
६ साउन, काठमाडौं । राष्ट्रिय सभाले संघीय निजामती सेवा विधेयक अघि बढाउँदैछ ।
राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । जहाँ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त संघीय निजामती सेवा विधेयकलाई दफावा छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुन गर्ने कार्यसूची छ ।
यो सँगै विधेयकमाथि दफावार छलफल राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा हुनेछ ।
यो विधेयकमा १६ समूहमा ४३ जना सांसदको संशोधन परेको छ । एमालेका ५ जना सांसदले भने कुलिङ पिरियडको प्रावधान नै हटाउने गरी संशोधन प्रस्ताव राखेका छन् । यस्तो संशोधन प्रस्तावराख्ने संशोधनकर्ता सांसदहरू हुन– गोपाल भट्टराई, इन्दिरा देवी गौतम, रुक्मिणी कोइराला, सुमित्रा बि.सी र सोनाम गेल्जेन शेर्पा ।
प्रतिनिधि सभाबाट पारित भएर गएको विधेयकमा सरकारी कर्मचारीका लागि अवकाशपछि २ वर्ष संवैधानिक, कुटनीतिक वा अन्य नियुक्ति नपाउने प्रावधान छ । तर, यस्तो प्रावधान निश्कृय हुने भाषा समेत अर्को उपदफामा परेको भनेर प्रश्न उठेपछि प्रतिनिधि सभामा संसदीय विशेष छानबिन समिति नै बनेको छ । यो बेला राष्ट्रिय सभामा भने एमालेका सांसदहरूले कुलिङ पिरियडको प्रावधान नै नराख्ने भनेर संशोधन राखेका हुन् ।
नेकपा माओवादी केन्द्रका सांसदहरूले भने कुलिङ पिरियड ३ वर्ष राख्नुपर्ने भनेर संशोधन राखेका छन् । कांग्रेसका सांसदहरूले कुलिङ परियड २ वर्ष नै उपयुक्त हुने भनेर यसअनुसार संशोधन प्रस्ताव राखेका छन् ।
अब यी प्रस्तावहरूउपर विधायन व्यवस्थापन समितिमा छलफल हुनेछ ।
प्रतिक्रिया 4