+

के हुन्छ शरीरमा, जब हरेक दिन समोसा खाइन्छ ?

२०८२ साउन  १४ गते १४:४७ २०८२ साउन १४ गते १४:४७
Shares
के हुन्छ शरीरमा, जब हरेक दिन समोसा खाइन्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल र भारतमा समोसा एक लोकप्रिय खाजा हो, जुन स्कुल कलेज क्यान्टिनदेखि सडक पसलसम्म पाइन्छ।
  • समोसा लगभग ४० देखि ५० ग्रामको हुन्छ र यसले २०० देखि २५० किलो क्यालोरी दिन्छ।

नेपाल र भारतमा समोसा एक अत्यन्त लोकप्रिय खाजा मानिन्छ । स्कुल कलेजको क्यान्टिन, सडक किनारका साना पसल, ठूला स्थापित मिष्ठान्न गृहसम्ममा समोसा पाइन्छ । विभिन्न समारोह, भोजभतेरमा पनि समोसा समावेश हुने परिकार हो यो ।

यो त्रिकोण आकारको, बाहिरबाट केही साह्रो र भित्र मसालेदार तरकारी, सामान्यतया आलु हालिएको यो खाना धेरैको प्रिय मानिन्छ । हरियो चटनी र टमाटरको अचारसँग खाँदा यसको स्वाद झनै स्वादिलो बन्छ । तर, प्रश्न उठ्छ– के समोसा सधैं खाजाको रूपमा खानु स्वस्थकर हो ?

हामीले खाने एउटा समोसा लगभग ४० देखि ५० ग्रामको हुन्छ र औसतमा यसले २०० देखि २५० किलो क्यालोरी दिन्छ, जुन यसको आकार, बनाउने तरिका र सामग्रीमा समेत केही हदसम्म निर्भर गर्छ ।

समोसामा मुख्य रूपमा कार्बोहाइड्रेट (मैदाबाट बनेको बाहिरी तह), चिल्लो (तेलमा तारिएकोले) र थोरै मात्रामा प्रोटिन (मासु, दाल वा गेडागुडी प्रयोग भएको खण्डमा) पाइन्छ । आलु, गेडागुडी, बदाम भरिएको समोसामा केही मात्रामा भिटामिन र पोटासियम लगायतका तत्व हुन्छन्, तर यो पर्याप्त पौष्टिक हुँदैन ।

समोसा खाँदा स्वादिलो भए पनि, यसको नियमित र अत्यधिक सेवनले स्वास्थ्यमा विभिन्न समस्या निम्त्याउन सक्छ । समोसा तेलमा बेस्सरी तारेर बनाइन्छ । जसले गर्दा यसमा चिल्लोको मात्रा धेरै हुन्छ । नियमित रूपमा समोसा खाँदा शरीरमा बोसो र कोलेस्टेरोलको मात्रा बढ्न सक्छ ।

विशेषगरी, बारम्बार तताइएको तेलमा पकाइएको समोसाले मुटु रोगको जोखिम बढाउँछ । कतिपय विक्रेताहरूले बारम्बार तताएर बासी भएको तेल प्रयोग गर्छन् । उनीहरूले हाइड्रोजनेटेड तेल पनि प्रयोग गर्छन्, जसमा ट्रान्स फ्याटी एसिड हुनसक्ने सम्भावना उच्च हुन्छ । ट्रान्स फ्याटले रक्तनलीहरूमा कोलेस्टेरोल जम्मा गर्छ, जसले रक्तनलीहरू साँघुरो बनाउँछ र रक्तचाप बढाउँछ । त्यसैगरी फूड सेफ्टी एन्ड स्ट्यान्डर्ड अथोरिटी अफ इन्डिया (भारतमा खाद्य स्वच्छता कायम गर्ने निकाय) का अनुसार, बारम्बार तताइएको तेलमा फ्री रेडिकल्स बन्छ, जसले क्यान्सरजस्ता प्राणघातक रोगको खतरा समेत निम्त्याउछ ।

त्यसैगरी समोसाको बाहिरी तह मैदाबाट बनाइएको हुन्छ, जसमा ग्लाइसेमिक इन्डेक्स (जीआई) उच्च हुन्छ । यसले रगतमा चिनीको मात्रा छिट्टै बढाउँछ, जुन मधुमेहका बिरामीका लागि हानिकारक हुन सक्छ । साथै, समोसामा प्रयोग हुने आलुमा पनि कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ, जसले रगतको चिनीको मात्रा नियन्त्रणमा कठिनाइ हुनसक्छ।

अर्को कुरा, समोसामा उच्च मात्रामा तेल र मसला राखिएकोले शरीरको पाचन प्रणालीमा बोझ पार्न सक्छ । धेरै तेल र मसालाले पेट फुल्ने, कब्जियत, अपचको समस्या निम्त्याउन सक्छ । विशेषगरी, यदि समोसा सफा र गुणस्तरीय तेलमा पकाइएको छैन भने, यसले पेट र आन्द्रालाई दीर्घकालीन हानि समेत पुर्‍याउन सक्छ।

यस्तो खानाले आन्द्राको स्वस्थ ब्याक्टेरिया (गुड ब्याक्टेरिया) लाई असर गर्छ, जसले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ । वास्तवमा स्वस्थ आन्द्रा रोग प्रतिरोधात्मक क्षमताको आधार हो, तर अस्वस्थकर समोसाको नियमित सेवनले यो सन्तुलन बिगार्न सक्छ । त्यसैगरी समोसामा नुनको मात्रा पनि धेरै हुन्छ जसमा हुने सोडियमले रक्तचापलाई थप नियन्त्रण बाहिर लग्न सक्छ ।

त्यसोभए समोसा नै नखाने त ? त्यसो गर्नु पर्दैन, तर सावधानी भने अपनाउनुपर्छ । वास्तवमा समोसा स्वादिलो र सजिलै उपलब्ध खाजा हो, तर यसको नियमित र अत्यधिक सेवनले मोटोपन, मधुमेह, उच्च रक्तचाप, थाइरोइड र पाचनसम्बन्धी समस्याहरू निम्त्याउन सक्ने सम्भावना भएकाले स्वस्थ विकल्पहरू भने अपनाउन सकिन्छ ।

जस्तै, मैदाको सट्टा गहुँको पिठो वा अन्य पौष्टिक आटाको प्रयोग गर्ने, समोसालाई बेक गरेर वा कम तेलमा पकाएर तयार गर्ने, समोसालाई कहिलेकाहीं खाजाको रूपमा खाने खाँदा खासै फरक पर्दैन । दैनिक खाजाको रूपमा समोसा मात्रै खानु भने हानिकारक हुनसक्छ ।

समोसामा आलुको सट्टा हरियो सागसब्जी तरकारी, पनिर वा प्रोटिन र फाइबर बढी भएको खाद्य सामग्री प्रयोग गर्दा बढी लाभदायक हुन्छ । यसरी समोसाको रेसिपीमा सन्तुलित आहारको प्रयोग र खाजाको रूपमा समोसको मध्यम सेवनले समोसाको स्वादको मजा लिँदै आफ्नो स्वास्थ्यको पनि ख्याल राख्न सक्ने देखिन्छ।

समोसा
प्रतीक जोशी
लेखक
प्रतीक जोशी
खाद्य अनुसन्धान अधिकृत

जोशी खाद्य अनुसन्धान अधिकृत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय