरासतमा भण्डारी र बाँसगढी गाउँपालिका-७ घर भएका सुरेश अधिकारी छन् । अधिकारी काठमाडौंको माकलबारीमा होटलसमेत सञ्चालन गरेका थिए । अधिकारी पनि भण्डारीका सहयोगी हुन् । उनीहरू दुवैको घर एकै ठाउँ बाँसगढी-७ हो ।

ठगी गरेर विदेश पुगेपछि नेपाल बसेर अधिकारी र खत्रीले भण्डारीलाई सहयोग गरेको भेटिएको सीआईबीको भनाइ छ । यो ठगी प्रकरणमा सुरुवाती क्रममा सीआईबीले ठगीको कसुरमा मात्रै म्याद लिएर अनुसन्धान अघि बढाएको थियो । तर अनुसन्धानको क्रममा भने योजनबद्ध तरिकाले तीनजनाभन्दा बढी व्यक्तिको समूह बनाएर ठगी गरेको पाइएपछि अहिले मुद्दा कन्भर्ट गरिएको छ । यसका साथै क्रिप्टो, हुण्डी र लिखतसम्बन्धी कसुरमा पनि सीआईबीले अनुसन्धान अघि बढाएको छ ।

ठगी गरेर हुण्डी र क्रिप्टोमार्फत विदेश पुर्‍याइएको रकम ज्योतिबहादुरले क्यासिनोमा लगानी गरेको सीआईबी स्रोतको भनाइ छ । सीआईबीको हिरासतमा रहेका उनले कम्बोडियाको क्यासिनोमा लगानी गरेको बताएको स्रोतको दाबी छ ।

अहिले सीआईबीको हिरासतमा रहेका तीनै जना भण्डारी, खत्री र अधिकारी मितेरी सहकारीका सदस्य होइनन् । उनीहरू सञ्चालक समिति तथा पदाधिकारीमा पनि छैनन् । भण्डारीले भने मितेरी सहकारीको महाप्रबन्धक रहेकी ज्योति गुरुङ (नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी)मार्फत रकम लिएर ठगी गरेका थिए ।

यसरी ठगी गरेका ज्योतिलाई खत्री र अधिकारीले सहयोग गरेको र त्यो रकम विदेश पुर्‍याइएको सीआईबीको अनुसन्धानले देखाएको छ । उक्त रकम भण्डारीले कम्बोडियामा क्यासिनोमा लगानी गरेको स्रोतको दाबी छ ।

सहकारीको रकम ज्योति गुरुङमार्फत लिएर भण्डारीले ठगी गरेको आरोप छ । रकम ठगी गरेपछि गुरुङ र भण्डारी दुवैजना देश छाडेर फरार भएका थिए ।

त्यसपछि ज्योति गुरुङले नै मितेरी सहकारीका पदाधिकारीलाई भण्डारीसँग सम्पर्क गराएकी थिइन् । आफूले लगेको रकम सबै उहाँ (ज्योतिबहादुर भण्डारी) ले तिर्नुहुन्छ भन्दै ह्वाट्सएपमार्फत सम्पर्क गराएकी थिइन् । पछि उल्टै भण्डारीले ठगेको पाइएको छ ।

ज्योति गुरुङमार्फत मितेरी सहकारीका पदाधिकारीहरूसँग सम्पर्क भएपछि भण्डारीले अनलाइन फिसिङमा पारेर उल्टै ठगी गरेका थिए । सहकारी ठगी गरी भागेर थाइल्यान्ड, मलेसिया, भियतनाम हुँदै कम्बोडिया पुगेका भण्डारीले विदेशमै रहेका बेलामा मितेरी सहकारीका संस्थालाई अनलाइन मार्फत सम्पर्क गरी प्रलोभन (फिसिङ) मा पारी ठगी गरेका थिए ।

सहकारीको रकम तिर्ने भन्दै विदेशमै रहेका बेला उनले ३ करोड ४४ लाख ७४ हजार ३२० रुपैयाँ ठगी गरेका थिए । ज्योति गुरुङले भनेअनुसार आफूले सहकारीलाई तिर्नुपर्ने सावाँ-ब्याजसहित १४ करोड ८१ लाख रुपैयाँ तिर्ने बताएका भण्डारीले केही दिनमै रकम हालेको भन्ने विश्वाससहितका कागजात संस्थाका पदाधिकारीलाई पठाएका थिए ।

मितेरी सहकारीका सचिव कृष्णबहादुर रानाको ग्लोबल आईएमई बैंकको इन्द्रचोकस्थित शाखामा ३३ करोड ११ लाख रुपैयाँ पार्सल गरी पठाएको छु भन्दै उनले ह्वाट्स एपमार्फत संस्थाका पदाधिकारीलाई बताएका थिए ।

त्यसका लागि टोकनको फोटो समेत पठाएर विश्वास दिलाउने काम गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तिर्नुपर्ने १४ करोड ८१ लाख रुपैयाँभन्दा बढी रकम पठाएको र रकम बुझ्नका लागि ट्याक्ससमेत तिर्नुपर्ने भन्दै पटकपटक उल्टै रकम हाल्न लगाएर ठगी गरेको पाइएको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?