
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन १३ उपायसहित ठोस नीति आवश्यक रहेको बताउनुभयो।
- दाहालले नयाँ संविधानअनुसार भूमि ऐन बनाउन, मल–बिउको सहज आपूर्ति र कृषक उत्पादनको बजार ग्यारेन्टी गर्न सुझाव दिनुभयो।
- उहाँले कृषिमा सामाजिक न्याय, लैगिंक समानता र जलवायु न्याय सुनिश्चित गर्दै समावेशी कृषि क्रान्ति गर्न आह्वान गर्नुभयो।
६ साउन, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन आवश्यक रहेको बताएका छन् । यस निम्ति ठोस नीति तथा कार्यक्रम ल्याउन सरकारलाई उनको सुझाव छ ।
कीर्तिपुरमा आयोजित ‘प्रथमयुवा किसान मञ्च: युवा किसान क्याम्प तथा कृषि ओलम्पिक’कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कृषिमा युवा आकर्षण बढाउने १३ उपाय सुझाएका छन् ।
जसमा भूमि ऐनलगायत आवश्यक कानून निर्माण, मल–बिउको सहज आपूर्ति, कृषकका उत्पादनको बजार ग्यारेन्टी, रैथाने बालीको प्रवर्द्धन, विषादी नियन्त्रण, किसानलाई सहुलियत ऋण तथा अनुदानमा पहुँच, जलवायु परिवर्तनको असर न्यूनीकरणलगायत विषय समावेश छन् ।
१. पुरानो भूमि ऐन कार्यान्वयन भइरहेको अवस्थालाई परिवर्तन गरी नयाँ संविधान अनुसारको ऐन बनाउन जरुरी छ ।
२. नेपालको सबै क्षेत्रमा खेतीयोग्य जमिनको यकीन गर्ने र कृषि उपज फलफूल, पशुपालन जस्ता उत्पादनको वर्गीकरण गर्ने,
३. राज्यले किसानको हित संरक्षण गर्नव्यवस्था मिलाउनु पर्ने,
४. नेपाली युवा किसानहरुलाई कृषि पेसामा लाग्न उत्साहित र प्रेरित गर्न विभिन्न आकर्षक प्याकेज सरकारबाट निर्धारण गर्ने,
५. सिँचाइ, मल र उन्नत बीउविजनको सहज उपलब्ध गराउन आवश्यक व्यवस्थापन गर्ने,
६. नेपाली कृषकबाट उत्पादित वस्तुको बजार व्यवस्थापनको सरकारबाट ग्यारेन्टी लिने,
७. रैथाने बाली उत्पादन गर्न किसानलाई प्रोत्साहित गर्ने र विश्व बजारमा लैजानका लागि गुणस्तरीयता निर्धारण गर्न सरकारले उचित कदम चाल्नुपर्ने,
८. नेपाली कृषि बजारलाई विस्थापित गर्ने नक्कली र हानिकारक कृषि वस्तुको आयातमा पूर्ण रोक लगाउने,
९. हाल नेपालमा आत्मनिर्भर हुन लागेका दुग्धजन्य पदार्थको उत्पादन, कुखुराको मासु र अण्डा, फलफूल, चिया, कफीजस्ता उत्पादनमा किसानलाई प्याकेजमा सहयोग उपलब्ध गराउने,
१०. किसानलाई दिने भनिएका र दिदै आएका ऋण सहयोग, अनुदान र विभिन्न शीर्षकका भुक्तानी बिना झञ्झट सहज रुपमा समयमै उपलब्ध गराउने,
११. अन्तर्राष्ट्रिय स्तरमा कृषिमा विकास गरेको प्रविधिसँग नेपालको कृषि सेवालाई जोड्न विशेष पहल गर्ने,
१२. विश्वस्तरमै चुनौतीका रुपमा रहेको जलवायु परिवर्तन र यसबाट मुख्यत: कृषि उत्पादनमा परेको असरबाट मुक्त हुन साझा पहल गर्न सबैले विशेष ध्यान दिनुपर्ने,
१३. नेपालको कृषि भण्डारको रुपमा चिनिएको मधेसको कृषिजन्य जमिन बचाउन मुख्यत: चुरे संरक्षण र व्यवस्थित सिँचाइमा ध्यान दिनुपर्ने ।
यी १३ बुँदे सुझाव कार्यान्वयन हुने वातावरणका निम्ति नेपाली कृषि र किसान आन्दोलनमा युवा किसानहरूको सक्रिय र नेतृत्वदायी भूमिका समेत आवश्यक रहेको सभाध्यक्ष दाहालको आह्वान छ ।
अध्यक्ष दाहालका अनुसार शिक्षित तथा वैज्ञानिक प्रविधिमा पहुँच भएका र सूचना प्रविधिको उच्चतम् प्रयोग गर्नसक्ने युवाहरू कृषिमा नआएसम्म नेपाली कृषिको व्यावसायीकरण, आधुनिकीकरण, वैज्ञानिकीकरण र औद्योगिकीकरण हुन सक्दैन । नवप्रवर्तन र कृत्रिम बौद्धिकता समेतको प्रयोगबाट कृषिको उत्पादन र उत्पादकत्व बृद्धि गर्दै कृषि क्षेत्रको समग्र विकास र रूपान्तरण गर्नु आवश्यक छ ।
कृषि क्षेत्रको रूपान्तरणको कुरा गर्दा कृषिको उत्पादन र उत्पादकत्व बृद्धि मार्फत मात्रात्मक परिवर्तनको मात्र कुरा गरेर नपुग्ने उनको राय छ । दाहालकाअनुसार कृषिमा सामाजिक न्यायसहितको कृषि क्रान्तिको कुरा गर्नु आवश्यक छ ।
वास्तविक उत्पादक किसानहरूलाई जमिनको स्वमित्व प्रदान गर्ने, खाद्यसम्प्रभुता कायम गर्ने, उत्पादक किसानहरूका संवैधानिक हक, हित र अधिकारहरूलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने, जलवायु न्यायका लागि आवाज उठाउँदै जलवायु वित्तमा पहुँच पुर्याउनुपर्नेछ । कृषिलाई समावेशी बनाउँदै लैगिंक समानता कायम गर्ने, सहकारी कृषि र सामूहिक कृषिको माध्यमबाट कृषि तथा कृषि उद्यमको विकास गर्ने र समग्र कृषि क्षेत्रको विकास गर्दै किसानहरूको जीवनमा समृद्धि र खुसीयाली ल्याउने गरी कृषि क्रान्ति गर्न जरुरी छ ।
प्रतिक्रिया 4